वडाध्यक्ष रोकाया, जो आफै बिरामी बोकेर उपचार गर्न अस्पताल पुर्‍याउछन्

विजय रावत जुम्ला, संवाददाता
Read Time = 5 mins

जुम्ला । जुम्लाको तिला गाउँपालिका-६ का वडाध्यक्ष जंगबहादुर रोकाया आफै बिरामी बोकेर उपचार गर्न अस्पताल पुर्‍याउने काम गर्नुहुन्छ । पालिकाको ग्रामीण वडाको रुपमा चिनिने सो वडामा यातायातको सुविधा समेत पुगेको छैन । वडामा सुविधा सम्पन्न अस्पतालको व्यवस्थापन नहुदा गम्भीर बिरामी परेका स्थानीयवासिलाई स्टेचरमा बोकेर अस्पताल लिने काम गरेको वडाध्यक्ष जंगबहादुर रोकायाले जानकारी दिनुभयो ।

गएराती तिला-६ घोडे गाउँका ६७ वर्षीय परिमल रोकाया एक्कासी बिरामी पर्नुभयाे । राती सात बजे तिर रोकायालाई मुटु दुख्ने व्यथा लाग्यो । पछि मुटु दुख्नेसँगै झाडा पखलाको समस्या देखिएपछि लगत्तै रोकायालाई नजिकै रहेको घोडेमहादेव स्वास्थ्य चौकीमा लगियो । त्यहाँ राति स्वास्थ्यकर्मीले प्राथमिक उपचार गरे । तर, रोकायालाई निको हुन सकेन । सीमित स्रोत र साधनका बावजुत उहाँको उपचार गरिएपनि निको हुन सकेन ।

स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि अन्तिम विकल्प थियो- रोकायालाई थप उपचारका लागि सुविधा सम्पन्न स्वास्थ्य संस्थामा लैजाने । विकल्प दुई वटा थिए, पहिलो थियो, बिरामीलाई घोडेबाट बोकेर रारालिही ल्याउने र गाडीबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म पुर्याउने । त्यसो गर्दा चार घण्टा लाग्थ्यो ।

घोडेबाट रारालिही पुग्न तीन घण्टा लाग्छ । त्यहाँबाट जुम्ला बजार पुग्न थप एक घण्टा । दोस्रो विकल्प थियो, बिरामीलाई सिधै जुम्ला र कालीकोटको सिमानामा पर्ने नाग्म बजार लैजाने । वडाअध्यक्ष जंग रोकायाले भन्नुभयो , 'मान्छे बिरामी पर्दा हामीले भोग्ने प्रमुख समस्या यहीँ हो । यातायातका साधन पुग्ने सडक सञ्जाल नहुँदा यस्ता समस्या हुने गरेका छन् । बिरामीको ज्यान बचाउने हेतुले हामीले दोस्रो विकल्प रोज्यौ ।'

वडाअध्यक्ष रोकायालगायत स्थानीयवासिले १७ गते विहान बिरामीलाई बोकेरै घोडेबाट नाग्मसम्म उपचार गर्न लिएको वडाअध्यक्ष रोकायाको भनाइ छ । गाउँका आठ-नौ जनाहरू बिरामी पर्दा स्टेचरमा राखेर अस्पताल लिएर उपचार गरेका छौ । एक त अहिले कामको सिजन सबै काममा व्यस्त हुन्छन् । अर्कातिर गाउँमा युवा भेटाउनै मुस्किल छ । कोही रोजगारीको लागि परदेशमा छन् । कोही धन कमाउन कालापहाड गएका छन् । केही युवा पढाईका लागि बाहिरी जिल्लामा छन् । अहिले गाउँमा वृद्ववृद्वा मात्रै भेटिन्छन् । कुनैपनि विकल्प बाँकी नरहेपछि बिरामीको ज्यान जोगाउन बोकर अस्पताल समेत लिने गरेको वडाध्यक्ष रोकायाले जानकारी दिनुभयो ।

ग्रामीण सडक पुगेपनि सवारीसाधन चल्न सकेनन् 

तिला-१ रारासेरिमा निर्माणधिन तिला नदी माथि पक्की पुल निर्माण सम्पन्न नहुँदा तिलाका,६,७,८र ९ वडामा अझै पनि सवारीसाधन चल्न सकेका छैनन् । भौगोलिक विकटताका कारण बेलाबेलामा यस्ता समस्या दोहोरिने गरेको वडा अध्यक्ष रोकायाले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?