राष्ट्र बैंकको पछिल्लो निर्देशनले उद्योगी व्यवसायीहरुको मनोबल बढ्ने आशा जगायो : अध्यक्ष ढकाल

फाइल तस्बिर

Read Time = 9 mins

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनले उद्योगी व्यवसायीहरुको थोरै भएपनि मनोवल बढ्ने आशा जगाएको बताउनुभएको छ ।

आईतवार नेपाल जग्गा तथा आवास विकास महासंघले आयोजना गरेको रियल इस्टेट व्यवसायी बृहत भेला-२०८० कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो । उहाँले सरकार र राष्ट्र बैंकले निजी क्षेत्रले दिएका सुझावहरुलाई ढिलै भएपनि बुझ्ने कोशिस गरेको बताउनु भयो । उहाँले लामो समयदेखि घरजग्गा कारोबारमा कित्ताकाट खोल्न र शेयर बजार कर्जा सीमा बढाउन आग्रह गरेपनि नमानेको तर अहिले आफूले गरेको निर्णय गलत भएको भन्दै परिमार्जन गर्नु स्वागतयोग्य रहेको बताउनु भयो ।

उहाँले सरकार र राष्ट्र बैंकले निजी क्षेत्रको मनोबल उच्च बनाउने काम गरे अर्थतन्त्र पनि सकारात्मक बन्ने बताउनु भयो । उहाँले मुलुकको अर्थतन्त्र निजी क्षेत्रको कारणले मात्रै नभएर सरकार र नियमनकारी निकायहरुको नीतिको कारण अर्थतन्त्र अहिलेको अवस्थामा पुगेको भन्दै अर्थतन्त्रलाई लयमा ल्याउनको लागि सबै मिल्नुको विकल्प नभएको बताउनु भयो । उहाँले नेपालको जनसंख्याको १ प्रतिशत मानिसहरु पुँजीबजारमा आवद्ध भएकाले सरकारले बेवास्ता गर्न नमिल्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘कोभिडपछि सहज रुपमा बैंकबाट कर्जा लिएको कारण अर्थतन्त्रमा समस्या आएको हामीलाई आरोप छ । तर वास्तविकतामा त्यस्तो होइन । सहज रुपमा कर्जा पाउँदा सहज रुपमा खर्च भयो होला । बैंकहरुले त्यो बेला सहज रुपमा कर्जा विस्तार गर्ने र नियमनकारी निकायहरुले पनि नियमन गरेका नै हुन् । त्यो दोष निजी क्षेत्रलाई मात्रै दिन मिल्दैन । अर्थतन्त्रमा जुन चुनौति र समस्या आयो त्यसमा सबै पक्षको दोष छ । सरकार,नियमनकारी निकाय राष्ट्र बैंक र निजी क्षेत्र मिलेर अहिलेको समस्या भन्दा बाहिर आउनुपर्छ । अहिले मानिसहरुको मनोबल कमजोर भएको अवस्था छ । राष्ट्र बैंकको नीति आज एउटा आयो भोलि अर्को कस्तो आउने हो भन्ने व्यवसायीहरुलाई त्रास भइरहेको अवस्था छ । उद्योगी व्यवसायीहरुको मनोबल बढाउनको लागि प्रणालीलाई सुधार गर्दै लैजानुपर्ने सुझाव दिँदै आएका छौं । निजी क्षेत्रले दिएका सुझावहरु पहिला सुनिएन तर अहिले निजी क्षेत्रले दिएका सुझावहरु निजी क्षेत्रको स्वास्र्थको लागि मात्रै होइन रहेछन् भन्ने कुरा सरकार र राष्ट्रले अहिले आएर बुझ्न थालेको छ । त्यसैले अर्थतन्त्रलाई पहिलाकै लयमा फर्काउनको लागि एउटै एजेण्डा लिएर अगाडि बढ्नुपर्छ । नेपालको जनसख्याको १ प्रतिशत ६० लाख मानिसहरु शेयर बजारमा आवद्ध छन् । ६० लाख आवद्ध भएको व्यवसायलाई सरकारले इग्नोर गर्न मिल्दैन । राष्ट्र बैंकले केही दिन पहिला राष्ट्र बैंकले पुँजीबजारका विषयमा गरेको निर्णय गलत रहेछ भन्ने लागेर परिमार्जन भएको छ । नीति परिमार्जन भएसँगै आशा जगाउने काम भएको छ ।’

त्यस्तै,नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले घरजग्गा व्यवसायलाई उद्योगको रुपमा परिणत गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले घरजग्गा व्यवसाय विश्वमा नै मान्यता भएको व्यवसाय भएकाले उद्योगको रुपमा विकास गर्न जरुरी रहेको बताउनु भयो । उहाँले घरजग्गा व्यवसायले विश्वलाई सहरीकरण गर्ने काम गर्ने भन्दै नेपाललाई पनि शहरीकरण गरी व्यवस्थित गर्ने काम गरिरहेको बताउनु भयो। उहाँले सरकारले घरजग्गा व्यवसायीहरुलाई हेलचेक्राँई गर्ने र प्रतिष्ठित व्यवसायीहरुलाई पनि दलालको जस्तो व्यवहार गर्ने काम भइरहेको बताउनु भयो । उहाँले घरजग्गा व्यवसायलाई सरकारले हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘घरजग्गा व्यवसायलाई उद्योगको रुपमा परिणत गर्नुपर्छ । यो व्यवसाय विश्वमा नै मान्यता भएको व्यवसाय हो । जसले विश्वलाई सहरीकरण गर्ने काम गर्छ । यसले नेपाललाई शहरीकरण गरी व्यवस्थित गर्ने काम गरिरहेको छ । यसलाई जुन किसिमले हेलचेक्राँई गर्ने प्रतिष्ठित व्यवसायीहरुलाई पनि दलालको जस्तो व्यवहार गर्ने काम उपयुक्त भएन । घरजग्गा व्यवसायलाई सरकारले हेर्ने देष्टिकोण परिवर्तन गर्नुपर्छ । घरजग्गा व्यवसायलाई व्यक्तिगत कर्जामा लोन टु भ्यालु ५० प्रतिशत र शेयर कारोबारमा व्यक्तिगत १५ र संस्थागत २० करोड बनाएको छ । राष्ट्र बैंकले जति पनि गरिरहेको छ त्यो खुद्रे हिसाबले गरिरहेको छ । उद्योग र घरजग्गा व्यवसायीहरुको लागि हकबन्दी लागू गर्नु हुँदैन ।’

त्यस्तै,नेपाल जग्गा तथा आवास विकास महासंघका पूर्वअध्यक्ष मिनमान श्रेष्ठले अर्थतन्त्र चलायमान बनाउन राष्ट्र बैंकले प्रत्यक्ष लगानीको अवधि र रकम तोक्नुपर्ने बताउनु भयो । उहाँले अन्य क्षेत्रमा अवधि तोकेर लगानी गर्न प्रोत्साहन गरिरहेको अवस्थामा घरजग्गा क्षेत्रमा भने अवधि नतोकेकाले अवधि तोकेर अर्थतन्त्र चलायमान बनाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले सरकारले यस क्षेत्रलाई २०८४ सम्ममा अनिवार्य प्रत्यक्ष लगानीका लागि यति प्रतिशत लगानी गर भन्ने निर्देशन आउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘अहिले यस क्षेत्रमा प्रत्यक्ष ३ प्रतिशतको हाराहारीमा लगानी भएको पाइन्छ । यसअघि राष्ट्र बैंकले रियल इस्टेट क्षेत्रमा १० प्रतिशत र हाउजिङमा १५ प्रतिशत पु¥याउनुपर्ने व्यवस्था गरेको थियो तर त्यो लागू छ वा छैन थाहा छैन । अब अर्थतन्त्र चलायमान बनाउने हो भने सरकारले २०८४ सम्ममा रियल इस्टेट क्षेत्रमा ५ प्रतिशत र हाउजिङमा ५ प्रतिशत लगानी गर्नुपर्ने निर्देशन जारी गर्नुपर्छ । सरकारले तोकेको अवधिभन्दा लगानी बढी भएको अवस्थामा नियामक निकायले कडाइ गर्नसक्छ । सरकारले ३० प्रतिशतको अनुपातलाई ५० प्रतिशत पु¥याएको छ । त्यसमा घर कर्जामा ६० प्रतिशत पु¥याइएको छ । राष्ट्र बैंकले कारोबार बढाउन ७० प्रतिशत हुनुपर्ने माग हो । उक्त व्यवस्था नहुँदासम्म कारोबारले गति लिनेछैन ।’

उहाँले सरकारले प्रत्यक्ष लगानीको निर्देशन दिने हो भने बजारमा १० खर्ब रकम आउने र अर्थतन्त्र चलायमान हुने दाबी गर्नुभयो । उहाँले अहिले घरजग्गा बिक्री नहुँदा अर्थतन्त्र चलायमान हुन नसकेको बताउनु भयो। उहाँले राष्ट्र बैंकको निर्देशनले कर्जाको अनुपात बढाएको तर उक्त व्यवस्थाले कारोबारमा कुनै प्रभाव नपर्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?