जिल्ला बाहिर जान हुम्लीलाई सास्ती, पहुँचका भरमा मनपरी टिकट वितरण

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 4 mins

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा सेवा दिँदै आएका निजी एयरलाइन्सले मनपरी टिकट वितरण गर्दा यात्रुले सास्ती खेप्नु परेको छ । नेपालगञ्जबाट उडान गर्दै आएको सीता एयरलाइन्सले मङ्गलबार दुई उडान भरेपनि दोस्रो फलाइटको टिकट मनपरी वितरण गरेको यात्रुको गुनासो छ । पहिलो उडान नेपालगञ्ज गरेर विकट जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा पुगेपनि एयरलाइन्सका कर्मचारीले फोन र फेसबुक म्यासेन्जरका आधारमा टिकट वितरण गरेको यात्रुको गुनासो छ । पहिलो फलाइटको टिकट सबैलाई मिलाएर वितरण गरेपनि दोस्रो फलाइटको टिकट कर्मचारीले मनपरी वितरण गरेको आरोप छ ।

एक हप्तादेखि टिकटका लागि सिमकोट विमानस्थलमा पुगेपनि फोनका आधारमा पहुँचवालाले मात्रै टिकट पाउने गरेको यात्रु राजबहादुर परियारले बताउनुभयो । निजी एयरलाइन्सले नियमविपरीत उडान गर्दा सबैभन्दा बढी विद्यार्थी मर्कामा परेको उहाँको गुनासो छ । कर्णाली प्रदेशको सुर्खेतमा कात्तिक १८ गते हुने अध्यापन अनुमती पत्रको परिक्षा दिन जाने विद्यार्थी बढी मर्कामा परेको परियारले बताउनुभयो ।

यस्तै खार्पुनाथ गाउँपालिका-३ का हस्ता रावलले सिमकोट विमानस्थलमा टिकटका लागि गत हप्तादेखि धाए पनि नपाएको दुखेसो गर्नुभयो । निजी एयरलाइन्सका कर्मचारीले टिकटका लागि धाउँदा सामान्य सर्वसाधरणको कुरा नै नसुन्ने गरेको उहाँले बताउनुभयो ।

सुर्खेत र नेपालगञ्जबाट नियमित उडान गर्ने सहमति गरेका सीता, तारा, र समिट एयरलाइन्सले उडान नगर्दा यात्रुलाई टिकट पाउन मुस्किल भएको छ । समिट एयरलाइन्सले दैनिक नियमीत एक उडान गर्ने गरेको भएपनि अन्य सिता र तारा एयरलाइन्सले पछिल्ला केही दिनयता फाट्टफुट्ट उडान भरेपनि मनपरी टिकट वितरण गर्ने गरेको यात्रुको गुनासो छ । नेपाल एयरलाइन्सले गत शुक्रबार, शनिबार र आइतबार उडान भरेको थियो । समिट एयरलाइन्सले दशैँ अवधिभर नियमती उडान गर्दा जिल्ला भित्रीने र जिल्ला बाहिर जाने यात्रुलाई केही सहज भएको छ ।

तीन, चार दिनको अन्तरालमा एक उडान गर्ने निजी जहाजले कोठा र फोनका आधारमै टिकट बाँडफाँट गर्ने गरेको सिमकोट विमानस्थलमा भेटिएका साधारणको गुनासो छ । जिल्लाका तल्लो क्षेत्रका हुम्लीलाई बाहिर जान सिमकोट पुगे पनि टिकट पाउन समस्या हुनुका साथै टिकटको पैसा होटलमा बास बसेर खाना खाँदैमा जाने गरेको गुनासो रावलको छ । दशैँ मनाएर जिल्ला बाहिर जाने यहाँका नागरिकलाई सास्ती भएको छ । बिहान ६ः०० बजेदेखि विमानस्थलमा टिकटका लागि लाइन लागे पनि टिकट पाउन मुस्किल भएको उहाँले बताउनुभयो ।

सुर्खेतभन्दा नेपालगञ्ज जान हुम्लाबाट उडान अझ महँगो रहेको छ । त्यस्तै नेपालगञ्ज जाँदा रु नौ हजार एक सय १५ तिर्नु पर्छ । दशैँ मनाउन हुम्ला पुगेका विद्यार्थी,रोजगारीको शिलशिलामा जिल्ला बाहिर बस्दै आएका नागरीक, विरामीलगायतलाई जिल्ला बाहिर फिर्ता हुन समस्या छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?