धनगढी एफसीको ब्राण्ड एम्बासडरमा मिस पवी

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । ग्रो ड्रिमर्सको स्वामित्वमा रहेको नेपाल सुपर लिग (एनएसएल) को साबिक उपविजेता टोली धनगढी एफसीले आफ्नो ब्राण्ड एम्बासडरमा कलाकार तथा मोडल मिस पवी (पवी सार्की) लाई नियुक्त गरेको छ । धनगढी एफसीका सिइओ सकुश केसी र कलाकार मिस पवीले शुक्रबार एक कार्यक्रमबीच ब्राण्ड एम्बासडर नियुक्तिको सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार मिस पवी यस सिजनको एनएसएलका लागि धनगढी एफसीको ब्राण्ड एम्बासडर हुनुहुनेछ । धनगढी एफसीको खेलका बेला मिस पवीले स्टेडियममा बसेर धनगढी एफसीलाई समर्थनसमेत गर्नुहुनेछ ।

धनगढी एफसीको ब्राण्ड एम्बासडर नियुक्त भएपछि मिस पवीले एकदमै उत्साहित भएको प्रतिक्रिया दिनुभयो । ‘नेपाल सुपर लिगको साबिक उपविजेता टोली धनगढी एफसीको ब्राण्ड एम्बासडरका रूपमा जोडिन पाउँदा म एकदमै उत्साहित छु । कहिले दशरथ रंगशालामा खेल होला र कहिले खेल हेर्न जाउँला भनेर आतुर पनि भइसकेँ,’ उहाँले भन्नुभयो, ‘पहिलो सिजनमा सबैको अपार माया, साथ, समर्थन पाएर धनगढी एफसी उपविजेता बनेको थियो । यस सिजनमा पनि नयाँ उत्साहका साथ आएको छ । धनगढीले अझै राम्रो फुटबल पस्किँदै दर्शकहरूलाई मनोरञ्जित पार्ने विश्वास छ ।’

धनगढी एफसीका सिइओ केसीले सुदूरपश्चिम र कर्णाली प्रदेशको प्रतिनिधित्व गरिरहेको धनगढी एफसीको ब्राण्ड एम्बासडरका रूपमा सोही क्षेत्रकै लोकप्रिय कलाकार मिस पवीलाई ब्राण्ड एम्बासडरका रूपमा पाउँदा खुसी व्यक्त गर्नुभयो ।

‘सुदूरपश्चिमबाट उदाउँदै लोकप्रिय राष्ट्रिय कलाकारसमेत रहनुभएकी मिस पवीलाई धनगढी एफसीको ब्राण्ड एम्बासडरका रूपमा पाउँदा हामी अत्यन्तै हर्षित छौँ,’ केसीले भन्नुभयो, ‘उहाँको आगमनले टोलीमा नयाँ ऊर्जा थपिएको छ । उहाँलाई धनगढी एफसी परिवारमा स्वागत गर्न चाहन्छु ।’

नेपाल सुपर लिगको दोस्रो संस्करण आगामी मंसिर ८ देखि पुस २१ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा हुँदैछ । एनएसएलको यस सिजनका लागि धनगढी एफसीको मार्की खेलाडीमा नेपाली राष्ट्रिय टिमका प्रतिभावान मिडफिल्डर आशिष चौधरी रहनुभएको छ । आशिषले शहीद स्मारक लिग ‘ए’ डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेडबाट खेल्दै टोलीलाई बलियो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

यस्तै, अक्सनबाट धनगढी एफसीले साइमन लिम्बू, निशान लिम्बू, मिलन राई, सुरेश कुमाल, रन्दीप पौडेल, मनोज राई, कमल श्रेष्ठ, टेकेन्द्र सिंह थापा, देवेन्द्र तामाङ, हेमन्त श्रेष्ठ, अभिषेक गुरुङ, कृतिशरत्न छुन्जु र रामचन्द्र वाजीलाई अनुबन्ध गरिसकेको छ ।
प्रशिक्षकमा भने धनगढी एफसीले युगलकिशोर राईलाई निरन्तरता दिएको छ । धनगढी एफसीले आफ्नो पहिलो खेल आगामी नोभेम्बर २६ तारिखमा वीरगञ्ज युनाइटेडसँग खेल्ने तालिका छ ।

यस्तै, झापा एफसीले नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्कालाई ब्राण्ड एम्बासडर नियुक्त गरेको छ । कीर्तिमानी फरवार्ड खड्कालाई झापा एफसीले दोस्रो संस्करणको एनएसएलका लागि आफ्नो ब्राण्ड एम्बासडरका रूपमा घोषणा गरेको हो । खड्का र निराजन रायमाझीले राष्ट्रिय टोलीका लागि सबैभन्दा बढी १३ गोल गर्नुभएको छ ।

‘फुटबलका हस्ती हरि खड्कालाई हाम्रो ब्राण्ड एम्बासडरका रूपमा पाउनु झापा एफसीका लागि गौरवको विषय हो । नेपाली फुटबलमा उहाँको अतुलनीय योगदान र झापा जिल्लासँगको उहाँको सम्बन्धले यो साझेदारीलाई साँच्चै विशेष बनाएको छ,’ झापा एफसीका अध्यक्ष अर्पण विक्रम खड्काले भन्नुभयो ।

मैदानमा आफ्नो उत्कृष्ट खेल र कलाकौशलका लागि परिचित खड्काले पनि यो नयाँ भूमिकाका बारेमा आफ्नो उत्साह व्यक्त गर्नुभयो । झापा एनएसएल पहिलोपटक खेल्ने तीन टोलीमध्येको एक हो । नौ टोलीको सहभागितामा एनएसएल मंसिर ८ गतेदेखि दशरथ रंगशालामा सुरु हुँदैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?