नेकपा एसका नेता श्रेष्ठको चुनावी फण्डाः युवालाई विदेश पठाइदिने प्रलोभनमा थालियो अन्तर्वार्ता

हिमालय टाइम्स
Read Time = 10 mins

बारा । बाराको परवानीपुर गाउँपालिका-३ लिपनीमालको बिएस पार्टी प्यालेसमा आईतवार बिहानदेखि निःशुल्क कोटामा मलेसिया जाने युवाहरुको भीड छ ।

ललितपुरस्थित ग्वार्कोमा रहेको इन्टरनेशनल म्यानपावर रिक्वायरमेन्ट कम्पनिमार्फत बारा निर्वाचन क्षेत्र नम्बर-४ का उम्मेदवारले युवाहरुको अन्तर्वार्ता लिन थालेको पाइएको हो । मलेसियामा रहेको स्याकारिता सिनकलंङ्ग प्लाष्टिक इन्डष्ट्रिज कम्पनिमा “फ्रि टिकेट, फ्रि भिजा” दिएर पठाउने योजना छ । चुनावलाई केन्द्रित गरेर नेकपा (एकीकृत समाजवादी) का नेता कृष्णकुमार श्रेष्ठले निःशुल्क कोटामा वैदेशिक रोजगारीमा पठाउने भन्दै युवाहरुलाई प्रलोभनमा पार्ने काम भएको र युवाहरुलाई वैदेशिक रोजगारीमा पठाउन थालेको अन्तर्वार्ता दिन आएका युवाहरु बताउँछन् । उनीहरुकाअनुसार नेता श्रेष्ठकै पहलमा निःशुल्क कोटामा विदेश जान पाइने पूर्व सूचनाअनुसार अन्तर्वार्ता लिइएको छ । यता नेता श्रेष्ठका प्रतिष्पर्धी एकबल मियाँले निःशुल्क कोटामा वैदेशिक रोजगारीमा पठाउने भन्दै युवाहरुलाई प्रलोभनमा पार्ने काम गरेकोप्रति आपत्ति जनाउनु भयो । बारा क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहनुभएका नेता श्रेष्ठले निर्वाचनको मिति घोषणा भइसकेपछि र उम्मेदवारी मनोनयन दर्ता पनि भइसकेको अवस्थामा जनतालाई प्रलोभनमा पार्ने काम गर्नु निर्वाचन आचारसंहीता विपरित भएकाले निर्वाचन आयोगले तत्काल कारबाही अघि बढाउनुपर्ने उहाँको माग छ ।

बारा क्षेत्र नम्बर ४ बाट नेकपा एमालेका उम्मेदवार मियाँले चुनावमा आफ्नो भोट बढाउनका लागि नै पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री समेत रहनुभएका श्रेष्ठले जनतालाई प्रलोभनमा पार्ने काम गरिरहेको आरोप लगाउनु भयो । उहाँले प्रतिष्पर्धी श्रेष्ठले निर्वाचन क्षेत्रमा मदरसा बनाइदिने, स्वीमिङ पुल र छात्राहरुका लागि छुट्टै विद्यालय बनाइदिने जस्ता प्रलोभन दिएको आरोप लगाउनु भयो । उम्मेदवार मियाँले नेता श्रेष्ठ समग्र देशको मन्त्री हुँदा कुनै काम नगरेको तर चुनाव जित्नका लागि जनतालाई भ्रम छर्ने काम भइरहेको भन्दै जनताले यसको फैसला गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उहाँ अब संघीय संसदमा तनहुँबाट जित्नुभएको छ, म बारा क्षेत्र नम्बर ४ बाट हो । हामी अब जनताको अदालतमा पुगेका छौँ । दुवै जनालाई जनताले फैसला गर्ने हो । युवा रोजगार जुन छ, युवालाई लागि रोजगार पठाइदिन्छु भन्नुभयो, ठिक छ, अस्ति कुन म्यानपावरलाई यहाँ ल्याएर त्यो काम गर्नुभयो । मलाई राम्रो लाग्यो । तर यो काम मन्त्री हुँदा गरेको भए धन्यवाद दिन्थेँ । त्यतिबेला एकजनालाई पनि गर्नुभएन । चुनाव घोषणा र मनोनयन दर्ता भइसकेपछि फ्रि भिसामा विदेश पठाइदिन्छु भन्नेकुरा जनतालाई भ्रम छर्दै हुनुहुन्छ । यस्तो गर्नु राम्रो होइन । जनतालाई लोभ्याउने काम भएको छ । मस्जिदमा पनि मदरसा बनाइदिन्छु, लेडिज बच्चालाई पढ्ने ठाउँ बनाइदिन्छु, स्वीमिङ पुलसमेत बनाउँछु भनेर भ्रम फैलाउँदै हिँड्नुभएको छ । आफ्नो तनहुँमा कत्तिको गर्नुभएको छ, त्यो हेर्नुपर्छ ।’

त्यस्तै बारा क्षेत्र नम्बर ४ (ख) का मधेस प्रदेश सभा उम्मेदवार आत्माराम साहले युवाहलाई विदेश पठाइदिन प्रि अन्तर्वार्ता लिने काम भइरहेको भन्दै यो निर्वाचन नियमावली बिरुद्ध भएको बताउनु भयो । उहाँले यो विषयमा निर्वाचन कार्यालयहरुले कारबाही गर्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘यो कुरा निर्वाचन नियमावलीको बिरुद्ध छ । कुनैपनि हालतमा यो जायज ठहरिँदैन । कसैलाई प्रलोभन दिनुहुँदैन, भनेर मापदण्ड छ । यसमा निर्वाचन कार्यालयले एक्शन लिएर देश र चुनाव पद्धतिलाई राम्रोसँग सम्पन्न गर्न पहल गर्नुपर्छ ।’

प्रतिष्पर्धी मात्र होइन, युवा र स्थानीय नागरिकहरु उम्मेदवार श्रेष्ठको कदमबाट अक्रोशित छन् । नेता श्रेष्ठले निर्वाचनका लागिको प्रि-अन्तरवार्ता थालेको तर बाराका मात्रै युवाहरुलाई फ्रि भिसा, फ्रि टिकट भन्दै अन्तर्वाता शुरु गरिएका कारण निर्वाचनमा प्रलोभन देखाउने काम भइरहेको उनीहरु बताउँछन् । नेता श्रेष्ठको क्षेत्रमा आईतवारदेखि वैदेशिक रोजगारीमा पठाउन प्रि अन्तर्वार्तामार्फत छनोट थालिएको थियो । म्यानपावर व्यवसायीसमेत रहनुभएका नेता श्रेष्ठले निर्वाचनलाई लक्षित गरी उम्मेदवारी दिएकै क्षेत्रका युवाहरुलाई निःशुल्क कोटामा मलेसिया पठाउन अन्तर्वार्तामार्फत छनोट गरिने प्रक्रियालाई अगाडी बढाउनुभएको उनीहरुको दाबी छ । नेता श्रेष्ठले उम्मेदवारी दिनुभएको श्रेत्रका यूवाहरुलाई निःशुल्क विदेश पठाइदिने सूचना अन्य जिल्लाका युवाहरुसँग पुगेपछि अन्तर्वार्ता स्थलमा घुइँचो लागेको थियो । फ्रि भिसा, फ्रि टिकट भनेकाले आफू नुवाकोटबाट विदेश जाने प्रयोजनमा बारा पुगेको कमलबहादुर अधिकारी बताउनु हुन्छ ।

काठमाडौंको म्यानपावरले बारा पठाएपछि बारा पुगेपनि बाराका युवाहरुलाई मात्रै सिमित गरेकाले अन्तर्वार्ता हुन नसकेको उहाँको भनाइ छ । त्यस्तै सर्लाहीका कुमार यादव, पञ्कजकुमार सहनीको अवस्था पनि कमलबहादुरको भन्दा फरक छैन । उनीहरु सर्लाहीबाट अन्तर्वार्ताका लागि बारा पुगेको ४ दिन भएपनि अझै अन्तर्वार्ता हुन नसकेको र स्थानीयहरुले बारा जिल्लाका लागि मात्रै विदेश पठाउने कुरा थाहा पाएको उनीहरुको भनाइ छ । उनीहरुले भने, ‘एसकेपी कम्पनीले सबै खर्च व्यहोर्छ, इन्टरभ्यूमा जाँदा पहिला बारा जिल्लाको इन्टरभ्यू हुन्छ भन्नुभयो । यसमा कति साथीहरुले सबै जिल्लाको हुनुपर्छ भनेर बिरोध गरेका थियौँ । आफ्नो मान्छेलाई भित्र लगेर १०० जना जतिलाई इन्टरभ्यू गराएको थियो । बिहान ४ बजेदेखि आएको अहिलेसम्म केही छैन, बारा जिल्लाका मान्छेको मात्रै भनिरहेको सुनेका छौँ । बारा जिल्लाका नेताहरुले नै बाराका लागि मात्रै हो बाहिरका जिल्लाको होइन भने । हामीले बुझ्दा बारा जिल्लाको प्रमाणीपुरमा फ्रि इन्टरभ्यू भइरहेको छ भन्ने थियो । त्यहाँबाट सहजै विदेश पठाउन सजिलो हुन्छ भन्नेकुरा भयो । यहाँ इन्टरभ्यू पनि छैन, म्यानपावरले फोन उठाउँदैन । सबै राजनीतिक चलखेल भइरहेको अनुभव गरेका छौँ ।’

निःशुल्क कोटामा विदेश जाने सूचना पाएका करिव ४ सय भन्दा बढी युवा अन्तर्वार्ता दिन आएका थिए । नेकपा (एकिकृत समाजवादी) का स्थानीय नेता कार्यकर्ताहरु निःशुल्क कोटामा विदेश पठाउन गाउँमा पुगेर यूवाहरुलाई सम्पर्क गर्न थालेको स्थानीयहरु बताउँछन् । एकीकृत समाजवादीका नेता/कार्यकर्ताहरु निर्वाचन क्षेत्रका गाउँगाउँमा पुगेर विदेश जाने युवाहरुलाई अन्तर्वार्ता स्थलमा पुर्‍याउन थालेको स्थानीयहरुको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?