लेख्ने र लेखक बन्ने रहर धेरैलाई हुन्छ । जीवनमा केही लेख्ने कोसिस धेरैले गरेका हुन्छन् तर लेख्दैमा मात्र पनि कोही लेखक बन्दैनन् । लेखेका सबै कुरा सिर्जना पनि हुँदैनन् । लेख्नेहरू सबै लेखक पनि होइनन् । यसो त लेखनदासले जीवनमा धेरै लेखेको हुन्छ, तर ऊ लेखक होइन । लेख्ने रहर गर्दैमा मात्र पनि सबैले लेख्न सक्दैनन् । सिर्जनाका लागि भावना र कल्पना चाहिएजस्तै सिर्जनालाई लिपिबद्ध गर्न लेखनशिल्पको पनि जरुरत पर्दछ । यस्तो लेखनशिल्प कसैमा हुन्छ, कसैमा हुँदैन तर थोरै र धेरैको कुरा मात्रै हो, भावना र कल्पना भने सबै मान्छेमा हुन्छ । कसैले आफ्नो भावना र कल्पनालाई शब्दमा लिपिबद्ध गर्छन् । कसैले सङ्गीतमा लय भर्छन् । कसैले गलाको उपयोग गरी गायनमा उतार्छन त कसैले कलामा रङ्ग भर्छन् ।
साधना र अभ्यासको मद्दतले आफ्ना भावना र कल्पनालाई विभिन्न माध्यमबाट व्यक्त गर्न सकिन्छ । लेखक अथवा कलाकार जे बन्न पनि मनमा भावना र कल्पना चाहिँ हुनैपर्छ । हृदयका भावना र कल्पनालाई लिपिबद्ध गरेपछि त्यो सिर्जना बन्छ । अझ शिल्पका माध्यमले त्यसलाई सजाउन सकिएमा त्यो स्तरीय सिर्जना बन्न सक्छ र प्रभावशाली सर्जक पनि बन्न सकिन्छ । सबैभन्दा मुख्य कुराचाहिँ भावना र कल्पना नै हो ।
भावना र कल्पना भएका सर्जक हुन् हरिकृष्ण बखुन्छे । यद्यपि भावना र कल्पना यथेष्ट भइकन पनि उनमा लेखनशिल्पको भने कमी देखिन्छ । भला निरन्तर अभ्यासले यो शिल्पलाई तिखार्न सकिन्छ । सर्जक हरिकृष्ण बखुन्छेमा अत्यन्तै प्रेमिल मन छ । त्यो प्रेमिल मनभित्र अथाह प्रेमको खानी छ । त्यही प्रेमको खानीबाट प्रेमका अजस्र भावनाहरू छताछुल्ल भएर पोखिएका छन् उनको गीतिकवितासङ्ग्रह ‘रोशी’ मा । साँच्चै प्रेमिल भावनाहरूको सुन्दर पूञ्ज बनेको छ ‘रोशी’ । यद्यपि उनका गीत अर्थात् गीतिकविताहरूमा लेखनशिल्प र कलात्मकताको अभाव भने टड्कारो महसुस हुन्छ । ख्यातिप्राप्त गीतकारहरूका गीतहरूको अध्ययन गर्दै त्यसको संरचनागत शिल्पहरूलाई आफ्ना गीतहरूमा पनि प्रयोग गर्दै गए बखुन्छेका गीतहरू शिल्पका दृष्टिकोणबाट पनि स्तरीय हुनेमा विश्वस्त हुन सकिन्छ ।
हरिकृष्ण बखुन्छेभित्र अटेसमटेस प्रेमिल भावनाहरू छन् । उनी ती भावनाहरूलाई गीत बनाएर पोख्न आतुर देखिन्छन् । गीतको शिल्प र संरचनागत ज्ञानका बाबजुद पनि उनले गीत लेखेका छन् । केही साँच्चैका गीत बनेका छन् । केही भने गीत नभएर कविताजस्ता पनि भएका छन् ।
गीतकार हरिकृष्ण बखुन्छेका प्रेमिल मनका उस्तै प्रेमिल भावनाहरूमा प्रेम, विछोड, विरह, वेदना, दुःख, पीर, चिन्ता, आँशु, हाँसो र गुनासोहरू पोखिएका छन् । मनका प्रेमिल भावनालाई लिपिबद्ध गर्ने क्रममा उनका गीतहरूमा संरचनागत त्रुटिहरू प्रशस्त भेटिए पनि भावना र संवेदनमको पक्ष भने निक प्रबल रहेको पाइन्छ । वास्तवमा सिर्जनामा संरचनाभन्दा भावना मुख्य कुरा हो । भावनालाई अभिव्यक्त गर्ने अभ्यास निरन्तर जारी रहे सिर्जनाको संरचनामा सुधार गर्न सकिन्छ । गीतकार हरिकृष्ण बखुन्छेका सन्दर्भमा पनि यही कुरा लागू हुन्छ । हृदयमा भावना भए त्यसलाई व्यक्त गर्ने अभ्यास गर्दै गए जुनसुकै विधागत संरचनामा सुन्दर सिर्जना गर्न सकिन्छ । खालि अभ्यास र लगनको भने आवश्यकता पर्छ ।
पैसाको अभावको पीडाभन्दा प्रेमको अभावको पीडा अझै असहृय हुन्छ । पैसाले जिन्दगीलाई रङ्गीन र सहज त बनाउला, तर सुन्दर, सुखी, खुशी र सन्तुष्ट भने बनाउन सक्दैन । प्रेमले जिन्दगीलाई सुन्दर बनाउन सक्छ । सुख, खुशी र सन्तुष्टि पनि प्रदान गर्न सक्छ । यही भाव गीतकार हरिकृष्ण बखुन्छेका प्रेमिल र सरल गीतहरूमा पाउन सकिन्छ । अझ मानवीय संवेदना उनका गीतहरूमा निकै प्रखर रूपमा आएको पाउन सकिन्छ । गीत स्वाभाविकरूपमा प्रेमभावले ओतप्रोत हुन्छन् । अनि गीतमा प्रियतम र प्रियसीका कुरा हुन्छन् । प्रेम, मिलन र वियोगका कुरा हुन्छन् । प्रेमिल मनका सुकोमल भावनाहरू गीतमा अभिव्यक्त हुने हुँदा गीत पनि प्रेमिल नै हुन्छन् । यस्तो गीतको पठन र श्रवणले मनलाई आनन्द दिन्छ ।
गीतकार बखुन्छेका गीतहरूमा पनि प्रेमिल मनका सुकोमल भावहरू छन् तर उपयुक्त शब्दचयन, अन्त्यानुप्रास, गेयात्मकता र संरचनात्मक दृष्टिकोणले गीतहरू कमजोर लाग्छन् । यी कुराहरूमा गीतकार बखुन्छे सचेत हुनु जरुरी छ र आगामी दिनमा गीत लेखनमा उपर्युक्त विषयहरूमा ध्यान पु¥याउनु आवश्यक देखिन्छ । भावनात्मक दृष्टिकोणले निकै सशक्त गीतहरूलाई शिल्प र संरचनाको दृष्टिकोणले पनि सशक्त बनाउन सके अब्बल दर्जाको गीत बन्नेमा कुनै सन्देह छैन । सङ्ग्रहमा प्रेमी अथवा प्रेमिकालाई सम्बोधन गरेर लेखिएका गीतहरूकै बाहुल्यता छ । जस्तै :
एकै छिन सपनीमा देखेँ हजुरलाई
आत्तिएर दिनै भरि खोजेँ हजुरलाई । (पृष्ठ १६)
तिम्रो माया कलमले पानाभरि लेखिरहेँ
दिन ढल्यो रातमा नि जूनभित्र देखिरहेँ । (पृष्ठ १७)
संसारका सबै सिर्जना प्रेमका परिणाम हुन् । यहाँसम्म कि जीवन नै प्रेमको परिणाम हो । त्यसैले प्रेमविनाको जीवन र प्रेमबिनाको संसारको कल्पना गर्न सकिन्न । बखुन्छेका गीतहरूमा यही शाश्वत प्रेम र प्रेमको महत्वलाई सुकोमल भावहरूमार्फत् व्यक्ति गरिएका छन् । कतै–कतै प्रेममा विश्वास र अविश्वासका कुरा पनि आएका छन् । जस्तै :
दुःख बिसाउँछु भनेँ चौतारीको वरै छैन
माया गर्छु मात्रै भन्ने, निष्ठुरीको भरै छैन । (पृष्ठ २)
मानिस खुशी हुँदा गीत गुनगुनाउँछ भने दुःखी हुँदा पनि गीतबाटै सुस्केरा हाल्छ । त्यसैले सुखका र दुःखका दुवै खाले गीतको सिर्जना हुने गरेको छ । बखुन्छेले पनि यस्तै गीत लेखेका छन् । गीतमा अति सामान्य र सरल शब्दहरूको प्रयोग भएको छ । बिम्ब र प्रतीकको प्रयोग शून्यजस्तै छ । जसले गर्दा प्रेमिल मनका सुकोमल भावना भइकन पनि बखुन्छेका गीतहरू त्यति मीठासयुक्त भने हुन सकेका छ्रैनन् । सरल शब्दहरूमा गहन विषयको उठान भए पनि त्यसमा शब्दचयन, बिम्बको प्रयोग, संरचनागत सीमामा सजग हुन नसक्दा गीतहरू दमदार हुनबाट चुकेका छन् । गीतकार बखुन्छेले जीवनको यथार्थलाई गीतमा प्रस्तुत गरेका छन् । जस्तै :
यो कस्तो माया आज सँगै हिँडेको छु
भोलि दोबाटोमा छुट्टिनु छँदैछ्
आँखा आँखा जुधाएर सँगै हिँडेको छु
भोलि मुटु गाँठो पारी रुनु छँदैछ । (पृष्ठ ३६)
बखुन्छेका कुनै गीत गजलजस्ता पनि छन् । गजलकै स्वाद दिने खालका । तर कुनै कुनै गीत यस्ता पनि छन्, जुन न गीतजस्ता छन्, न त गजलजस्ता छन् । गेयात्मकता नभएका गद्यकविताजस्ता गीत पनि छन् । गीतको संरचनालाई सोचेर होइन, मनको भावनालाई पक्रेर गीत लेखेका छन् बखुन्छेले । त्यसैले गीतमा संरचनाको सङ्गतिभन्दा भावनाको व्याप्ति बढी छ । गीतमा भावनाको व्याप्ति नै गीतकार बखुन्छेको गीतिकारिताको विशेषताको रूपमा आएको छ । नयाँ पुस्ताले साहित्यका पुराना विधागत संरचनाहरूलाई भत्काएर आफूखुशी साहित्य सिर्जना गरिरहेका छन् ।
भावना र कल्पना भएका सर्जक हुन् हरिकृष्ण बखुन्छे । यद्यपि भावना र कल्पना यथेष्ट भइकन पनि उनमा लेखनशिल्पको भने कमी देखिन्छ । भला निरन्तर अभ्यासले यो शिल्पलाई तिखार्न सकिन्छ । सर्जक हरिकृष्ण बखुन्छेमा अत्यन्तै प्रेमिल मन छ ।
साहित्यमा आएको यस्तो क्रमभङ्गतालाई पाठकले रुचाएका पनि छन् तर बखुन्छेको गीत लेखनमा त्यस्तो क्रमभङ्गताको आग्रह छैन । बखुन्छेको गीतलेखनमा गीतको शिल्पगत एवम् संरचनागत ज्ञानको कमी देखिन्छ । भावनाको भेलमा बग्दैबग्दै लेखिएका गीतहरूमा भावनाको गहिराई छ, जहाँ डुबुल्की मार्नुको आनन्द प्राप्त गर्न सकिन्छ । सुकोमल भावनाले सजिएका गीतहरूले हृदयलाई मीठोसँग स्पर्श गर्छन् तर मस्तिष्कलाई हल्लाउने ल्याकत भने बखुन्छेका गीतमा छैन ।
हरिकृष्ण बखुन्छेभित्र प्रेमिल मन छ । त्यो मनभित्रा अटेसमटेस प्रेमिल भावनाहरू छन् । उनी ती भावनाहरूलाई गीत बनाएर पोख्न आतुर देखिन्छन् । गीतको शिल्प र संरचनागत ज्ञानका बाबजुद पनि उनले गीत लेखेका छन् । केही साँच्चैका गीत बनेका छन् । केही भने गीत नभएर कविताजस्ता पनि भएका छन् । त्यसैले उनले गीतिकविता सङ्ग्रह भनेका हुन् भन्ने जस्तो लाग्छ । गीति संरचनाको थोरै ज्ञान हासिल गरेर गीत लेख्न थाले हरिकृष्ण बखुन्छेबाट अब्बल दर्जाका गीतहरूको सिर्जना हुने अपेक्षा गर्न सकिन्छ । उनलाई हौसलाको खाँचो छ । यी पङ्तिहरू पनि उनलाई गीत लेखनमा थप हौस्याउने उद्देश्यले नै लेखिएका हुन् । शुभकामना !
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच