इतिहास बोकेको पार्टीमा भविष्य हुन्छ : केन्द्रीय सदस्य स्नेही

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 4 mins

गुल्मी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व सांसद प्रकाश रसाइली स्नेहीले नेपाली कांग्रेस पार्टी इतिहास बोकेको पार्टी भएकाले यसमा सबैको भविष्य रहेको बताउनुभएको छ । नेपाली कांग्रेस मालिका गाउँपालिकाको दोस्रो गाउँ सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले इतिहास भएको पार्टीमा भविष्य पनि हुने बताउनुभएको हो ।

केन्द्रीय सदस्य स्नेहीले नेपाली कांग्रेस वीपीको विचार र सिद्धान्तबाट कतै विचलित भएको त छैन? भन्दै कांग्रेसमा रुपान्तरण जरुरी रहेको बताउनुभयो । कांग्रेस पार्टीमा गुटबन्दीको प्रहार भएको भन्दै गुटबन्दीको सिकारलाई अन्त्य गर्न पार्टीको तल्लो तहबाट सबै लाग्नुपर्ने बताउनुभयो ।

पार्टीलाई नयाँ जीवन दिनका लागि पार्टीको तल्लो तहबाट नै लाग्नुपर्ने भन्दै अहिलेको अवस्थामा कांग्रेसले हरेक नागरिकका मुद्दा बोकेर हिड्न जरुरी रहेको बताउनुभयो । कांग्रेस पार्टी हरेक परिवर्तनको पक्षमा रहेको उल्लेख गर्दै देशमा भएका हरेक परिवर्तनमा कांग्रेसको नेतृत्व रहेको बताउनुभयो ।

लोकतन्त्रका लागि कांग्रेस पार्टी निरन्तर लडिरहेको भन्दै कार्यकर्तालाई निराश नहुन आग्रह गर्नुभयो । युवालाई स्वरोजगार बनाउने गरि कांग्रेस पार्टी लाग्न जरुरी रहेको भन्दै देशलाई समुन्नति बनाउन सबै एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभयो । कांग्रेस पार्टी निर्वाचनका लागि मात्र नभएर जनताको इच्छा चाहाना पूरा गर्ने पार्टी भएको भन्दै उहाँले नेपाली कांग्रेस आम नेपाली जनताको पार्टी भएको बताउनुभयो ।

त्यस अवसरमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठले पार्टीको भावी रणनीति तयार गर्नका लागि सम्मेलन महत्त्वपूर्ण हुने बताउनुभयो । पार्टी संगठनको मजबुतका लागि हरेक संगठनलाई क्रियाशील बनाउन जरुरी रहेको भन्दै पार्टीको नीति, विचार र सिद्धान्तलाई नभुली सबैले जनताको पक्षमा गर्नुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले पार्टीलाई चलायमान र संगठनलाई चुस्तदुरुस्त बनाउन भातृ तथा शुभेच्छुक संगठनलाई क्रियाशील बनाउन जरुरी रहेको बताउनुभयो । उहाँले पार्टी र जनप्रतिनिधिको समन्वयमा नागरिकका समस्या समाधान गर्न सहज हुने भन्दै जनप्रतिनिधिले नागरिकको पक्षमा काम आग्रह गर्नुभयो ।

त्यस गाउँपालिकाका नेपाली कांग्रेसका सभापति उपेन्द्र अर्यालले पार्टी गतिविधिको बारेमा जानकारी गराउँदै जनताको मनोभावना अनुसार पार्टी सन्चालन गरिएको बताउनुभयो । पार्टी, भातृ तथा शुभेच्छुक संगठन सबैले छलफल गरेर गतिविधिहरु अगाडी बढाइएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?