एमसिसीका सिइओसँगको शिष्टाचार भेटमा उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो : परियोजना कार्यान्वयनमा सरकार प्रतिबद्ध छ

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग अमेरिकी सहयोग परियोजना एमसिसीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलिस अल्ब्राइटले शिष्टाचार भेट गर्नुभएको छ ।

प्रमुख कार्यकारी अधिकृत अल्ब्राइट र उहाँको टोलीलाई गृह मन्त्रालयमा स्वागत गर्दै उपप्रधानमन्त्री श्रेष्ठले पछिल्लो राजनीतिक परिवर्तनपछि नेपालको सरकार जनताको आर्थिक सामाजिक विकासको ऐतिहासिक जिम्मेवारी पूरा गर्ने काममा केन्द्रित रहेको र एमसिसीजस्ता परियोजनाको सफल कार्यान्वयनले त्यसमा योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।

साथै नेपालको संसद्ले नै एमसिसी परियोजना पारित गरेकाले यसको कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । परियोजनाको लागि जग्गा अधिग्रहण गर्ने र समग्र सुरक्षाको प्रत्याभूति गराउने काममा गृह मन्त्रालय लागेको समेत उपप्रधानमन्त्री श्रेष्ठले स्पष्ट पार्नुभयो । उहाँले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले जग्गा अधिग्रहणमा सहजीकरण गरिरहेको र परियोजना सुरक्षाको लागि कुनै कमी नहुने विश्वास दिलाउनुभयो । एमसीए नेपालसँग परियोजना प्रगतिको पछिल्लो अवस्थाबारे आफूले जानकारी लिएकोसमेत उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयो ।

त्यसक्रममा प्रमुख कार्यकारी अधिकृत अल्ब्राइटले पाँच वर्षमा एमसिसी परियोजना सक्नैपर्ने भएकाले यसको कार्यान्वयनमा नेपाल सरकार र सरोकारवाला सबै पक्ष प्रतिबद्ध भएर लागेकोमा खुसी व्यक्त गर्नुभयो । एमसिसी कार्यान्वयनको जिम्मेवारी एमसीए नेपालको रहेको र यो नेपाल सरकार अन्तर्गतको संरचना रहेको उहाँले बताउनुभयो ।

परियोजनाको समयभित्रै सफल कार्यान्वयनका लागि आफूहरू नेपाल सरकारका सरोकारवाला निकायसँग निरन्तर समन्वयमा रहेकोसमेत अल्ब्राइटले बताउनुभयो । एमसिसी अमेरिकी वैदेशिक सहयोगको महत्त्वपूर्ण अङ्ग भएको र यसको कार्यान्वयनले नेपाल–अमेरिका सम्बन्ध थप प्रगाढ हुने विश्वास प्रमुख कार्यकारी अधिकृत अल्ब्राइटले व्यक्त गर्नुभयो ।
रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?