चौथो पुलचोक कपको उपाधि रिडर्सलाई

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 4 mins

गुल्मी । चौथो पुलचोक कपको उपाधि रिडर्स पब्लिक हाई स्कुल तम्घास गुल्मीले उचालेको छ । पुलचोक स्पोर्ट्स क्लब तम्घासको आयोजनामा पाँचौँ वार्षिकोत्सवको अवसरमा सञ्चालित जिल्लास्तरीय छात्रा फुटबल प्रतियोगितामा महेन्द्र माध्यमिक विद्यालयलाई ४-० गोलले हराउँदै रिडर्स पब्लिक हाई स्कुलले उपाधि जितेको हो ।

सेमिफाइनलबाट अर्जुन आवासीय माध्यमिक विद्यालयलाई पेनाल्टी सुट आउटमा ६-५ ले पराजित गर्दै महेन्द्र माध्यमिक विद्यालय फाइनलमा पुगेको थियो । सिद्धबाबा माध्यमिक विद्यालयलाई पेनाल्टी सुट आउटमा ४-१ ले पराजित गर्दै रिडर्स पब्लिक हाई स्कुल फाइनलमा पुगेको थियो ।

फाइनल खेलमा रिडर्स पब्लिक हाई स्कुलका खेलाडीले लगातार चार गोल गरेसँगै रिडर्सले चौथो पुलचोक कप प्राप्त गरेको क्लबका महासचिव प्रकाश मरासिनीले जानकारी दिनुभयो । दुवै विद्यालयका खेलाडी पुलचोक कपमा पहिलो पटक फाइनलमा पुगेका हुन् । उपाधिसँगै रिडर्स पब्लिक हाई स्कुलले ३० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता महेन्द्र माध्यमिक विद्यालयले २० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा वेस्ट डिफेन्डर रिडर्स पब्लिक हाई स्कुलका छात्रा दृष्टि पुन बन्नुभयो । सोही विद्यालयकै छात्रा कृतिका पचभैया प्लेयर अफ दी टुर्नामेंट, वर्षा कुँवर उत्कृष्ट गोलरक्षक र सिमरन खत्री एक्ट्राक्टिभ खेलाडी बन्नुभयो । अर्जुन आवासीय माध्यमिक विद्यालयका छात्रा आकृति पुन सर्वाधिक गोल कर्ता बन्नुभयो ।

इमरजिङ प्लेयर महेन्द्र माध्यमिक विद्यालयका छात्रा सृजना मरासिनी बन्नुभयो । अनुशासित टोलीको पुरस्कार अर्जुन आवासीय माध्यमिक विद्यालयले प्राप्त गरेको छ । रिडर्स पब्लिक हाई स्कुलका कल्याण भुजेल वेस्ट कोच बन्नुभयो । सदरमुकाम तम्घासको चिदिचौर खेल मैदानमा असोज १० गतेदेखि १३ गतेसम्म सञ्चालन भएको विद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगितामा जिल्लाभरका ११ विद्यालयले भाग लिएका थिए ।

त्यस अवसरमा पुरस्कार वितरण गर्नुहुँदै रेसुङ्गा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थीले खेलकुदको विकासका लागि नगरपालिका सधै तत्पर रहेको भन्दै छिट्टै नै मेयर कपको आयोजना गर्ने बताउनुभयो । खेलकुदले अनुशासनमा बस्न सिकाउने र स्वस्थ राख्ने भएकाले मानव जीवनका लागि खेलको महत्त्वपूर्ण भूमिका रहेको भन्दै प्रतियोगिताको माध्यमबाट भोलिको दिनमा गौरव गर्न सक्ने खेलाडी उत्पादन हुने समेत उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?