दाङमा नदीजन्य पदार्थको घाटगद्दीद्वारा ठेक्कापट्टा

विवेक खड्का दाङ, संवाददाता
Read Time = 5 mins

दाङ । नदीजन्य पदार्थको निकासीलाई व्यवस्थीत गर्न स्थानीय तहहरूले नदीजन्य पदार्थको उत्खन्न र घाटगद्दी गर्ने भएका छन । जिल्ला समन्वय समिति दाङको आयोजनामा जिल्लाका दशवटै स्थानीय तहका जनप्रतिनिधि, जिल्ला सुरक्षा निकायका प्रमुखलगायतको सहभागीतामा भएको समन्वयात्मक बैठकले यो निर्णय गरे संगै अव स्थानीय तह बाहेक अन्यले नदी तथा खोलाबाट नदीजन्य पदार्थको उत्खन्न गर्न पाउने छैनन । स्थानीय तहहरुबीच एकरूपता ल्याउन यस्तो निर्णय गरिएको सरोकारवालाहरु वताउछन । जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माका अनुसार जिल्लाका दशवटै स्थानीय तहहरूले नदीजन्य पदार्थ उत्खन्न गर्दा स्थानीय तह आफूले नदीबाट नदीजन्य पदार्थ संकलन गरी घाटगद्दी गरेर व्यवस्थापन गर्न सहमत भएका छन् । घाटगद्दी गरेको निर्णय पालिकाले विकास निर्माण, व्यक्तिगत तथा क्रसरका लागि बिक्री गर्ने छन् ।

नदीजन्य पदार्थको उत्खन्नमा एकरूपता हुँदा चोरी निकासीलाई व्यवस्थापन गर्न सहजता हुने उनिहरुको विश्वास छ । ‘नदी तथा खोलाबाटै उत्खन्नका लागि ठेक्का लगाउँदा भनेको ठाउँभन्दा अर्कै ठाउँबाट उठाउने, तोकेकोभन्दा बढी उठाउनेलगायतका विवाद आउने गर्दथे’, समन्वय समिति प्रमुख शर्माले भन्नुभयो,‘त्यसलाई रोक्नका लागि स्थानीय तह आफैले संकलन गर्ने र व्यवस्थापन गर्ने हो निर्णय गरेका छौँ ।’ स्थानीय तहहरूले घाटगद्दी गरेको नदीजन्य पदार्थ मापदण्ड बनाएर विकास निर्माणलगायतका कार्यमा प्रयोग गर्नेछन् ।

त्यसैगरी बैठकले स्थानीय सरकारले स्थानीय तहहरूमा सञ्चालित क्रसर उद्योगहरूको नियमन, नदीजन्य पदार्थको दुरुपयोगसम्बन्धी सुरक्षाको आवश्यकता परेमा जिल्ला सुरक्षा समिति समक्ष पत्राचार गर्ने तथा अनुगमनका लागि अनुगमन समितिलाई अनुरोध गर्ने निर्णय गरेको छ । समन्वयात्मक बैठकमा घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले अडिक भएर इमान्दारीताका साथ निर्णयलाई कार्यान्वयन गर्न सक्ने हो भने आगामी दिनमा नदीजन्य व्यवस्थापनका सवालमा कुनै विवाद नआउने बताउनुभयो ।

‘नदीजन्य पदार्थको व्यवस्थापनसम्बन्धी भएको नीति नियमलाई कार्यान्वयन गर्न नसक्दा समस्या आउने गरेका हुन्छन्, त्यसबाट डराउनु हुँदैन’, नगरप्रमुख चौधरीले भन्नुभयो,‘भएको नियमलाई इमानदारीताका साथ पालना गर्ने हो भने कुनै विवाद आउँदैनन् ।’ त्यसैगरी तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख टिकाराम खड्काले नदीजन्य पदार्थको निकासीलाई व्यवस्थीत गर्नका लागि कडाई गरेको वताउनुभयो । लमही नगरपालिका नगरप्रमुख जोगराज चौधरी, राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी, बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री, शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले नदीजन्य पदार्थको निकासीलाई व्यवस्थीत गर्दै एकरूपता ल्याउन सके नदीजन्य पदार्थको व्यवस्थापनका क्रममा देखिएको समस्या अन्त्य हुने बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय दाङ प्रमुख रामबहादुर केसीले प्राकृतिक स्रोत र साधनको दोहन रोक्नका लागि प्रहरी र जनप्रतिनिधिका बिचमा सहकार्य र समन्वय हुन आवश्यक रहेको बताउनुभयो । प्रहरी मात्र एक्लै रोक्न नसक्ने भन्दै उहाँले नदीजन्य पदार्थको चोरी रोक्नका लागि सबैभन्दा पहिले जनप्रतिनिधि संक्रिय हुनुपर्ने भन्दै आवश्यक परे प्रहरीले सहयोग गर्न तयार रहेको बताउनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?