समानुपातिक पद्धति हटे समावेशिता समाप्त हुन्छ : नेता पौडेल

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले समानुपातिक निर्वाचन पद्धति हटाउन नहुने बताउनु भएको छ । समानुपातिक कोटामा आफ्ना निकट र गोजीका मानिसहरु ल्याउने गरेको गुनासो आउने गरेको बताउँदै सांसद पौडेलले समानुपातिक निर्वाचन पद्धति हटाउने बिषयमा जाँदा त्यसले समावेशिता समेत समाप्त पार्ने जिकिर गर्नु भयो ।

नेपाली कांग्रेस षडानन्द नगरपालिकाको प्रथम नगर सम्मेलनको उद्घाटन गर्दे नेता पौडेलले जनसंख्या, समुदाय, जमिन अनुकुलको समावेशिता आवश्यक रहेको बताउँदै संघीय लोकतान्त्रिक ब्यवस्थालाई बलियो बनाउने तर्फ जानु पर्ने नेता पौडेलको भनाई रहेको छ । देश चलाउने बारेमा प्रष्ट हुन नसक्दा अहिले बिविध समस्याहरु देखिँदै आएको पौडेलले बताउनु भयो ।

कांग्रेस कम्युनिष्ट जस्तो पार्टी नभएकाले अधिकारका लागि देखिएका त्रृटीहरु समेत भन्न सक्नुपर्ने नेता पौडेलको धारणा छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफनो पार्टीका कारण भन्दा पनि कांग्रेसका कारण प्रधामन्त्री भएको बताउँदै उहाँले आउने जसअपजसहरु कांग्रेसलाई पनि आउने बताउनुभयो । कांग्रेसले जनताको सरोकारसँग जोडेर आफनो गतिबिधी अगाडी लानु पर्ने उहाँको भनाइ थियो ।
शिक्षा स्वास्थ्यको क्षेत्रमा स्वेत पत्र जारी गर्न आवश्यक रहेको बताउँदै पौडेलले आगामी पाँच बर्ष भित्रमा सरकारी लगानी भएको बिद्यालयहरुलाई गुणस्तरीय शिक्षा दिने केन्द्रका रुपमा बिकसित गरिनु पर्ने बताउनुभयो ।

सोक्रममा बोल्नु हुँदै कोशी प्रदेश सांसद तथा कांग्रेस भोजपुर सभापति बिनोद बान्तवाले कांग्रेस भित्र धेरै समस्याहरु देखिएकाले अवका दिनमा सच्चिएर जान आवश्यक रहेको बताउनुभयो । अन्य बत्ताहरुले कांग्रेसका समस्या र आगामी दिनमा खेल्नु पर्ने भुमिका बारेमा आआफनो धारणा राख्नु भएको थियो ।

नगर सभापति भीम तामाङको सभापतित्वमा आयोजित सम्मेलनमा जिल्ला कार्य समितिका पदाधिकारीहरु, महाधिवेशन प्रतिनिधी, प्रदेश क्षेत्र कार्य समिति, भातृ तथा शुभेच्छुक संघ संस्थाका प्रतिनिधी, क्रियाशिल सदस्य सहितका नेता कार्यकर्ताको सहभागिता रहेको सम्मेलन संयोजक तथा पार्टी सचिव सफल किरातले बताउनुभयो । कांग्रेसले अहिले जिल्ला तहमा वडा तथा पालिका सम्मेलनहरु गर्दै आईरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?