नृपेन्द्रबहादुर मल्ल/हिटा
मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका-६ मन्दु गाउँमा वंश नै नाश हुने गरी भएको सामूहिक वीभत्स हत्या घटना भएको हप्ता दिन पुगेको छ । घटना भएको हप्ता दिन पुगिसक्दा पनि प्रहरी घटना कसरी घट्यो, के कारणले घट्यो र हत्यारा को हो ? भनेर अझै पत्ता लगाउन सकिरहेको छैन तर घटनाको सघन अनुसन्धान भइरहेको भने प्रहरीले बताउन छाडेको छैन । घटना गत ८ गते वुधबारको भए पनि प्रहरीले त्यसको दुई दिनपछि शुक्रबार बिहान ९ बजे स्थानीयवासीको सूचनापश्चात् जानकारी पाएको थियो । शुक्रबार घटनास्थल पुगेको प्रहरीले २८ वर्षीय आमा श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, आठ वर्षीय छोरी अप्सरा र आठ महिनाका छोरा रहर बोहोरालाई घरभित्रै मृतावस्थामा फेला पारेको थियो ।
वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहनुभएका मृतक श्रीदेवीका श्रीमान् दीपक बोहोर शनिबार घर पुगेपछि सोही दिन प्रहरीले चारै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुमा पु¥याएको थियो । सोमबारसम्म चारवटै शवको परीक्षण गरिसकिए पनि मृतक श्रीमती र छोराछोरीको हत्यारा पत्ता नलागेसम्म दीपकले शव नबुझ्ने अडान लिएपछि अहिलेसम्म शवहरूको दाहसंस्कार हुन सकेको छैन ।
घटनाको जानकारी आएलगत्तै जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापासहितको विशेष अनुसन्धान टोली घटनास्थलमा खटिएर हत्याको सूक्ष्म अनुसन्धान गरिरहेको छ । सो घटना मृत्यु नभई सामूहिक हत्या भएको आशंका गरी प्रहरीले शनिबार ११ गतेदेखि कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको विशेष अनुसन्धान ब्युरो टोली र कोहलपुरबाट तालिमप्राप्त कुकुरसहित खोज अनुसन्धान टोली खटिई अनुसन्धान तीव्र बनाएको थियो । जुम्लाबाट पनि हत्या घटनाको अनुसन्धान कार्यलाई सघाउन प्रहरीको विशेष अनुसन्धान टोली मुगु पुगेको थियो ।
घटनाको प्रकृति, अनुसन्धानको प्रगतिबारे नजिकबाट बुझ्न कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल १२ गते घटनास्थलमा आफैँ पुग्नुभएको थियो । उहाँले भन्नुभयो, ‘अनुसन्धानलाई सघन बनाएर लगिएको छ । सम्भव भएसम्मका सबै उपाय अवलम्बन गरेका छौँ । हत्यामा संलग्न दोषी पत्ता लगाउने तहसम्म जतिसक्दो चाँडो प्रहरी पुग्नेछ ।’
घटनामा सिंगो गाउँलाई उच्च निगरानीमा राखेर अनुसन्धान गरिए तापनि घटना घटेको हप्ता दिन बितिसक्दा पनि खासै तथ्य भने प्रहरीले भेट्टाउन सकेको छैन । प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार प्रदेश प्रहरीले प्रदेशभरकै घटना गतिविधिहरूमा मुगु घटनालाई उच्च प्राथमिकता राखेर प्रदेश प्रहरी प्रमुख घटनास्थलमा पुग्नुभएको हो ।
अनुसन्धानका क्रममा एक व्यक्तिलाई घटनामा संलग्न भएको आशंकामा प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । विभिन्न कोणबाट अनुसन्धान गर्दा सम्बन्धित व्यक्तिहरूसँग भेरिफाई गर्न कम्तीमा एकदेखि दुई दिनसम्म लाग्छ । यत्रो चार÷चार जनाको हत्या भएको छ कैयौँ जनासँग सोधपुछ र भेरिफाई गर्दा धेरै दिन लाग्नु अनौठो होइन ।
मुगु सुगम जिल्ला होइन यहाँ अनेकौँ कठिनाइका बावजुद काम गर्नुपर्छ एक त घटनाको सूचना प्रहरीसम्म ढिला पुग्यो, फोन, नेटले भनेको बेला काम गर्दैन, भौगोलिक कठिनाइका कारण अनुसन्धानसम्बन्धी क्रियाकलाप गर्न घटनास्थल, सदरमुकाम र आसपास क्षेत्रमा पटक-पटक आवतजावत गर्न कठिनाइ छ यस्तै विविध समस्याले अनुसन्धान प्रभावित भइरहेको छ’ प्रनाउ थापाले भन्नुभयो । प्रहरीले अहिले प्राविधिक र मेनुल्ली दुई तरिकाबाट मुगु घटनाको अनुसन्धान भैरहेको बताएको छ ।
घटनाको प्रकृति हेर्दा श्रीदेवीले लगाएका गहना र उहाँले प्रयोग गर्दै आएको मोबाइल दुई फोन सेटमध्ये एक सेट भेटिए पनि अर्को भिजोवल स्मार्ट सेट नभेटिएकाले लुटपाट गर्ने मनशायले भन्दा अर्कै उद्देश्यले हत्या भएको हुनसक्ने अनुमान गरी प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ ।
प्रहरीले हालसम्म पनि घटनामा संलग्न व्यक्तिबारे ठोस प्रमाण फेला पार्न नसके पनि घटना अनुसन्धान कार्य भने जारी रहेकाले दोषी कुनै पनि हालतमा पत्ता लगाइछाड्ने दाबी गरिरहेको छ ।
हप्ता दिन बित्यो घटनाको केही क्लु फेला परेको छैन । के थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान टोली आउन लागेको हो ? भन्ने पत्रकारहरूले सोधेको प्रश्नमा प्रनाउ वीरेन्द्र थापाले भन्नुभयो, ‘कुनै क्लु नभेट्टाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) मुगु झिकाउनु भनेको समय खेर फाल्नु हो । त्यसैले अहिले फिल्डमा खटिएको टोलीले हत्या र हत्याराबारे केही क्लु भेट्टाएमा थप अनुसन्धान गर्न सिआइबी टोली पनि मुगु आउन सक्छ । शवहरूको परीक्षण सोमबारै सकिएकाले अब घटनाबारे सूक्ष्म अध्ययन र अनुसन्धान हुने पनि प्रनाउ थापाले जानकारी गराउनुभयो ।
यता, जिल्ला अस्पताल मुगुमा शव राख्ने कोल्ड हाउस नहुँदा शवहरू गल्दै गएकाले समयमै दाहसंस्कार नभए अस्पताल क्षेत्रमा दुर्घन्ध फैलिने त्रास रहेको चिकित्सक अर्जुन भामले बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रहरीले अनुसन्धान गरिरहेको छ सूक्ष्म अध्ययनका लागि शव परीक्षण पनि भइसक्यो अब आफन्तहरूले शव बुझिदिए राम्रो हुने थियो ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच