नेपालको बिग्रँदो अर्थतन्त्रप्रति आइएमएफको चिन्ता

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ(सिबिफिन) र आइएमएफ टोलीबीच छलफल भएको छ । सो अवसरमा सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले समग्र आर्थिक एवं बैंकिङ क्षेत्रको सुधार तथा विकासका मुद्दामा आइएमएफसँग निरन्तर छलफल तथा संवाद भइरहेको स्मरण गर्दै नेपालको वर्तमान आर्थिक एवं बैंकिङ क्षेत्रको अवस्था, सुधारका लागि अवलम्बन गरिनुपर्ने नीतिगत एवं व्यावहारिक पक्ष र विकास साझेदार संस्थाको भूमिकाका विषयमा चर्चा गर्नुभएको थियो ।

मिसन टोलीका प्रमुख टिडियान किन्दासहितका प्रतिनिधिहरूले विश्व अर्थतन्त्रमै शिथिलता छाइरहेका सन्दर्भमा नेपालको अर्थतन्त्रमा समेत संकुचन देखिनु स्वभाविक भए पनि नेपाल सरकारले तत्काल सुधारका कदम चाल्न आवश्यक रहेको बताएका थिए । मिसन टोली प्रमुख किन्दाले नेपालजस्तो सुन्दर, प्राकृतिक सम्पदा र युवा जनशक्तिले भरिपूर्ण देशले आर्थिक उन्नतिको लय समात्न नसक्नुका कारण, नेपालले आर्थिक सुधारका लागि तत्काल पहलकदमी लिनुपर्ने मुख्य विषय र साझेदार संस्थाहरूको सम्भावित भूमिकाका विषयमा जिज्ञासा राख्नुभएकोे थियो ।

सिबिफिनका अध्यक्ष गोल्यानले नेपालको कृषि, वनपैदावर, ऊर्जा, पयर्टनलगायतका क्षेत्रहरूमा देखिएका अथाह सम्भावनालाई ध्यान दिँदै नेपाल सरकार तथा मातहतका नियामक निकायले मैत्रीपूर्ण नीति र वातावरण बनाई समग्र निजी क्षेत्रमा उत्साह जगाउनुपर्ने, पुँजीगत खर्च प्रणालीमा व्यापक सुधार गरी पूर्वाधार विकासमा विशेष जोड दिनुपर्ने, उत्पादनमूलक, रोजगारमूलक र निर्यातमूलक क्षेत्रलाई प्रोत्साहनसहित प्राथमिकता दिनुपर्ने बताउनुभएको थियो । त्यसैगरी दातृ निकाय तथा विकास साझेदार संस्थाहरूले पनि आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा सकारात्मक भूमिका निर्वाह गर्दै नेपालका बैंक तथा वित्तीय संस्थामार्फत् सहुलियतपूर्ण ऋण लगानी उपलब्ध गराउने विषयमा आवश्यक पहल गर्न अध्यक्ष गोल्यानले आग्रह गर्नुभएको थियो ।

सिबिफिनका वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाह, उपाध्यक्ष राजेश उपाध्याय र कार्यकारी सदस्य उपेन्द्रप्रसाद पौडेललगायतले नेपालको बैंकिङ क्षेत्रले अनपेक्षित चुनौती सामना गरिरहेको भए पनि विश्वासिलो वातावरण, नीतिगत स्थिरता र समय सान्दर्भिक नीति अवलम्बन हुन सकेमा अर्थतन्त्र चलायमान बनाउने सामथ्र्य बैंकिङ क्षेत्रमा रहेको विश्वास दिलाएका थिए ।

सो अवसरमा अध्यक्ष गोल्यानले आत्मनिर्भर अर्थतन्त्र र निर्यात सम्भावनाका क्षेत्रहरू नामक अध्ययन पुस्तक र विभिन्न समयमा गरिएका महत्वपूर्ण अध्ययन प्रतिवेदनबारे ब्रिफिङसहित मिसन टोली प्रमुख टिडियान किन्दालाई हस्तान्तरण गर्नुभएको थियो । छलफलमा आइएमएफ मिसनबाट मिन्क गोर्ट, रसेल ग्रिन, आइएमएफ नेपालकी आवासीय प्रतिनिधि टेरेसा डवान सान्चेज, अर्थशास्त्रीद्वय सुधा दाहाल, सरस्वती शर्मा र सिबिफिनका कोषाध्यक्ष तुल्सीराम अग्रवाल, सचिव कुशप्रसाद मल्लीलगायतको सहभागिता थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?