मुगु सामुहिक हत्या प्रकरण : हत्याराको नजिक पुगेको प्रहरीकाे दावी

हिमालय टाइम्स
Read Time = 3 mins

-नृपेन्द्र बहादुर मल्ल

मुगु । मुगु जिल्लाको मन्दु गाउँमा तीन सन्तानसहित आमाको हत्या प्रकरणमा प्रहरी अनुसन्धान हत्यारा नजिक पुगेको दावी गरिएको छ ।

कुकुरसहित अनुसन्धानमा परिचालित प्रहरी अहिले घटना घटेको स्थान छायाँनाथ रारा नगरपालिका-६ मन्दु गाउँ वरपर अनुसन्धानमा तल्लिन छन् । प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार अहिले प्रहरीले महत्वपूर्ण प्रमाण फेला पारिसकेको भएपनि अझै अनुसन्धान भने जारी राखेको हो ।

'हामीले महत्वपूर्ण प्रमाण भेटाएका छौं । हामी अहिले शंका लागेकालाई सोधपुछ गर्ने देखि नियन्त्रणमा लैजानेसम्मका काममा लागेका छौं । अनुसन्धान नजरमा परेकाहरुको घटनासङ्ग संलग्न रहेको सत्य, तथ्य र प्रमाणित प्रमाण जुटेपछी नियन्त्रणमा लिइ हामी तपाईहरुलाई जानकारी दिन्छौं । अहिले सबै कोणबाट अनुसन्धान गरिरहेका छौं, यति भनौं हामी हत्यारा नजिक नजिक पुगेका छौं,' प्रनाउ थापाले भन्नुभयाे ।

प्रनाउ थापाका अनुसार हत्या गरिएका चारै जनाको शव जिल्ला अस्पताल मुगुमा राखिएको छ । सम्भवतः आइतबारै चारै लासको पोष्टमार्टम हुनेछ ।

शुक्रबार मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै फेला परेको थियो । उनीहरुको धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको थियो ।

मृतक आमा श्रीदेवी छोराछोरीसहित ७ गते नै दसैंको टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएकी थिइन् । माइतीबाट टिका, जमरा लगाइसकेपछि उनी ८ गते बेलुका नै घर फर्किएकी थिइन् । सोही राति सामूहिक हत्या गरिएको हुन सक्ने प्रहरीले बताइएको छ ।

मृतकका श्रीमान दिपक बोहोरा वैदेशिक रोजगारिमा कतार रहेपनी घरमा श्रीमतीसहित छोरा छोरीको हत्या भएको खबर पाएपछी शुक्रबार राती काठमाडौं विमानस्थल ओर्लेर शनिवार मुगु पुग्नु भएको थियो । हत्याको अनुसन्धान गर्न नेपाल प्रहरिको विशेष अनुसन्धान टोली परिचालित छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?