बेलढुङ्गा : प्राकृतिक दृश्यावलोकनका लागि उत्कृष्ट स्थान

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 10 mins

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली र बागलुङको काँठेखोला गाउँपालिका–३ धम्जाको शिरमा अवस्थित पर्यटकीयस्थल बेलढुंगा आन्तरिक पर्यटकहरुका लागि प्रकृति दर्शनको उत्कृष्ट स्थान बन्दै गएको छ ।

बेलढुङ्मा पछिल्लो समय आन्तरिक पर्यटकहरुको आकर्षण बढ्दै जान थालेपछि बेनी नगरपालिका–३ भकिम्ली र बागलुङ जिल्लाको काँठेखोला गाउँपालिका ३ धम्जा विच बेलढुंगामा विकासका पूर्वाधारहरु निर्माण गर्न होडबाजी नै चलेको छ ।

समुद्री सतहदेखि २ हजार ६ सय १८ मिटरको उचाइमा रहेको बेलढुंगाबाट अन्नपूर्ण र धौलागिरि रेञ्जका १२ ओटा हिमश्रृङ्खला, म्याग्दी नदी, कालीगण्डकी सहित म्याग्दी र बागलुङ जिल्लाका खोला तथा झरनाको नागबेली दृश्य, साबिकको धौलागिरि अञ्चलका चारवटै जिल्लाका तीन दर्जन बढि गाउँहरु, वनजङ्गल, जंगली जनावर र पंक्षीका साथै सूर्योदय र सूर्यास्तको रमणीय दृश्य देख्न सकिने बेनी नगरपालिका ३ का वडाअध्यक्ष पदम पुनले बताउनुभयो ।

त्यसका साथै यहाँबाट धौलागिरी क्षेत्रका सम्पूर्ण तीर्थस्थलहरु,बाघ,भालु,चितुवा लगाएतका वन्यजन्तु,डाँफे,मुनाल,बनकुखुरो लगायतका पंक्षी र चैत वैशाखमा राताम्यै फूलेका लालिगुराँसले यहाँ पुग्ने जोसुकैको मनलाई आकर्षित गर्नसक्ने भएकोले पछिल्लो समय यहाँ विशेष गरी म्याग्दी र बागलुङका आन्तरिक पर्यटकहरु दिनहुँ आउने गरेका उहाँले बताउनुभयो ।
चारैतिर घना जंगल, जंगलको विचभागमा चेप्टो बेल आकृतिको विशाल ढुङ्गा रहेकोले यस स्थानलाई बेलढुंगा नामाकरण गरिएको उहाँको भनाइ छ ।

बेलढुंगा प्राकृतिक सौन्दर्यावलोकनका लागि मात्रै होइन आध्यात्मिक चिन्तनका लागि पनि उपयुक्त स्थान भएको स्थानीय रत्न जिसीले बताउनुभयो ।
‘नाम सुनेको थिएँ,तर यति आनन्द आउने ठाउँ होला भनेर कल्पना पनि गरेको थिएन, पहिलोपटक बेनी नगरपालिका २ ज्यामरुककोटको सानालेखबाट यहाँ आउनुभएका नारायण शर्माले भन्नुभयो ‘यहाँबाट हिमाल,पहाड,गाउँवस्ती,बनजंगल, नदी झरना, बजार, वनस्पति, वन्यजन्तु र सूर्योदय तथा सूर्यास्तको दृश्य एकैठाउँबाट देख्द सकिने रहेछ ।

तीनवर्ष अघिसम्म बेलढुंगाको फेदमा रहेको वेसी चौतारीदेखि बेलढुंगाको शिरमा पुग्न निकै जोखिम थियो। अक्करे भीरमा बुट्यान र लहरामा झुण्डिदै बेलढुंगाको फेददेखि शिरसम्म पुग्न निकै दुःख हुन्थ्यो। तर अहिले सुविधायुक्त सिंढी (पदमार्ग) बनेपछि निकै सहज स्थानीण गणेश श्रीषले बताउनुभयो ।

म्याग्दीको सीमानातर्फ स्वर्गाश्रमदेखि बेसी चौतारीसम्म वेनी नगरपालिका–३ को करिब ४ लाख र त्यहाँदेखि बेलढुंगासम्म दुवै वडाको २÷२ लाख रुपैयाँको गरी करिब ८ लाखको लागतमा पदमार्ग निर्माण गरिएको छ । ढुंगा बिच्छ्याएर आकर्षक तरिकाले निर्माण गरिएको पदमार्ग हुँदै स्वर्गाश्रमबाट करिब आधा घण्टाको उकालो छिचोलेपछि बेलढुंगा पुग्न सकिन्छ ।
साँध सीमानाको विषयलाई लिएर दाजुभाइ, छरछिमेकीदेखि लिएर वल्लो गाउँ र पल्लो गाउँ, एउटा जिल्ला र अर्को जिल्ला अनि एक देश र अर्को देशका बीचमा विवाद, झगडा र युद्धसमेत हुने गरेका प्रशस्तै उदाहरणहरु छन्। तर, म्याग्दी र बागलुङ जिल्लाको साँधमा रहेको महत्वपूर्ण पर्यटकीय स्थल बेलढुंगाको विषयमा भने दुवै जिल्लाका दुईवटै वडावासीका विचमा सौहार्दपूर्ण सम्वन्ध रहेको छ।

दुवै वडाले समान योगदान दिने र त्यसको प्रतिफल पनि समानरुपमा लिने दुवै जिल्लाका दुईवटै वडाका वासिन्दा र जनप्रतिनिधिविच सम्झौता भएको छ। वडाअध्यक्ष पुन भन्नुहुन्छ ‘सीमाको विषयलाई लिएर हामीहरु (दुई वडाका प्रतिनिधि) विच कहिल्यै पनि कुनै किसिमको विवाद भएन। प्रकृतिको अनुपम उपहार यस्ता सम्पदाहरुबाट सवैले लाभ लिनुपर्छ भन्ने हाम्रो मान्यता रहेकोले दुवै वडा मिलेर यसको विकासमा लागेका हौं ।

प्रचारप्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेका म्याग्दीका पर्यटकीयस्थलको प्रवर्धन गर्न स्थानीय सरोकारवाला निकायले जोड दिएका छन् ।

पर्यटक बोलाउन पत्रकारहरुसँग अन्तक्रिया

पत्रकार महासंघ म्याग्दी शाखाले स्थानीय सरोकारवाला निकायसँग सहकार्य गरी पर्यटन क्षेत्रलाई चलायमान बनाउने अभियान अन्तरगत बेनपा–३ भकिम्ली र बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाको सिमानामा अवस्थित पर्यटकीयस्थल बेलढुंगामा आयोजित अन्तरक्रिया कार्यक्रम गरेको छ ।

अन्तक्रियामा बेनी नगरपालिका ३ भकिम्लीका वडाअध्यक्ष पदम पुनले भकिम्लीबाट बेलढुंगाको पर्यटन पूर्वाधारमा ६ बर्ष अगाडी १ लाख विनियोजन गरिएपछि पर्यटकीय गन्तब्य सुरुवात भएको बताउनुभयो ।

त्यस्तै भकिम्लीका समाजसेवी पृथीबहादुर पुनले बेलढुंगालाई दुबै क्षेत्रबाट उच्च प्राथमिकता दिएकाले यो अवस्थामा आएको बताउनुभयो । बागलुङ र म्याग्दीको सिमानामा रहेकाले पर्यटकीयस्थलबाट दुबै क्षेत्रले लाभ लिनुपर्नेमा मुसुङका स्थानीय लिलबहादुर छन्त्यालको भनाई थियो ।
पर्यटन क्षेत्र धरासायी भएकाले यसलाई उकास्न आन्तरिक पर्यटकलाई घुमफिरको वातावरण बनाउनका लागि पत्रकार महासंघ म्याग्दीले सुरु गरेको अभियानबाट उत्साहित भएको भकिम्लीबासीको भनाई थियो । कार्यक्रममा पत्रकार महासंघ म्याग्दी शाखाका संस्थापक अध्यक्ष घनश्याम खड्काले पर्यटकीय क्षेत्रमा पूर्वाधार विस्तार तथा प्रचारप्रसार आवश्यक रहेको बताउनुभयो ।

बेलढुंगामा आयोजित कार्यक्रमको अध्यक्षता पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेल, स्वागत उपाध्यक्ष हरिकृष्ण गौतम र सञ्चालन सहसचिव साधन राम्जालीले गरेका थिए । त्यस्तै १ सय बर्ष पूरानो भकिम्लीको स्वर्गाश्रममा आयोजित कार्यक्रममा प्राचीनकालदेखि नै ऋषि महर्षि र विद्वान् विदूषीको तपस्थली रहँदै आएको आश्रम क्षेत्रलाई धार्मिक गन्तब्य बनाउनुपर्ने बताइएको थियो ।

स्वर्गाआश्रम बेलढुंगा ब्यवस्थापन समितिका अध्यक्ष रत्न जिसीले प्राकृतिक रुपमा अत्यन्त रमणीय,आध्यात्मिक आस्थाको केन्द्र,पर्यटकीय सम्भावनाले युक्त स्वर्गाश्रममा आवश्यक पर्ने पूर्वाधार विस्तारमा सरकारी निकायबाट नियमित सहयोग तथा सञ्चार क्षेत्रबाट समेत यहाँको सम्भावनाका नियमित समाचार प्रकाशित गरेर सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले स्वर्गाआश्रमका बारेमा खोज र अनुसन्धानबाट करिब १ सय बर्षको इतिहास पाइएपनि आश्रम आसपासका क्षेत्रमा रहेका तपस्थली लगायतका प्राचिन बस्तुले सयौंबर्ष पूरानो इतिहास रहेको अनुमान गरिएको बताउनुभयो । स्वर्गाश्रमबाट पवित्र कालीगण्डकी, महारानी थान, जगन्नाथधाम, गलेश्वर धाम, मुक्तिनाथ, रिखार क्षेत्र र पौलस्त्य क्षेत्रको दर्शन गर्न सकिने उहाँले बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा वडा अध्यक्ष पदम पुनले तपस्वीनी सरस्वती घना जङ्गलको बीचमा रहेको स्वर्गाश्रममा एक्लै तप र ध्यान गरेको स्थान सहितका क्षेत्रहरु संरक्षणको पहल भइरहेको बताउनुभयो । कार्यक्रममा भकिम्लीको भुकभुके आमा समुह, थोटनरी आमा समुह, मुसुङ र डोले आमा समुहले भजनकृतन सहित आश्रमका बारेमा जानकारी गराएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?