उत्पादन बढाउने पृथ्वी मन्त्र र वर्तमान उत्पादन

स्वयम्भुनाथ कार्की
Read Time = 15 mins

बडामहाराज श्री ५ पृथ्वीनारायण शाहले पछिल्लो पुस्ताको निमित्त भनेको केही कुराको संकलन हो दिव्य उपदेश । यसमा उनले आफ्नो जीवन कथा सुनाएका छन् । साथै पुस्तौंसम्म यो राज्य थामेर राख्न उपयोगी कुरा पनि बताएका छन । जुन भारदारहरूको सामुन्ने उनले यी कुरा पुस्तन्तरणको निमित्त सुनाएका थिए तर ती भारदरहरूले यो कुरा सन्तानलाई सुनाएनन । त्यसैले भारदारहरूले आफ्ना सन्तानलाई सुनाउलान र ती सन्तानहरूले आफ्ना सन्तानहरूलाई सुनाउलान भन्ने पृथ्वीनारायणकोे आशा पुरा भएन । उनको यो कुरा लगभग १ सय ८० वर्षपछिमात्र पुस्तकको रूपमा सार्वजनिक भयो ।

यस्तै राजा महेन्द्रको कुरा पनि अहिलेसम्म प्रकाशमा आएको छैन । यसको रहस्योद्घाटन पत्रकार तथा लेखक युवराज गौतमले एक लेखमा गरेका छन् । राजा महेन्द्रले अंग्रेजीमा अनुवाद गरेर छोरालाई दिन एक सामग्री कसैलाई दिएको कुरा उल्लेख गरेका छन । आपूmले त्यो सामग्री देखेको र अनुवाद गर्ने जिम्मेवारी पाएका व्यक्तित्वसँग भेटेको कुरा पनि सो लेखमा उल्लेख छ । तर पत्रकारिताको नैतिकताका कारणले सो व्यक्तिको नाम र त्यो सामग्रीमा भएको कुरा प्रकट गर्न नमिलेको कुरा सोही लेखमा भनिएको छ । युवराज गौतमले आफ्नो पेशागत नैतिकताको कारणले ती व्यक्तिको परिचय र त्यो सामग्रीमा आफूलाई जानकारी भएको कुरा खोलेनन् । तर, यसले राजा महेन्द्रबाट जिम्मेवारी पाएका ती व्यक्तिको इमानदारीतामाथि प्रश्न भने उठछ । राजा महेन्द्रले आफ्ना छोरालाई सुम्पन दिएको त्यो नासो आफैँसँग राख्नु कति उचित कति अनुचित थियो भन्ने कुरा यदि यो लेख उनीसम्म पुगेमा पक्कै विचार गर्नेछन भन्ने आशसम्म राख्न सकिन्छ । यस्तै जिम्मेवारी पाएका तर कुनै कारणले पूरा गर्न नसकेका अरूहरू हुन सक्छन् । उनीहरू पनि ती कुरा प्रकट गर्न प्रेरित हुन सक्छन् । पृथ्वीनारायण शाहको पालादेखि राजाहरूले भरोसा गरेर जिम्मा लगाएको नासोे बीचमै रोक्ने प्रवृत्ति भेटिन्छ । यसैको प्रमाण हो युवराज गौतमको त्यो लेख ।

नेपालको वर्तमान अवस्था र नीति निर्माताहरूको सोच जेजस्तो भए पनि परिणाममा अवस्था यी भनाइहरू विपरीत देखिन्छन् । नारामा सुखी नेपाली समृद्ध नेपाल भनिए पनि नेपालीलाई सुखी बनाउन कुनै खास प्रयत्न भएको भेटिँदैन ।

लामो समय गुप्त झैँ रहेको सो दिव्य उपदेश भनिने आत्मकथामा पृथ्वीनारायण शाहले राज्य सञ्चालनका धेरै उपयोगी कुरा दिएका छन । यी कुराहरूमध्ये धेरै अहिले पनि सान्दर्भिक छन् । ती सबैको विवेचन गरिने हो भने त्यो वृहद आकारको हुन्छ । संभवत एकै पुस्तकको कलेवरमा समेटिन संभव नहोला, धेरै ठेली बन्न सक्लान् । तात्कालीन परिवेशमा भनिएका ती कुरालाई वर्तमान परिवेशमा अनुवाद गर्ने हो भने धेरै कुरा दिशानिर्देशकोे रूपमा उपयोगमा आउन सक्छन् । नीति निर्माणमा वर्तमान परिस्थिति अनुसार अनुवाद गरिएको उनका अनुभव र सोचहरूले सघाउ पुर्‍याउन सक्छन् । वर्तमान परिवेशमा अनुवाद भन्नाले अहिले मान्य भएका राजनीतिक, आर्थिक, समाजिक मान्यता अनुसार ती कुरालाई परिभाषित गर्ने हो ।

त्यसको साथै त्यो मध्ययुगमा प्रचलनमा रहेको र वर्तमानले अस्विकार गरेका कुरा इतिहासमै सीमित हुन दिनु हो । भूउपयोग, वैदेशिक व्यापार अनि राज्य र जनताको सम्बन्धको बारेमा उनले भनेको कुराहरू वर्तमानमा लागू गर्न सकेमा राष्ट्रिय उत्पादन वृद्धि हुनसक्ने सम्भावना छ । उनले भनेका छन्, खानी भएको ठाउँमा गाउँ भए पनि गाउँ अरू जग्गामा सारेर पनि खानी चलाउनुपर्छ । गरा अर्थात् खेती योग्य बन्ने जग्गामा घर वा बस्ती भए पनि घर वा बस्ती अरू जग्गामा सारेर कुलो अर्थात् सिँचाइको प्रबन्ध गरेर खेत बनाई आवाद गर्नुपर्दछ । आफ्ना देशको निकासीयोग्य वस्तु विदेश निकासी गरेर नगद खिच्नुपर्छ अर्थात् आम्दानी गर्नुपर्दछ र जनता मोटा भन्नाले सक्षम भए दरबार बलियो रहन्छ । किनभने राजाको भण्डार भनेको जनता हुन् जबदेखि राज्यको अवधारणा आयो त्यस बेलादेखि नै राजा अर्थात् शासक र प्रजा अर्थात् जनता यसका अन्योन्याश्रित र न्यूनतम इकाइहरू भए । यी इकाइमध्ये एकको पनि अनुपस्थितिमा राज्यको अस्तित्व नै हुँदैन ।

नेपालको वर्तमान अवस्था र नीति निर्माताको सोच जेजस्तो भए पनि परिणाममा अवस्था यी भनाइ विपरीत देखिन्छन् । नारामा सुखी नेपाली समृद्ध नेपाल भनिए पनि नेपालीलाई सुखी बनाउन कुनै खास प्रयत्न भएको भेटिँदैन । जनता सक्षम भए दरबार बलियो रहन्छ भन्ने भनाइको सादृष्य नारा हो सुखी नेपाली समृद्ध नेपाल । तर दरबार भनेको राज्यको शासन तत्व हो भन्ने अनुवाद नभएर राजा बस्ने दरवार नै ठानिएको हुनसक्छ । त्यसैले जनता मोटा अर्थात् सुखी नेपाली बनाउन भने नाराबाहेक अन्य परिणाममुखी काम भएको अनुभूति नभएको हुनसक्छ । जे जस्तो भए पनि आफ्ना परिवार, परिवेश, बन्धुबान्धव आदि चटक्क छोडेर वैदेशिक रोजगारीमा जान तम्सने नेपाली सुखी भने भएको हुँदैन । यसमा अपवादको रूपमा आफ्नो मुलुकमा भन्दा विदेशमा सुखी जीवन छ भन्ने मानेर बसाइँ जाने हुन सक्छन । तर, विदेश बसाइँ जानेको सुखले नेपाल समृद्ध हुन सक्दैन बरू खाली भने हुन सक्छ ।

मूल उत्पादन कृषिबाटै हुन्छ, त्यसपछि प्रकृति प्रदत्त विभिन्न खनिज आदिबाट हुन्छ । त्यसैले खानी भएको स्थानमा बस्ती भए पनि अन्यत्र सारेर, कृषियोग्य भूमिमा बस्ती भए पनि अन्यत्र सारेर त्यसलाई उत्पादनमा प्रयोग गर्न अह्राइएको छ । निकासी गरेर वैदेशिक मुद्रा कमाउन जडिबुटीलायत निकासीयोग्य वस्तु निकासी गर्न अह्राइएको छ । राजा अर्थात् राज्यका भण्डार जनता हुन् । त्यसैले राज्यको भण्डार निकासी गरेर मुलुकको भण्डार भरिन्न बरू रित्तिन्छ । यी कुराहरू सर्वकालीन सत्य हुन् । केही दशक पहिले नेपाल भारतीय कामदारको श्रम गन्तव्य थियो । त्यस बेलामा नेपालले निकासी गर्ने धेरैजसो उत्पादन वर्तमानमा आयात गर्नुपरेको तितो सत्य हो । वैदेशिक रोजगारीमा गएकाले रकम आफ्नो परिवारलाई पठाउँछन् । त्यो रकमले परिवारले जोहो गर्नुपर्ने दाना, नाना भने आयात नै गर्नु परेको हुन्छ ।

पहिले श्रम गन्तव्य भएको नेपाल अहिले किन श्रमिक आपूर्तिकर्ता मुलुक हुन पुग्यो भन्ने प्रश्न महत्वपूर्ण छ तर यो अवस्थाको कारक एकैमात्र तत्व छैन । यो अवस्था रातारात आएको पनि होइन । शासकले जनता र आफू राज्यको नभई नहुने तत्व हो भन्ने कुरा व्यवहारतः भुल्दै गएको देखिन्छ । जनताका हरेक व्यक्तिगत कुरामा समेत राज्यको रूपमा शासकको हस्तक्षेप आवश्यक छ भन्ने सोचको प्रधानता देखिन्छ । विस्तरै विस्तारै जनताको हरेक क्रियाकलापमा शासनले आफ्नो नियन्त्रण बढाउँदै लगेको छ । यसले उत्पादनको आदिम तर वर्तमानमा समेत उत्तिकै महत्वपूर्ण स्रोत कृषिमा गरिएको व्यवहार पनि एक ठूलो कारण हुन पुगेको छ । नेपालबाट निर्यात हुने कृषि उपजहरू वर्तमानमा किन आयात गर्नु परेको छ भन्ने प्रश्नको तयार उत्तर हुने गर्दछ बढ्दो जनसंख्या । तर, के पहिले नेपालबाट आयात गर्ने र अहिले नेपाललाई निर्यात गर्ने मुलुकको जनसंख्या स्थिर छ ? पक्कै छैन ।

तथ्यांकहरूबाट प्रमाणित गर्ने गरिन्छ नेपालको प्रतिएकाइ क्षेत्रफल उत्पादकत्व बढेको छ । प्रतिएकाइ उत्पादकत्व बढ्दा किन कूल उत्पादन बढेको छैन भन्ने प्रश्नको उत्तरमा केबल जनसंख्या वृद्धिलाई देखाउन उपयुक्त हुँदैन । नेपालको कृषि नीति, कृषिमा गरिने गरिएको बजेट खर्च आदिले उत्पादकत्व भने बढ्ने तर कूल उत्पादन घट्ने गरेको छ । अर्थात् कतै न कतै केवल जनसंख्या वृद्धिमात्र नभएर अन्य कारण हुनै पर्दछ । उसै पनि निर्यात् गर्ने अवस्थाको नेपालको डेढ करोड जनसंख्या अहिले पौने तीन करोडको हाराहरीमा छ । त्यसमा पनि ५० लाखभन्दा ज्यादा नेपाली औपचारिक तरिकाले नै विदेशमा छन् । अनौपचारिक, लुकीछिपी विदेशिनेको संख्या पनि सानो छैन । विदेश जाने छन भने फर्कने पनि छन् भन्ने जस्ता तर्क गरिने गरिएको छ । तर, फर्कने र जानेको अनुपात हेर्ने हो भने जाने नै धेरै भेटिन्छन् ।

यसरी हेर्दा कृषि उत्पादनको अपर्याप्ततामा कृषिकर्म गरिने जग्गाको क्षेत्रफल निरन्तर घट्दै जानु प्रमुख हुन आउँछ । यो क्षेत्रफल निरन्तर किन घट्दै गएको छ र यो घटेको क्षेत्रफल केमा प्रयोग भइरहेको छ भन्ने कुराको विवेचन गर्न आवश्यक छ । पृथ्वीनारायण शाहको खेती योग्य जग्गामा भएको बस्ती अन्यत्र सारेर खेती गर्नुपर्दछ भन्ने सोचको विपरीत आजको नेपालले सोच्न थालेको छ । यो सोचनुसार जुन खेतीयोग्य जग्गा बाटो नजिक छ, त्यहाँ विद्युत् प्रसारण लाइन पुगेको छ वा पुग्ने सम्भावना छ भने खेती मासेर बस्ती बनाउनुपर्दछ । यदि त्यो जग्गा गहिरो छ, पानी जम्छ भने त्यसलाई अर्को स्थानबाट माटो बालुवा वा गेग्य्रानले पुरेर भए पनि घडेरी बनाउनुपर्दछ । यो सोचलाई प्रवर्धनमा नजानिदो किसिमले राज्य नै लागेको देखिन्छ ।

ज्यादाजसो प्रभावशाली राजनीतिक दलका व्यक्ति वा त्यस्ता व्यक्तिका निकट यसमा लागेको देखिन्छ । थपमा मुलुकको राजस्वको स्रोत भन्सार, जग्गा नामासरी दस्तुर, जग्गाको पुनर्मूल्यांकन गरेर हरेक वर्ष लिइने सम्पत्ति कर आदि हुन् । राज्य उत्पादन बढाएर जनताको कर तिर्ने क्षमता वृद्धि गर्ने लामो तर स्थायी बाटोमा लागेको देखिँदैन । बरू दर वा दायराको नाममा जनताको क्षमतासँग असम्बन्धित राजस्व वृद्धिमा लागेको देखिन्छ । तेलपछि आलु, प्याज जस्ता खाद्य वस्तुमा थपिएको मुल्य अभिवृद्धि कर यस्तै सोचका परिणाम हुन् ।

त्यसैले राजस्व वृद्धिको निमित्त आयातको प्रवर्धन गर्नु, जग्गाको नामसारी गर्ने काम बढ्नुलाई राज्यले अनुकूल देखेको हुनसक्छ । अनेकौं पटक भनिएको लेखिएको कुरा फेरि पनि उल्लेख गर्नुपर्ने हुन्छ कि राज्यले आफ्नो अर्थतन्त्र जनताको चुल्होको अर्थतन्त्रभन्दा अलग सम्झेको देखिन्छ । जनता मोटा भए दरबार बलियो रहन्छको साटो जनतालाई निचोरेर दरबार बलियो बनाउने सोचको प्रधानता देखिएको तीतो सत्य हो । पृथ्वी मन्त्र नै समृद्ध नेपालको आधारशिला हो त्यसविपरीतको आर्थिक सोच राष्ट्रको असफलतातर्फको यात्रा हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?