अर्थतन्त्र सुधार्न तत्काल कदम चाल्न आग्रह

हिमालय टाइम्स
Read Time = 5 mins

हेटौंडा । नेपाल उद्योग परिसंघ(सिएनआई) का अध्यक्ष राजेशकुमार अग्रवालले अर्थतन्त्र सुधारका लागि कत्ति पनि ढिलो नगर्न आग्रह गर्नुभएको छ । केही महिनाअघि विदेशी मुद्रा सञ्चितिमा परेको दबाबका कारण चालिएको कदम र आवश्यकभन्दा बढी उपचार गर्दा आजको अवस्था आएको भन्दै उहाँले तत्काल देखिने गरी सुधार थाल्न आग्रह गर्नुभयो ।

बागमती प्रदेश उद्योग परिसंघको तेस्रो साधारणसभा एवं दोस्रो अधिवेशन समारोहमा अध्यक्ष अग्रवालले ढिलो गरी गरिने उपचारले समाधान नदिन सक्नेतर्फ ध्यान दिन सरकार एवं नियामक निकायलाई आग्रह गर्नुभएको हो । गम्भीर अवस्थामा रहेको अर्थतन्त्र सुधारका लागि सरकार, राजनीतिक दल, कर्मचारीतन्त्र, नियामक निकाय सबैले उच्च प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो । अध्यक्ष अग्रवालले भन्नुभयो, ‘हामीले यस्तो विषम आर्थिक चुनौतीको समयमा पनि अर्थतन्त्र सुधारभन्दा राजनीतिक मुद्दामै ध्यान केन्द्रित गर्ने हो भने आर्थिक हिसाबले मुलुक निकै अप्ठ्यारो अवस्थामा पुग्ने निश्चित छ, त्यसपछि सुधारको प्रयास गर्दा पनि सुधार हुन निकै समय लाग्ने र त्यसबेलासम्म अन्य क्षेत्रलाई समेत नराम्रोसँग प्रभावित पार्न सक्छ ।’

चितवनको शक्तिखोर औद्योगिक क्षेत्र र मकवानपुरको मयूरधाप औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारी मोडलमा सिएनआईलाई निर्माण तथा सञ्चालन गर्न दिन आग्रह गर्नुभयो । सोसम्बन्धी आशय यसअघि नै सिएनआईले संघीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई बुझाइसकेको छ ।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशको क्षेत्राधिकारभित्र औद्योगिक क्षेत्र नपर्ने भन्दै निर्माण एवं सञ्चालनका लागि संघीय सरकारलाई सिफारिस गरेको बताउनुभयो । उहाँले आगामी कात्तिममा बागमती प्रदेशमा लगानीको सम्भावनाबारे निजी क्षेत्रसहितका सरोकारवालासँग बृहत् छलफल गर्ने जानकारी गराउनुभयो । कोटा प्रणालीका कारण डाक्टर, नर्सिङ अध्ययन गर्ने विद्यार्थी पलायनको खतरा बढेको भन्दै मुख्यमन्त्री जम्मकट्टेलले बागमती प्रदेशभित्र डाक्टर, नर्सिङ अध्ययनका लागि सिटको सीमा हटाउने घोषणा गर्नुभयो । कार्यविधि बनाएर शुल्कको सीमा तोक्ने पनि उहाँले बताउनुभयो ।

बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष भेषराज दुवाडीले अर्थतन्त्र सुधारका लागि देखिने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा विभिन्न राजनीतिक दलका नेता, परिसंघका गभर्निङ काउन्सिल सदस्य कृष्णप्रसाद अधिकारी, परिसंघ प्रदेश तथा जिल्ला समन्वय समिति सभापति एजाज आलम, उद्योग समिति सभापति लक्ष्मीप्रसाद सुवेदी, गण्डकी प्रदेश उद्योग परिसंघका अध्यक्ष विनोद न्यौपाने, चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेललगायतको उपस्थिति रहेको सिएनआईले जनाएको छ ।

अधिवेशनले लेखराज पोखरेलको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयनका साथै बागमती प्रदेश उद्योग परिसंघले प्रदेश महिला उद्यमी मञ्च र प्रदेश युवा उद्यमी मञ्चसमेत गठन गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?