दुर्गम पाखाथरको फेरिँदै मुहार

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 8 mins

बागलुङ । एक दशक अघिसम्म ढोरपाटन पुग्दा व्यवस्थित खाना खाने र बस्ने घर थिएनन् । त्यतिबेला परम्परागत केही काठका त केही ढुङ्गाका घरहरु मात्र थिए । बाहिरबाट आएका आगन्तुक तिनै परम्परागत घरमा जसोतसो रात बिताउँथे ।

हेलिकप्टरमाफर्त ढोरपाटन पुग्ने विदेशी पर्यटकले बस्ने खानेको व्यवस्थापन आफै गर्थे । तर, अहिले ढोरपाटन क्षेत्रमा होटल तथा रेष्टुरेण्ट बढ्दै गएका छन् । बाह्रै महिना चिसो हुने ढोरपाटन क्षेत्रमा स्थानीय तथा बाहिरबाट व्यवसाय गर्न पुगेकाहरुले काठ, माटो र ढुङ्गाबाट घर बनाएका छन् । पछिल्लो समय कङ्क्रिटका भवन पनि धमाधम बन्न थालेका छन् । ढोरपाटन क्षेत्रको स्यालपाखे र खापाथरमा बढी होटल व्यवसाय सञ्चालनमा आएका छन् ।

पाँच वर्ष अघिसम्म यहाँ थोरै मात्रै होटल थिए । समथर भू–भागमा फैलिएको ढोरपाटनमा अहिले थुप्रै घरहरु बनेका छन् । पुराना परम्परागत तथा आधुनिक शैलीमा निर्माण भएका घरहरुले ढोरपाटनको पाखाथर ठूलो सहर जस्तै देखिन्छ । पहिले घुम्ती बसाइँ गर्ने यहाँका स्थानीय अहिले अधिकांश समय ढोरपाटनमा बस्न थालेका छन् । होटल व्यवसाय सञ्चालनमा आएपछि बाह्रै महिना ढोरपाटनमा पर्यटक पुग्न थालेका हन् ।

आधा दशक अघिसम्म यहाँका अधिकांश स्थानीय ६ महिना बोबाङ, अधिकारीचौर, दोगाडी लगायतका गाउँहरुमा र ६ महिना ढोरपाटनमा बस्ने गर्थे । पाखाथर, स्यालपाखे र नवी गाउँमा मोटरबाटो पुगेपछि स्थानीयको दैनिकी समेत बदलिएको छ । जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा रहेको ढोरपाटनको धेरै ठाउँमा अहिले पनि विद्युत, खानेपानी र मोटरबाटो पुग्न सकेको छैन ।

मोटरबाटो पुगेको पाखाथरमा अहिले बढी पर्यटक पुग्ने गर्छन् । कच्ची सडकले जोडिएको पाखाथरमा दर्जन बढी होटल र केही होम–स्टे (घरबास) सञ्चालनमा छन् । जसले आगन्तुकलाई सहज बनाएको छ । उच्च पहाडी हावापानी, स्वच्छ वातावरण र यहाँबाट देखिने मनोरम दृश्यले धेरैलाई आकर्षित गर्ने गरेको छ । पछिल्लो दुई वर्ष यता ढोरपाटनमा बास बस्न आउने पर्यटकको संख्या बढ्दै गएको स्थानीय बताउँछन् । बुर्तिबाङ बजारदेखि करिब ३३ किलोमिटरको दूरीमा रहेको पाखाथर हाल पर्यटकहरुको बासस्थानका रुपमा विकास भइरहेको छ । पहिले स्थानीय मात्रै बस्ने यस क्षेत्रमा अहिले आन्तरिक पर्यटकको चहलपहल हुने स्थानीय लिलु अदैले बताउनुभयो ।

पाखाथर गाउँ सडकले जोडिएपछि धेरै पर्यटक आउन थालेको अदै बताउनुहुन्छ । अदैले पहिले पर्यटकहरु दिउँसो घुम्न आएर साँझ फर्किने गरेको भन्दै अहिले एक÷दुई दिन बस्ने गरी आउन थालेको बताउनुभयो । सडकले आन्तरिक पर्यटकलाई पाखाथरसम्म ल्याउन सहज बनाएको उहाँको भनाइ छ । सरकारले यो सडकलाई व्यवस्थित बनाउन सके ढोरपाटनमा धेरै पर्यटक भित्राउन सकिने अदैले बताउनुहुन्छ । एक दशक अघि विद्युत गाउँमा आएको र अहिले गाउँमै अस्पताल बन्न थालेको उहाँको भनाइ छ ।

अदैले भन्नुभयो – ‘पाखाथर ढोरपाटनको धेरै बस्ती भएको ठाउँ हो, यस ठाउँको धेरै पहिलेनै विकास हुनु पथ्र्यो, तर अहिले बल्ल विकास हुन थालेको छ, सबैभन्दा गाह्रो त बजारबाट यहाँसम्म आउने सडकले बनाएको छ, मान्छेहरु पनि धेरै आउन थालेका छन्, यो ठाउँलाई धेरैले मन पराएका छन्, सरकारले चिन्न सकेन, यहाँ धेरै विकास गर्न अझै बाँकी छ ।’

स्थानीय होटल व्यवसायी गंगाबहादुर भण्डारीले दुई वर्ष यता पाखाथरमा तीन दर्जन बढी होटल सञ्चालनमा आएको बताउनुभयो । पहिले ढोरपाटनमा आउने पाहुना गोठमा रात बिताएर फर्किने गरेको भन्दै अहिले सामान्य भए पनि होलटको सुविधा बढ्दै गएको भण्डारीको भनाइ छ । पछिल्लो केही वर्षदेखि ढोरपाटनमा आउने आन्तरिक पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको भन्दै उनीहरुले आधुनिक होटलको सुविधा खोज्ने गरेको बताउनुहुन्छ ।

‘ढोरपाटनमा जनुसुकै पाहुना आउँदा बाटोको नै कुरा उठाउनु हुन्छ, सूचना प्रविधिको विकासले गर्दा ढोरपाटनको प्रचार भएको छ, त्यसले गर्दा यहाँ आउनेहरु बढेका हुन्, पहिले यहाँ फोन गर्ने सुविधा पनि थिएन, अहिले घर भित्रै बसेर नेट इन्टरनेट हेर्न पाइने सुविधा भएको छ,’ भण्डारीले भन्नुभयो – ‘यहाँ पाहुनाको चाहना अनुािर आधुनिक होटल व्यवस्थापन गर्न सकिएको छैन, पहिला यस्ता घर थिएननु, काठका घर थिए, अहिले यत्तिको हुनु पनि हाम्रा लागि ठूलो विषय हो, बिस्तारै सबै परिवर्तन हुँदै जाला ।’

स्थानीय टिकाबहादुर घर्ती मगरले सडकले पाखाथरमा ठूलो परिवर्तन ल्याएको बताउनुभयो । पहिले यहाँका स्थानीय घण्टौँ हिँडेर दैनिक उपभोग्य सामान किन्न बजार पुग्ने बाध्यता रहेको भन्दै अहिले घरघरमा गाडीले ल्याउने गरेको बताउनुहुन्छ । सडक अप्ठ्यारो भए पनि समान ढुवानी र यात्रालाई थोरै भए पनि सहज बनाएको घर्ती मगरको भनाइ छ । पाखाथरमा धेरै नागरिकको बसोबास गरेको भन्दै सडकले दैनिकीसमेत बदलिएको उहाँ बताउनुहुन्छ ।

‘धेरै विकास हुन सकेको छैन, तर विकासनै भएन बन्न पनि मिल्दैन, जति हुनु पथ्र्यो त्यति हुन सकेन, सहर बजारभन्दा टाढा भइयो, डाँडाकाँडा छिचोलेर आउनु पर्ने, भूगोलले अलिकति पछाडि परेका हौँ, तर यहाँको सुन्दरताले धेरैलाई तान्छ’ घर्ती मगरले भन्नुभयो – ‘यहाँको रहनसहन र स्थानीयहरुको चेतनास्तर पनि वृद्धि भएको छ, मान्छे शिक्षित बन्दै गएका छन्, राज्यले कलिकति ध्यान दिन सक्यो भने ढोरपाटनबाट धेरै पाउन सकिन्छ, यति धेरै सम्भावना बोकेको ठाउँ छ, तर सम्भावना हुँदा हुँदै पनि पछाडि परि रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?