काठमाडौं । शरद ऋतुको रमणीय आगमन । उत्सवको माहोल छ यतिबेला । यस वर्षको दशैँ सबैको घरपरिवारमा पुगिसकेको छ । गाउँघर, शहरबजार सबैतिर दशैँको आगमनसँगै खुसीयाली छाएको छ । वैदेशिक रोजगारमा गएकाहरू पनि घर फर्कन थालेका छन् । अहिले बाहृय देशबाट नेपाल आउने र नेपालभित्रै पनि आफ्नो मूलघर फर्कनेको ताँती नै लागेको छ । जहाज र बसको टिकट पाउन मुस्किल हुँदै गएको छ । दशैँका लागि बजारमा सामानहरू किनमेल गर्नेहरूको भिडभाड छ । यतिबेला वर्षात्का बादलहरू फाट्नेक्रममा छन् । मौसम क्रमशः सफा हुँदै गरेको छ र जसले आमन्त्रण गरिरहेको छ शरदकालीन पर्वहरू । नेपालीहरूको प्रमुख चाड दशैँ २०८० संघारमा छ । यो पर्वलाई खासगरी असत्यमाथि सत्यको जितका रूपमा अंगिकार गरिँदै आएको छ । यही उत्सवमा कला क्षेत्रका व्यक्तित्वहरू पनि आ-आफ्नो योजनामा लाग्नुभएको छ यो उत्सव मनाउन । कोही विदेशका कार्यक्रममा व्यस्त हुँदै हुनुहुन्छ भने कोही घरपरिवार, नाता कुटुम्बसँग मिलेर यो पर्वलाई उत्सव बनाउँदै हुनुहुन्छ । आउनुहोस् जानौँ कसले कसरी मनाउँदै हुनुहुन्छ बडादशैँ २०८० लाई ।
विशेष उत्सवका साथ हामी यो पर्व मनाउँछौँ : उत्तम केसी, वरिष्ठ कलाकार
सधैँ जस्तै यो वर्ष पनि घरपरिवारमा रमाइलो गरेर दशैँ मनाउँदै छौँ । एउटा छोराबुहारी बाहिर छन् । एउटा छोरा हामीसँगै छन् । दाजुभाइ हामी चारजना छौँ । परिवार ठूलै छ । सबैजना जम्मा भएर मनाउँदै छौँ । माहिलो भाइ अष्ट्रेलिया छोराबुहारी भेट्न र दशैँ मनाउन गएका छन् । अरू यतै छौँ । म जेठो भएकाले सबै हाम्रोमा जम्मा हुन्छौँ । पूजाआजा मेरोमै हुन्छ । सबैको जमरा मेरो घरमा नै हुन्छ । मेरा दुई दिदी र बहिनी एकजना हुनुहुन्छ । उहाँहरू पनि आउनुहुन्छ । यसपालि साइलो भाइका छोरीज्वाइँको दशैँ पनि मेरै घरमा मनाइँदै छ । उनीहरूको पहिलो दशैँ हो । यस्तै कान्छो भाइको छोरो किरण पनि दशैँ मनाउन विदेशबाट आइपुगेको छ । विशेष उत्सवका साथ हामी यो पर्व मनाउँछौँ । घरमा मनाएर ससुराली जान्छु । यस्तै-यस्तै गरेर दशैँ मनाउने योजनामा छु । पछिल्लो समय दशैँको रौनकमा केही कमी भएजस्तो महसुस गरेको छु मैले । यसको परम्परालाई कायम राख्दै नयाँ पुस्तालाई हाम्रा धर्म, संस्कृति र संस्कार हस्तान्तरण गर्ने तपाईं-हामी सबैको कर्तव्य हो ।
दशैँमा मौसमसँगै परिवेश नै अर्कै भएको महसुस हुन्छ : शेखर खनाल, कलाकार
दशैँ नेपालीहरूको आफ्नै मौलिक पर्व हो । यसको संस्कार र संस्कृतिलाई अक्षुण्ण राख्ने हाम्रो कर्तव्य हो । दशैँको माहोल सुरु हुनासाथ एकखालको फरकपनको अनुभूति हुन्छ । मौसमसँगै परिवेश नै अर्कै भएको महसुस हुन्छ । यो हाम्रो लौलिक पर्व हो । यसपालि दशैँमा बाँके घरमा जाँदैछु । सपरिवार दशैँ मनाउने हाम्रो परम्परा हो । शहरबजारमा भएका र देशबाहिर भएका पनि आफ्नो गाउँघरमा पुगिसकेका छन् । ठूलाबडासँग आशीर्वाद लिने, पारिवारिक जमघट हुने यसको विशेषता रहेको छ ।
दशैँलाई आधुनिकताको बर्कोले छोप्नुहुँदैन : कन्हैया सिंह परियार, गायक
म पछिल्लो समय अमेरिकाको बाल्टिमोरमा बस्दै आएको छु । नेपाल आएको केही दिन भयो । म प्रत्येक वर्ष आउने गर्छु । कहिलेकाहीँ ६/६ महिनामा पनि आउँछु । यसपालि संजोग दशैँ परेको भए पनि मेरा माइला काका बित्नु भएकाले दशैँ भने छैन । दशैँको आफ्नै मौलिकता छ, यसको जगेर्ना गर्नुपर्छ भन्ने लाग्छ । आधुनिकताको बर्कोले यसलाई छोप्नुहुँदैन । परिवार जम्मा हुने, सेलरोटी पकाउने, टीका लाउने आफ्नै विशेषता छ । यसलाई बचाइराख्नुपर्छ ।
माता दुर्गाको आराधना गरेर यो पर्व मनाउँदै छौँ : सरिता राजोपाध्याय, कलाकार
सधैँ जस्तै यसपालिको दशैँ सपरिवार रमाइलो गरेर मनाउँदै छौँ । माता दुर्गाको आराधना गरेर यो पर्व मनाउँदै छु । अरू बेला सुटिङतिर व्यस्त भएकाले परिवारलाई समय दिन पाइँदैन । यो समय उपयुक्त छ । सात्विक भोजन गरिन्छ । काटमार चल्दैन हाम्रोमा ।
साथीहरूसँग भेटघाट गर्ने, बुबाआमाको हातबाट टीका लगाउने : सीताराम पोख्रेल, गायक
यसपालिको दशैँमा विराटनगर जान्छु । बुबाआमाको हातबाट टीका लगाउने, आशीर्वाद लिने, काली मन्दिर गएर पूजा गरिन्छ । साथीहरूसँग भेटघाट गर्ने, खाने काम हुन्छ दशैँमा । माता दुर्गासँग आशीर्वाद माग्ने नेपाली गीत संगीतको जय होस् भनेर । मेरो हालै नयाँ गीत श्रोता/दर्शकमाझ आएको छ । हेरेर र सुनेर प्रतिक्रिया दिनुहुन अनुरोध गर्दछु ।
दशैँको मुखसम्म नै कार्यक्रम : दीपक घिमिरे, मोडल
मेरो यसपालि दशैँको मुखसम्म नै कार्यक्रम छ । चंगा उडाउने काम सुरु नै भएको छ । चंगा चेटमा दश हजार पनि जितियो । घरमा साथीहरू बोलाउने, रमाइलो गर्ने योजना छ । ठूलाबडाको हातको टीका लगाउने, आशीर्वाद लिने त गरिन्छ नै ।
आफन्तसँग भेट्ने, रमाइलो गर्ने : सुनिता कुँवर, ट्याटु आर्टिस्ट
दशैँ भन्नासाथ बच्चा बेलाको याद आउँछ । एकदम रमाइलो लाग्छ मलाई दशैँको मौसम पनि । माता दुर्गाको पूजा गरेर, आमाबाबा र मान्यजनको हातबाट टीका लगाउने, आफन्तसँग भेट्ने, रमाइलो गर्ने, दशैँमा अरूबेला कामको व्यस्तताले भेट्न नपाएका साथीहरू पनि भेटिन्छन् ।
दशैँमा पाथिभरा माताको दर्शन गर्ने योजना छ : सारिका घिमिरे, गायिका/नायिका
यसपटकको दशैँमा पाथिभरा माताको दर्शन गर्ने योजना छ । हामी साथीहरू मिलेर पाथिभरा जाँदै छौँ । यसपालिको दशैँमा घुम्ने, रमाइलो गर्ने साथै मान्यजनको हातबाट टीका लगाउने । दशैँको रौनक सानो बेला जस्तो थियो अहिले त्यस्तो भएको लाग्दैन ।
विगत वर्षभन्दा यो वर्षको मेरो दशैँ विशेष छ : काव्य आचार्य, गायिका
मेरो यसपटकको दशैँ रमाइलो हुन्छ । १२ वर्षपछि टीका लगाउँदै छु । कपिलवस्तु घरमा आफन्तको हातबाट टीका-जमरा लगाउँदै छु । साथीहरूसँगको भेटघाटले उत्साह थप्छ दशैँमा । यसपालिको दशैँ मेरा लागि अर्को विशेष महत्वको छ । त्यो के हो भने म दशैँमा पाथिभरा माताको दर्शन गर्न जाँदै छु । समग्रमा विगत वर्षभन्दा यो वर्षको दशैँ विशेष छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच