गगन थापालाई प्रश्न

डा. शान्तिकृष्ण अधिकारी
Read Time = 15 mins

गगन थापा उच्च महत्वाकांक्षा बोकेका युवाको उमेर पार गर्दै गरेका एक क्षमतावान नेता हुन् । नेपालका समकालीन नेताहरू मध्येमा देश विकास र जनताका समृद्धिका खातिर उनीसँग जति योजना, कार्यक्रम र लक्ष्य तय गरेका नेता शायदै भेटिएलान् । कोहीसँग योजना होला तर कार्यक्रम तय गर्ने क्षमतामा कमी देखिन्छ । कुनै नेतासँग देश र जनताका समुन्नतिका निम्ति खट्नु पर्दछ भन्ने उत्कट चाहना होला तर कामयावी हुनका लागि आवश्यक अन्य तत्वहरूको कमी छ । गगन भने एउटा सशक्त विज्ञ समूहसँग सहकार्य गर्दै नयाँ-नयाँ योजनाहरू बुनिरहन्छन् र जनताका माझमा नवीन कार्यक्रम पस्किरहन्छन् भलै ती आजसम्म पूरा गर्न विविध कठिनाइहरूले अवरोध गरिरहेका होलान् ।

केही दिनअघि उनै गगन थापाले गठबन्धन सरकार सञ्चालनका सन्दर्भमा नयाँ खाका प्रस्तुत गरेका छन् । सत्तारुढ दलका मात्रै नभई सत्ता गठबन्धनमा रहेको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका महामन्त्रीले प्रस्तुत गरेको कुरालाई त्यसै नजरअन्दाज गरेर अघि बढ्न पनि मिल्दैन । उनले हावामा गोली चलाएका हुन् भनेर उनका कुरालाई सहज रूपमा एक कानले सुनेर अर्को कानले उडाउन पनि मिल्दैन । अघिल्लो समय समाजवादी मोर्चाले निर्बाध सरकार सञ्चालन गरोस्, नेपाली कांग्रेसले सरकार बाहिर बसेर समर्थन गर्दछ र पछिल्लो अवधिका लागि समाजवादी मोर्चाले समर्थन गरोस्, नेपाली कांग्रेस एक्लैले सरकार चलाउँछ भन्नुमा केही न केही तुक अवश्यै छ ।

प्रधानमन्त्री भएकाले जहिले पनि अर्को दललाई दोषी देखाउँदै उसैका कारणले काम गर्न सकिन भन्ने गरेका कारण यो प्रस्ताव उचित मान्न सकिन्छ । प्रधानमन्त्री पदबाट बाहिर निस्कँदै गर्दा वर्तमान प्रधानमन्त्री प्रचण्डले यही कुरा भन्छन् भन्ने ठोकुवा गरेरै भन्न सकिन्छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठबाट त अहिले नै यस्तै आशयका कुराहरू बारम्बार आइरहेकै छन् । एकजनाको अक्षमताको दोष अर्को दलले भोग्नु नपरोस् भनेर गठबन्धन सरकार सञ्चालन गरे तापनि आआफ्नो खुबी प्रदर्शन गर्ने अवसर सबै दललाई प्राप्त होस् भन्नु सरासर ठीक पनि देखिन्छ ।

कांग्रेसको नेतृत्व हुँदा केही अवश्यै हुन्छ भन्ने विश्वास गगनमा छ । किसुनजी प्रधानमन्त्री हुँदा काम गरेकै हुन् । गिरिजाप्रसाद कोइराला पहिलोपल्ट प्रधानमन्त्री हुँदा बसालेको जगले नै नेपालको विकास निर्माणको आधार तय गरको हो । 

तर प्रश्न उठ्छ, के यसो गर्दा नेताहरूको परम्परागत कार्यशैलीमा परिवर्तन आउँदछ र ? के सरकारको नेतृत्व गर्ने व्यक्तित्व फेरिन्छ र ? के मन्त्री पदको कुर्सीमा आसीन भएर सरकार सञ्चालन गर्ने मान्छेहरू बदलिन्छन् र ? के एउटै दलले सरकार हाँक्दा सरकारमा जाने व्यक्तिहरूको मनोवृत्तिमा सुधार आउँछ र ? के आफ्नै दलको नेता प्रधानमन्त्री छ भने पछि मन्त्रीहरूमा देश विकास र जनताको समुन्नति गर्नुपर्दछ भन्ने भावना जागृत भएर आउँछ र ? के अहिलेसम्म प्रधानमन्त्री र मन्त्री भएकाहरूमा पलाएको कुसंस्कारको संस्कृतिको जडको मूल कारण गठबन्धनमात्रै हो र ?

कांग्रेसको नेतृत्व हुँदा केही अवश्यै हुन्छ भन्ने विश्वास गगनमा छ । किसुनजी प्रधानमन्त्री हुँदा काम गरेकै हुन् । गिरिजाप्रसाद कोइराला पहिलोपल्ट प्रधानमन्त्री हुँदा बसालेको जगले नै नेपालको विकास निर्माणको आधार तय गरको हो । शेरबहादुर देउवा पहिलोपटक सहमतीय सरकारको प्रधानमन्त्री हुँदाहुँदै पनि कतिपय कुरा बिगारेका भए पनि केही काम भएकै थिए । त्यसैका आधारमा एकल सरकार कांग्रेसको भयो भने पुनः बिग्रिएको राजनीतिलाई लिकमा हिँडाउन सकिन्छ भन्ने धारणाको विकास गगनमा पलाएको हुन सक्दछ तर गणतन्त्र स्थापनापछिका कुनै पनि सरकारले त्यसप्रकारको आशा जगाउन भने सकेका छैनन् ।

जनतालाई कुन पार्टीको प्रधानमन्त्री भन्ने मतलब हुँदैन । कुन-कुन पार्टी मिलेर सत्ता सञ्चालन गरेका छन् या एकल सरकार छ भन्नेमा पनि के नै वास्त हुन्छ र ? आधारभूत आवश्यकता पूरा गर्नका लागि सहज वातावरण बनाइदिने सरकार भयो भने जनताको चित्त बुझ्दछ । जनउत्तरदायी र जवाफदेही सरकार मुलुकमा आए हुन्थ्यो भन्ने नै जनताको चाहना हो । असफल नेताहरूले बिदा लिई जनतामा पुनः आशा–भरोसा जगाउन सक्नेहरू सत्तामा पुगेको देख्ने आमनागरिकको लालसा छ । के वर्तमान अवस्थाका राजनीतिक दलहरूका नेतृत्वहरूले यस्तो परिस्थिति निर्माण हुन देलान् र ?

नेपालको राजनीतिक परिदृश्य र राजनीतिक दलहरूको नेतृत्वमा रहेकाहरूको अनुहार र कार्यशैलीले के बताइरहेको छ भने गठबन्धन सरकारको नेतृत्व गर्नु परे पनि र एकल सरकारको नेतृत्व गर्नु परे पनि प्रधानमन्त्री हुने व्यक्ति उही नै हो । जसलाई देशले पाँच पटक, तीन पटक र एक पटक परीक्षण गरिसकेको छ, उही व्यक्ति नै पुनः प्रधानमन्त्री हुनेछन् भन्ने निश्चितप्रायः छ । कुनै नयाँ सोच र विचार अनि लक्ष्य बोकेको व्यक्ति प्रधानमन्त्री हुने सम्भावना वर्तमान संसद्को गणितले देखाएको छैन । कुर्सीमा बसेर दिन काट्ने र प्रधानमन्त्री भएको पटकमा वृद्धि गर्नेबाहेक केही हुनेवाला कुनै पनि संकेतले देखाएको छैन भने गगन थापाले राखेको प्रस्ताव साकार हुन पुग्यो भने पनि कुनै शुभसंकेत दिन सक्ला र ?

अझै पनि नेपाली कांग्रेसबाट प्रधानमन्त्री हुने उनै शेरबहादुर देउवा हुन्, जो केन्द्रीय कार्यसमितिमा बहुमत भएका पार्टी सभापति हुन् र संसदीय दलका नेता पनि हुन् । कांग्रेसका नेताहरू जसले देउवालाई जिताए, उनीहरूले आफूलाई उनको शरणबाट बाहिर निकालेर नयाँ उम्मेदवार खोज्ने सम्भावना कतै पनि देखिँदैन । न संसदीय दलको नेता परिवर्तन हुने सम्भावना छ, न देउवाले अर्को व्यक्तिलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर अगाडि सार्लान् भन्ने अनुमान नै गर्न सकिन्छ । देउवाले विश्राम लिन खोजे पनि उनको आडमा तर मार्न आश गरेर बसेकाहरूले उनलाई अर्को व्यक्तिलाई अगाडि बढाउने मौका दिँदै दिँदैनन् ।

ढिलो चाँडो नेपाली कांग्रेसले सरकारको नेतृत्व लिन्छ भन्नेमा कुनै शंका छैन । पार्टी सभापति देउवा प्रधानमन्त्री हुन्छन् भन्ने पनि निश्चित नै छ तर गगनले नयाँ प्रस्ताव अघि सारेसँगै केही प्रश्न भने उब्जिएका छन् । 

गठबन्धन दलहरूमा सहमति भए बमोजिम अर्को प्रधानमन्त्री हुने भनेका नेकपा एकीकृत समाजवादीका माधवकुमार नेपाल हुन् । उनको दलमा राष्ट्रिय रूपमा छवि बनाएको उनै र सम्मानित नेताका आसनमा विराजमान झलनाथ खनालमात्र हुन् । हामी बूढा भइसक्यौं भनेर जगन्नाथ खतिवडाहरूलाई प्रधानमन्त्री पदका लागि अघि सार्लान् भन्ने कल्पनै गर्न सकिँदैन तर के गर्नु उनीहरूमा बुद्धि पलाए पनि खतिवडा सांसद् नै छैनन् । रामकुमारी झाँक्रीको त कुरै गर्नु परेन । सांसद् थोरै भएका कारण यो दलसँग विकल्प नै छैन भन्दा पनि हुन्छ ।

येनकेन प्रकारेण यो सरकार ढाल्न सकियो भने आफ्नो पालो आउँथ्यो भनेर ढुकी बसेको र सरकारको नेतृत्व गर्न सम्भावना बोकेको दल भनेको नेकपा एमाले हो । कथं कदाचित् देउवा र प्रचण्डका बीचमा मनमुटाव बढ्न गई सहमति भत्कियो भने र नेकपा एमालेले पालो पायो भने पनि प्रधानमन्त्री हुने तीन पटक प्रधानमन्त्री भइसकेका केपी ओली नै हुन् । चाहे कांग्रेससँग होस् या माओवादीसँग, एमालेले जोसँग सहकार्य गरे पनि एमालेका पालामा प्रधानमन्त्री उनै दुई दुई चोटि संविधानविपरीत संसद् भंग गर्ने ओली नै हुन् । एमालेमा संसदीय दलको नेता परिवर्तन हुने न कुनै गुञ्जायस छ, न ओलीलाई चुनौती दिने कुनै नेता नै देखिएको छ ।

यही भुँमरीका बीचमा टाउके नै उही पुरानो सोच, कार्यशैली र व्यवहार भएका नेता प्रधानमन्त्री हुँदा एकल सरकार हुँदैमा देशले गति प्राप्त गर्दछ र ? गगन थापालाई सोध्न मन लागेको छ । कि गगनलाई नेपाली कांग्रेसका सांसद्हरूले संसदीय दलको नेता चयन गर्दा गल्ती गरियो, भोलिका दिनमा हामी सच्चिने छौं भनेर केही संकेत गरेका हुन् र ? देउवा नै प्रधानमन्त्री हुँदा त्यो सरकारमा बस्ने मन्त्रीहरू भनेका त उनै बारम्बार परीक्षण भएर असफल भइसकेकाहरू नै हुन्, होइन र ? कि देउवाले भोलिका दिनमा नेपाली कांग्रेसका युवा महामन्त्रीहरूले भने बमोजिम सुधार गर्छु भन्ने प्रतिबद्धता जनाई सकेका छन् ?

गगन थापाले भने झैँ कांग्रेस एक्लैको सरकार भयो भने केही न केही परिवर्तन भने अवश्यै आउँछ । देशका लागि केही न केही योगदान गर्नुपर्दछ भन्ने सोच भएका युवाहरूको ठूलै लस्कर कांग्रेसको केन्द्रीय समितिमा छ र तल्लो पंक्तिसम्म असल भावनाका कार्यकर्ता पनि छन् । जनता सुखी भए कांग्रेस समृद्ध हुन्छ भन्ने मान्यता बोक्नेहरू अझै कांग्रेसमा हजारौँ भएका कारण नेपाली कांग्रेसले मौका पाएमा केही न केही गर्ने थियो भन्ने त्यसै पार्टीका महामन्त्रीले ठान्नु स्वाभाविक नै हुन जान्छ । भोलिका दिनमा ठूलो पार्टी हाँक्छु र देशको प्रधानमन्त्री बनेर जनता हसाउँछु भन्ने लक्ष्य राखेकाले यति भन्न पनि पर्दछ ।

वास्तवमा के हो भने नेपालका राजनीतिक दलका ठूला नेताहरू भ्रष्टाचारमा मुछिएका हुनै भएन । बलात्कार काण्डमा फसेकाहरूलाई देशको कुनै पनि निकायको नेतृत्व गर्ने अवसर दिनै भएन । राजनीतिक दलहरूका कम्तीमा पनि केन्द्रीय समितिहरू स्वच्छ व्यक्तिहरूमात्रै रहेको हुनुप¥यो । हुक्के, ढोके, बैठकेहरूलाई भन्दा राजनीतिक दलहरूले क्षमतावान्, योग्य र सक्रियलाई प्राथमिकता दिने गर्नुपर्‍यो । दिइएको जिम्मेवारी समयमै कुशलतापूर्वक सम्पन्न गर्न सक्नेहरूको खोजी राजनीतिक दलहरूले गर्नुपर्‍यो ।

ढिलो चाँडो नेपाली कांग्रेसले सरकारको नेतृत्व लिन्छ भन्नेमा कुनै शंका छैन । पार्टी सभापति देउवा प्रधानमन्त्री हुन्छन् भन्ने पनि निश्चित नै छ तर गगनले नयाँ प्रस्ताव अघि सारेसँगै केही प्रश्नहरू भने उब्जिएका छन् । के त्यतिबेलाको मन्त्रिपरिषद्मा कांग्रेसका तर्फबाट मन्त्री भएकाहरू सबै नै स्वच्छ पर्लान् त ? आचरणमा तलमाथि नभएकाले मन्त्रालय सञ्चालन गरेको देख्ने अवसर जनताले पाउलान् त ? मन्त्री पदबाट बिदा हुँदै गर्दा कुनै पनि दाग नलागी भोलिका लागि पुनः जनताले आशा गर्ने नेता बनेर निस्कनेहरूले मौका पाउलान् त ? कि उनै कोही दश पटक, कोही बाह्र पटक, कोही अठार पटक मन्त्री भएँ भनेर वाइनका बोत्तल फुटाउनेहरूकै राज होला ?

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?