चोरी नियन्त्रण गर्न सुनको कोटा वृद्धिः उद्योगमन्त्री

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । उद्योगमन्त्री रमेश रिजालले चोरी तस्करी र अवैध कारोबार नियन्त्रण गर्न सुनको कोटा वृद्धि गरिएको बताउनुभएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार मन्त्रालयमा आयोजना गरेको सुनचाँदी व्यवसायीसँगको छलफलमा उहाँले आपूर्ति व्यवस्था सुनिश्चित भएपछि चोरी पैठारी नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्रालयको सिफारिसमा नेपाल राष्ट्र बैंकले गत सातादेखि दैनिक २० केजी सुन आयात गर्न पाउने व्यवस्था गरेको छ । त्यसअघि दैनिक १० केजीमात्रै सुन आयात गर्न पाउने व्यवस्था कायम थियो ।

मन्त्री रिजालले सुनचाँदी व्यवसायीमा अप्ठ्यारा समाधान गर्न र व्यवसाय सञ्चालनका लागि प्रभावकारी नीति नियम तर्जुमा गर्न सरकार तयार रहेको भन्दै व्यवसायीले पनि राज्यलाई सहयोग पुग्ने काम गर्नुपर्ने बताउनुभयो । वाणिज्य सचिव मधुकुमार मरासिनीले स्वदेशमै दक्ष कालीगढ उत्पादनमा ध्यान दिन आग्रह गर्दै सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो । मन्त्रालयका उद्योगतर्फका सचिव मुकुन्दप्रसाद निरौलाले सुनचाँदी व्यवसायको सम्बन्ध आमव्यवसायीसँग प्रत्यक्षरूपमा जोडिने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

महासंघका अध्यक्ष माणिकरत्न शाक्यले नेपालमा सुनचाँदी व्यवसायको अवसर र चुनौती विषयक कार्यपत्र प्रस्तुत गर्दै सुनचाँदी व्यवसाय सञ्चालनका लागि स्पष्ट, प्रभावकारी र व्यवसायमैत्री ऐनमा जोड दिनुभयो । सुनको प्रभावकारी आपूर्ति व्यवस्था गरिनुपर्ने, वैध तरिकाबाट आएका सुन तथा गरगहना कारोबारमा कुनै अवरोध गरिनु नहुने, नीति निर्माण गर्दा अन्तर्राष्ट्रिय प्रावधानलाई ख्याल गर्नुपर्ने, सुनचाँदीका गरगहना निर्यातका लागि विशेष व्यवस्था गरिनुपर्ने लगायत सुनचाँदी व्यवसायसँग सम्बन्धित विविध पक्षबारे जानकारी गराउनुभयो । सो अवसरमा महासंघका विशिष्ट सदस्य मणिरत्न शाक्य, उपाध्यक्ष दियेसरत्न शाक्य, विपेन्द्र रामुदामु, महेन्द्ररत्न शाक्य, सचिव किरणभाइ बज्राचार्य र रत्न तथा आभूषण महासंघका उपाध्यक्ष द्वारिका शंकर, खेम तिरुवालगायतको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?