महासंघले बृहत् आर्थिक बहस कार्यक्रम आयोजना गर्ने

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौंं । नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंंमा बृहत् आर्थिक बहस कार्यक्रम आयोजना गर्ने भएको छ । महासंघले सरकारसहित सबै सरोकारवालाको सहभागितामा असोजभित्रै बृहत् आर्थिक बहस कार्यक्रम आयोजना गर्ने भएको हो । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा बाग्लुङ ढोरपाटनमा सोमबार आयोजित कार्यकारिणी समितिको तेस्रो बैठकले उक्त निर्णय गरेको महासंघले जनाएको छ ।

महासंघका अनुसार निजी क्षेत्रले अर्थतन्त्रमा विद्यमान समस्या समाधान गर्न निरन्तर पहल गर्दै आए पनि त्यसको ठोस समाधान नभएकाले सबै सरोकारवालाहरूलाई एकै ठाउँमा भेला गराई समाधानमा पहल गर्ने उद्देश्यले बृहत् बहस आयोजना गर्न लागिएको हो । सरकारको चालु आर्थिक वर्षको वार्षिक बजेटमा सन् २०२३-०३२ लाई पर्यटन दशकका रूपमा मनाइने घोषणा गरिएको छ । सरकारको उक्त प्रयासलाई समेत सहयोग पु¥याउने उद्देश्यले निजी क्षेत्रतर्फबाट सन् २०२५ लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउन नेपाल सरकारसँग सहकार्य गर्ने निर्णय पनि बैठकले गरेको छ ।

महासंघले सरकारसहित सबै सरोकारवालाको सहभागितामा असोजभित्रै बृहत् आर्थिक बहस कार्यक्रम आयोजना गर्ने भएको हो । 

नेपाल भ्रमण दशकलाई सफल बनाउन महासंघको केन्द्र, प्रदेश र जिल्ला/नगरमा पर्यटन प्रवद्र्धनसम्बन्धी विभिन्न कार्यक्रम आयोजनाका साथै महासंघ तथा यसका सदस्य संघ/संस्थाका लेटर प्याडमा भ्रमण वर्षकोे लोगो राखी प्रचारप्रसार गरिने बताइएको छ । त्यसैगरी ७७ वटै जिल्लाका व्यवसायीको सहभागितामा बृहत् लगानी कम्पनी स्थापना गरी ठूला तथा बहुआयामिक आयोजनामा लगानी गर्ने निर्णय पनि गरेको छ ।

त्यसैगरी सातवटै प्रदेशमा प्रदेश सरकारसँगको सहकार्यमा लगानी सम्मेलन गर्ने, भारत तथा चीनको लगानी भित्र्याउन केन्द्र सरकारसँगको सहकार्यमा भारत तथा चीन केन्द्रित राष्ट्रियस्तरका सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ । महासंघका सदस्यमा संस्थाप्रति अपनत्वको भावना विकास गर्दै स्थानीय सम्भावनालाई पहिचान गरी लगानी अभिवृद्धि गर्न महासंघले मुलुकभित्रका सम्भावनायुक्त विभिन्न स्थानमा महासंघका बैठक आयोजना गर्न सुरु गरेको छ । ढोरपाटनको राष्ट्रिय अन्तर्राष्ट्रिय महत्वलाई मनन गरी त्यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा योगदान गर्न सकियोस् भन्ने अभिप्रायले महासंघको कार्यकारिणी समितिको बैठक त्यस क्षेत्रमा आयोजना गरिएको महासंघले जनाएको छ ।

महासंघका अध्यक्ष ढकालले भन्नुभयो, ‘सन् २०२५ लाई पर्यटन वर्षका रूपमा मनाउने निर्णय भएको छ र यो निर्णय मुलुकको एक प्रमुख पर्यटकीय क्षेत्र एवं नेपालको एकमात्र शिकार आरक्षमा बैठक बसेर गरिएको छ । कोरोना महामारीले थला पारेको देशको पर्यटन व्यवसायलाई उठाउनका लागि आजैदेखि पर्यटकीय क्रियाकलाप गर्न सो निर्णय सहायकसिद्ध हुने अपेक्षा गरेका छौैँ ।’ पर्यटकीय क्षेत्र ढोरपाटनको पनि प्रचारप्रसार र आवश्यक प्रवद्र्धन गर्न पनि ढोरपाटनमा बैठक आयोजना गरिएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा विदेशी पर्यटकहरू शिकार खेल्नमात्रै आउने प्रचलन छ, यहाँको पर्यटन पूर्वाधार र प्रचारप्रसार गर्न निजी क्षेत्रले उत्सुकता देखाएको हो, ढोरपाटन भ्रमणमा छौँ, यहाँका सम्भावनाको खोजी गर्नेछौँ ।’
महासंघले बागलुङ उद्योग वाणिज्य संघ र ढोरपाटन उद्योग वाणिज्य संघको आतिथ्यतामा ढोरपाटनमा बैठक आयोजना गरेको हो ।

देशभरका निजी क्षेत्रका उद्योगी तथा व्यवसायीले ढोरपाटन अवलोकन गर्दा पर्यटनको विकासमा सहयोग पुग्ने बताइएको छ । ढोरपाटनमा आवश्यक पर्यटकीय पूर्वाधार, सुविधासम्पन्न होटलसहित अन्य व्यावसायिक योजनासमेत बन्न सक्ने स्थानीयवासीको अपेक्षा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?