काठमाडौं । नेपालले आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा मलेसियामाथि ६ विकेटको सानदार जितका साथ सेमिफाइनलमा स्थान बनाएको छ । समूह ‘ए’ बाट नेपाल र ओमानले सेमिफाइनलमा स्थान बनाएका हुन् । समान चार अंक भए पनि नेपाल नेट रनरेटका कारण दोस्रो स्थानमा छ । जारी प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो । यसअघि भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई आठ विकेटले पराजित गरेको थियो ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा मलेसियाले प्रस्तुत गरेको १६६ रनको लक्ष्य नेपालले १८ ओभरमा चार विकेटको क्षतिमा पूरा ग¥यो । नेपालको जितका लागि कुशल मल्लले विस्फोटक ब्याटिङ गर्दैै अर्धशतकीय पारी खेल्नुभयो । उहाँले ३४ बलमा सात छक्का र दुई चौकासहित ६५ रन बनाउनुभयो ।
साथै ओपनर कुशल भुर्तेलले चार छक्का र चार चौकाको सहयोगमा महत्वपूर्ण ४३ रन र आशिफ सेखले दुई छक्का र एक चौकाको सहयोगमा ३२ रन बनाउनुभयो । त्यसैगरी सन्दीप जोराले १८ र कप्तान रोहित पौडेल र विवेक यादवले दुई-दुई रन बनाउनुभयो । मलेसियाका लागि मोहम्मद अमिरले तीन र पवनदीप सिंहले एक विकेट लिनुभयो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १६५ रन बनाएको थियो । मलेसियाले राम्रो सुरुवात गरे पनि मध्यक्रमका ब्याटर चल्न सकेनन् । उसका लागि ओपनर एवं विकेटकिपर सैयद अजिजले सर्वाधिक ६८ रन बनाउनुभयो । उहाँले ४९ बलमा दुई छक्का र आठ चौका प्रहार गर्नुभयो । साथै जुवैदी जुल्किल्फले २४, शाविन मेनाइडी र विजय उन्नीले समान १३-१३ रन बनाउनुभयो । नेपालका लागि अविनाश बोहोराले चार विकेट लिनुभयो भने सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले एक-एक विकेट लिनुभयो ।
नेपाल प्रतियोगिताको समूह ‘ए’मा छ । नेपालको समूहमा सिंगापुर, मलेसिया, ओमान छन् भने समूह ‘बी’मा संयुक्त अरब इमिरेट्स (युएई), हङकङ, बहराइन र कुबेत छन् । नेपालले तेस्रो खेल यही कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।
यस्तै मंगलबार नै भएको अर्को खेलमा बहराइनले हङकङलाई २० रनले पराजित गरेको छ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा जितका लागि १४७ रनको लक्ष्य पछ्याएको हङकङ १९ दशमलब एक ओभरमा सबै विकेट गुमाउँदै १२६ रनमा समेटियो । हङकङका अंशुमन रथले सर्वाधिक २८ रन बनाउनुभयो । जिशान अलीले २१, एजिज खानले १९ तथा नस्रुला रानाले १६ रन बनाउनुभयो । त्यसबाहेक अन्य कुनै पनि खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गर्न सकेनन् ।
बहराइनका लागि अब्दुल मजिदले तीन विकेट लिनुभयो भने रिजवान बुटृ र अली दाउदले समान दुई–दुई विकेट लिनुभयो । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बहराइनले १९ दशमलब तीन ओभरमा सबै विकेट गुमाउँदै १४६ रनको योगफल बनाएको थियो । उसका लागि इमरान अलीले ४३ बलमा पाँच चौका र तीन छक्कासहित ६२ रन बनाउनुभयो । इमरान अनवरले १५, हैदर बुटृले १४ तथा रिजवान बुटृले १३ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
हङकङका लागि नस्रुला रानाले तीन विकेट लिनुभयो भने एहसान खान, अजिज खान र यासिम मुर्तजाले समान दुई–दुई विकेट लिनुभयो । जितसँगै बहराइनले दुई अंक जोडेको छ । सोमबार भएको पहिलो खेलमा बहराइन युएईसँग पाँच विकेटले पराजित भएको थियो ।
हङकङको भने यो पहिलो हार हो । सोमबार भएको खेलमा हङकङले कुबेतलाई ३१ रनले हराएको थियो । हङकङले अब बिहीबार युएईसँग खेल्नेछ भने बहराइनले बिहीबार कुबेतसँग खेल्नेछ ।
दीपेन्द्रले प्रतियोगिता गुमाउने
नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा सबै खेल गुमाउनुहुने भएको छ । पहिलो खेलमा सोमबार बिहान सिंगापुरविरुद्ध खेल्नुअघि अभ्यासका क्रममा फिल्डिङ गर्नेक्रममा उहाँको बायाँ खुट्टाको एंकलमा चोट लागेको थियो । मंगलबार मलेसियासँगको खेलपछि पत्रकारसँग बोल्नेक्रममा स्पिनर सन्दीप लामिछानेले दीपेन्द्रलाई ठीक हुन एक डेढ महिना समय लाग्ने जानकारी टोलीबाट प्राप्त भएको बताउनुभयो ।
सोमबार दीपेन्द्र प्लेइङ ११ मा रहे पनि चोट लागेपछि उहाँको स्थानमा विवेक यादवलाई खेलाइएको थियो । दीपेन्द्र उपचारपछि बैसाखी टेकेर टियु क्रिकेट मैदान फर्किनुभएको थियो । दीपेन्द्र नेपालबाट टी-२० आईमा सर्वाधिक रन बनाउने ब्याटर हुनुहुन्छ । उहाँले ५२ टी-२० आई खेलमा एक शतक र सात अर्धशतकसहित कुल एक हजार ३४४ रन बनाउनुभएको छ । उहाँ नेपालबाट टी-२० आईमा एक हजार रन पूरा गर्ने एक्लो खेलाडी हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच