फ्रान्सको लगातार चौथो जित

Read Time = 4 mins

पेरिस । फ्रान्सले युरोकप २०२४ को छनोटमा लगातार चौथो जित हात पारेको छ । फ्रान्सले ग्रिसलाई एक-शून्यले पराजित गर्दै चौथो जित दर्ता गरेको हो । फ्रान्सको जितमा केलियन एमबाप्पेले पेनाल्टीमार्फत् निर्णायक गोल गर्नुभयो ।

उहाँले खेलको ५५औँ मिनेटमा निर्णायक गोल गर्नुभयो । कोन्सटानटिनोस माभरोपानोसले पेनाल्टी बक्समा एन्टोइन ग्रिजमनलाई फउल गरेपछि रेफ्रीले भिएआरको सहायतामा फ्रान्सलाई पेनाल्टी प्रदान गरेको थियो । तर, एमबाप्पेको पहिलो पेनाल्टी प्रहार गोलरक्षक ओडिसिएस भ्लाचोडिमोसले बचाउनुभयो । तर, पेनाल्टी प्रहारअघि नै लाइन क्रस गरेपछि रेफ्रीले फ्रान्सलाई फेरि पेनाल्टी प्रदान गरेको थियो । जसमा एमबाप्पेले गोल गर्नुभयो ।

खेलको ६९औँ मिनेटमा ग्रिस १० खेलाडीमा समेटियो । कोन्सटानटिनोस माभरोपानोस सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिनुभयो । तर पनि ग्रिसले फ्रान्सलाई रोक्यो ।

यस जितले फ्रान्स समूह ‘बी’मा चार खेलबाट १२ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित ग्रिस ६ अंक जोडेर दोस्रो स्थानमा छ । यही समूहको अर्काे खेलमा आयरल्याण्डले जिब्राल्टारलाई तीन-शून्यले पराजित गरेको छ । पहिलो जित निकालेको आयरल्याण्ड तीन खेलबाट तीन अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । जिब्राल्टार चार खेलबाट अंकविहीन हुँदै पुछारमा छ ।

यता, इंग्ल्याण्डले नर्थ म्यासेडोनियामाथि सात-शून्यको सानदार जित निकाल्यो । इंग्ल्याण्डका लागि बुकायो साकाले हृयाट्रिक गर्नुका साथै कप्तान हृयारी केनले दुई तथा मार्कस रासफर्ड र केल्भिन फिलिप्सले समान एक-एक गोल गर्नुभयो ।

युरो छनोटमा इंग्ल्याण्डको यो लगातार चौथो जित हो । लगातार चौथो जितसँगै समूह ‘सी’ मा शीर्षस्थानमा रहेको इंग्ल्याण्डको १२ अंक पुगेको छ । पराजित नर्थ म्यासेडोनिया तीन खेलबाट तीन अंक जोडेर चौथो स्थानमा छ ।

अर्जेन्टिनाले भने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इण्डोनेसियामाथि दुई-शून्यको सहज जित निकालेको छ । अर्जेन्टिनाको जितमा लियान्द्रो पारेडेस र क्रिष्टियन रोमेरोले एक–एक गोल गर्नुभयो । खेलको ३८औँ मिनेटमा लियान्द्रो पारेडेसले गोल गर्दै अर्जेन्टिनालाई पहिलो हाफमा एक–शून्यको अग्रता दिलाउनुभयो ।

त्यसपछि क्रिष्टियन रोमेरोले ५५औँ मिनेटमा दोस्रो गोल गर्दै टोलीलाई जित दिलाउनुभयो । यस जितसँगै अर्जेन्टिना पछिल्लो १० खेलसम्म अपराजित रहन सफल भएको छ । फिफा विश्वकप कतार २०२२ मा साउदी अरेबियासँग दुई-एकले स्तब्ध भयएता अर्जेन्टिना अपराजित छ । जसमा आठ जित र दुई बराबरीको नतिजा छ । दुई बराबरीको खेलमा पनि अर्जेन्टिनाले टाइब्रेकरमा सफलता हात पारेको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?