सिमकोट गाउँपालिकाले गर्‍याे सार्वजनिक सुनुवाई

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 6 mins

हुम्ला । स्थानीय तहले सुशासन र पारदर्शिताको पाटोलाई चासो नै नदिएका बेला सिमकोट गाउँपालिकाले सार्वजनिक सुनुवाइ गरी आफ्नो गत आ.ब.२०७९/०८० बार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ ।

गाउँपालिकाको प्रयोजनमा तथा नेपाल पत्रकार महासंघ हुम्लाको सहजिकरणमा सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रगति विवरण सार्वजनिक गरिएको हो । अघिल्लो आर्थिक वर्षमा गाउँपालिकाले सञ्चालन गरेका पाँच वटा विषयगत समितिअन्तर्गतका सबै गतिविधि योजना शाखाका अधिकृत उजिर रोकायाले प्रस्तुत गर्नुभएको थियो । जसमा १८४ वटा भौतिक पूर्वाधारका योजना सम्पन्न भएको प्रगति विवरण प्रस्तुत गरिएको थियो भने पाँच वटै समितिअन्तर्गत पाँच सयभन्दा बढी कार्यक्रम सञ्चालन गरिएको विवरण प्रस्तुत गरिएको थियो ।

उक्त आर्थिक वर्षमा ६९ करोड ३४ लाख ५४ हजार ७३२ आम्दानी भएकोमा ६१ करोड २४ लाख ८७ हजार ५१ रुपैयाँ खर्च भएको आयव्ययसमेत प्रस्तुत गरिएको थियो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा वास्तविक सेवाग्राहीको उपस्थिति न्यून भएको सिमकोट गाउँपालिका-५ का स्थानीय तीर्थराज रोकायाले गुनासो गर्नुभयो । जसका लागि कार्यक्रम आयोजना गरिएको हो उनीहरू नै उपस्थित नहुनु गाउँपालिकाले जानकारी गराउन कन्जुस्याइ गरेको आरोप स्थानीय रोकायाको थियो ।

गाउँपालिकाको काम गराई प्रतिजनता सन्तुष्ट नभएको सार्वजनिक कार्यक्रमको उपस्थितिले जनाएको आरोप राप्रपा जिल्ला अध्यक्ष विकास महतको थियो । यस्ता कार्यक्रम सञ्चालन गर्दा कम्तीमा एक हप्ता अगाडि गाउँगाउँ र टोलटोलमा सूचना दिनुपर्ने प्रावधान भएपनि गाउँपालिकाले त्यसप्रति चासो दिन नसकेको राप्रपा जिल्ला अध्यक्ष महतको आरोप थियो ।

सेवाग्राहीले आफ्ना लागि सञ्चालन गरिएका क्रियाकलाप जानकारी पाउनुपर्ने कार्यक्रममा कर्मचारी मात्र उपस्थिति हुनु आफैँ धामी आफैँ झाँक्री सावित भएको उहाँको भनाई थियो ।

राजनीति पूर्वाग्रह राखेर विकास नगर्न र कर्मचारी विभेद नगर्न एमाले हुम्लाका कावा अध्यक्ष डबल रावतले सुझाव दिनुभयो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा सेवाग्राही कम उपस्थिति भएको विषयमा गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)ले जानकारी गर्दा पनि सेवाग्राही उपस्थिति नभएको भन्दै गाउँपालिकाको बचाउ गर्नुभयो । स्थानीय रेडियोमा जानकारी दिने, वडालाई पत्राचार गर्ने र सामाजिक सञ्जालमा जानकारी दिँदा पनि सेवाग्राही नआउन दुःखद पक्ष भएको गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो ।

गत वर्ष अपायक पर्ने ठाउँमा सार्वजनिक सुनुवाइ गरेको आरोप आएपछि यस वर्ष शनिबार पारेर सिमकोट बजारको मध्यक्षेत्रमा कार्यक्रम गर्दा पनि नआउनु कसको कमजोरी होला भन्ने प्रतिप्रश्न गर्नुभयो । आगामी दिन अझै सुधार गरेर जाने प्रतिबद्धतासमेत अध्यक्ष भण्डारीले गर्नुभयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष भण्डारीले गाउँपालिको सेवा प्रवाहलाई नागरिकमैत्री बनाउन सार्वजनिक सुनुवाइ गरेको बताउनुभयो । गाउँपालिकाको उपलब्ध स्रोत, साधनबाट कार्य सम्पादन गर्दा केही समस्या हुनसक्ने र त्यसको समाधानका लागि प्राप्त सुझावहरुलाई आगामी दिनमा लागु गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । गाउँपालिकामा भए गरेका गतिविधिमा आफ्नो साझा चिन्तन रहेको र सार्वजनिक सुनाइमा सुझाव तथा सल्लाह दिएकोमा धन्यवाद दिनुभयो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा समन्वय समितिका उपप्रमुख दल फडेरा, प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल, गाउँपालिका उपाध्यक्ष शुशिला बाम (रोकाया), प्रमुख प्रशासकीय अधिकृत सुवास आले, कांग्रेस उपसभापति वसन्त रोकाया, माओवोदी केन्द्रका सचिव धर्मराज बोहरा, आठ वटै वडाका अध्यक्षलगायत विभिन्न विषयगत शाखाका प्रमुख तथा कर्मचारीको सहभागीता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?