नाडाद्वारा अर्थमन्त्रीलाई ध्यानाकर्षण

फाइल तस्बिर

Read Time = 6 mins

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापा नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री प्रकाशशरण महतसँग भेट गरी अटोमोबाइल क्षेत्रका समसामयिक समस्याबारे ध्यानाकर्षण गराएको छ ।

सो अवसरमा अध्यक्ष थापाले सवारीसाधनलाई सरकारले विलासिताका वस्तुमा वर्गीकरण गरी सोहीअनुरूप नीति निर्माण भइरहेको गुनासो गर्दै सवारीसाधनलाई सो वर्गीकरणबाट हटाउन आग्रह गर्नुभयो । उहाँले अटो लोन/हायर पर्चेज कर्जामा जोखिम भार १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनुपर्ने अर्थात् ७५ प्रतिशत नै कायम गरिनुपर्ने माग गर्नुभयो । साथै थापाले सार्वजनिक महत्वका सवारीसाधन आमसर्वसाधरण जनताले प्रयोग गर्ने र त्यसले उनीहरूको दैनिक जीवनमा समेत प्रभाव पार्ने भएकाले भाडामा चल्ने सार्वजनिक सवारीसाधनमा लाग्ने भन्सार तथा अन्तःशुल्क महसुल घटाउनुपर्ने, अटोमोबाइल स्पेयर पाटर््सको चोरी पैठारी नियन्त्रण गर्नुपर्ने माग पनि गर्नुभयो ।

मन्त्री महतले आफू धेरै अप्ठ्यारो परिस्थितिमा आएको भन्दै अटोमोबाइल व्यवसायीका समस्या सम्बोधनका लागि नेपाल राष्ट्र बैंकसँग सल्लाह गर्ने आश्वासन दिँदै अटोमोबाइलका समस्याबारे आगामी बजेट सुझावमा समावेश गरी पठाउन आग्रह गर्नुभयो । उहाँले अटोमोबाइल व्यवसायीलाई विद्युतीय सवारीसाधन उत्पादन र बिक्रीमा यथोचित ध्यान दिन सुझाव दिनुभयो । अध्यक्ष थापाले भने विद्युतीय सवारीसाधन प्रयोगलाई प्रोत्साहित गर्न त्यसमा लाग्ने भन्सार तथा अन्तःशुल्क महसुलमा थप छुट दिन अनुरोध आग्रह गर्नुभयो । नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले सार्वजनिक महत्वका सवारी तथा ढुवानीका सवारीसाधन डिजेलबाट चल्ने र हाल डिजेलको भाउ उच्च बिन्दुमा पुगेका कारण त्यसको प्रत्यक्ष नकारात्मक प्रभाव बजारमा परेको भन्दै डिजेलबाट चल्ने सवारी तथा ढुवानीका साधनमा लाग्ने महसुल घटाउन आग्रह गर्नुभयो ।

सो अवसरमा नाडाका सचिव विक्रम सिंहानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल, सुदूरपश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष तथा नाडाका केन्द्रीय कार्यसमिति सदस्य पुष्कर ओझा, केन्द्रीय कार्यसमिति सदस्य तथा राजस्व समितिका सभापति आकाश गोल्छाको उपस्थिति थियो ।

ब्याजदर घटाउन माग
नेपाल व्यवसायी राष्ट्रिय महासंघले बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदर घटाउन अर्थमन्त्रीलाई ध्यानाकर्षण गराएको छ । महासंघको टोलीले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटेर कोरोनाले थलिएका उद्योगी व्यवसायी बैंक तथा वित्तीय संस्थाले चर्को ब्याजका कारण व्यवसायबाटै पलायन हुनुपर्ने अवस्था आएको भन्दै ब्याजदर घटाउन माग गरेको हो ।

संघका अध्यक्ष कुमार कार्कीले सात, आठ प्रतिशतमा लिएको कर्जा ब्याजदर हाल १५/१६ प्रतिशतसम्म पुगेको र व्यवसायी थप मर्कामा परेको बताउनुभयो । मुलुकमा व्यवसायको वातावरण निर्माण गर्न ब्याजदर एकल अंकमा कायम गरिनुपर्ने महासंघको माग छ । महासंघले करका दर, भन्सार दरबन्दी घटाउनुपर्ने, विदेश पलायन हुँदै गएका युवालाई सीपमूलक तालिम प्रदान गरी स्वदेशमै रोजगारीको व्यवस्था गर्नुपर्ने, युवा जनशक्तिलाई कृषिजन्य उत्पादनसँग जोड्नुपर्ने, उद्योगी र किसानबाट उत्पादित सामान सहजै बजारसम्म लैजाने वातावरण निर्माण गर्न आग्रह गरेको छ ।

त्यस्तै, राजधानीलगायत देशभरका प्रमुख व्यापारिक केन्द्रको पार्किङ र फुटपाथ व्यवस्थित गर्नुपर्ने, भन्सार नाकामा हुने समस्या समाधान गर्नुपर्ने, वैज्ञानिक घरभाडा लागू तथा महिला तथा युवा उद्यमीलाई सहुलियत कर्जा कम्तीमा २५ लाख उपलब्ध गराउन माग गरेको छ ।
अर्थतन्त्र अघि बढाउन रुग्ण रहेको स्वदेशी उद्योगलाई चाँडो सञ्चालन गर्नुपर्ने, निजी क्षेत्रको व्यवसायीको समस्या समाधान गर्न सबै क्षेत्रका उद्योगी व्यवसायी समावेश गरी एक उच्चस्तरीय समिति गठन गर्नुपर्ने, आयकर र मूल्य अभिवृद्धि कर घटाउनुपर्ने, बैंक तथा वित्तीय संस्थाले घरजग्गा लिलाम गर्दा ३५ दिने सूचना दिएर लिलाम गर्दै आएकोमा लिलाम अवधि कम्तीमा छ महिना बनाउनुपर्ने पनि महासंघको माग छ । अर्थमन्त्री महतले उद्योगी व्यवसायीले राखेका माग समाधानका लागि आफूले पहल सुरु गरिसकेको बताउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?