कोशी सरकारमा माओवादी केन्द्र र नेकपा एस सहभागी हुँदै, सपथको तयारी

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एमालेसँगको सहमतिविपरीत माओवादी केन्द्र र एकीकृत समाजवादीलाई पनि सरकारमा ल्याउने तयारी गर्नुभएको छ ।

मुख्यमन्त्री निकट स्रोतका अनुसार कार्कीले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट एक–एक जना मन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको छ ।

कांग्रेसको संस्थागत निर्णयविरुद्ध विद्रोह गर्दै एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त हुँदा सहयोग गरेका रामकुमार खत्रीलाई मन्त्री बनाउने तयारी रहेको छ । माओवादी केन्द्रबाट गणेश उप्रेती र एकीकृत समाजवादी पार्टीबाट कमलप्रसाद जवेगू मन्त्री बन्ने सम्भावना रहेको स्रोतले बतायो ।

एमालेको समर्थनमा काँग्रेसका ८ सांसदसहित विद्रोह गरेर संविधानको धारा १६८ को ५ अनुसार २७ भदौमा मुख्यमन्त्री बन्नुभएको कार्कीले २८ भदौमा कांग्रेस विद्रोही पक्षबाट समशेर राई र एमालेबाट राम रानालाई विना विभागीय मन्त्री नियुक्त गर्नुभएको थियो ।

मुख्यमन्त्री नियुक्ती भए लगत्तै कार्कीले विश्वासको मत लिनुभएको थियो ।

विश्वासको मत पाएपछि कार्कीले सरकारमा गठबन्धन दललाई सामेल गर्ने कि एमालेमात्र भन्ने निर्णय गर्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको थियो ।

कार्कीले सहमतीय सरकार बनाउन भन्दै एमालेसँग छलफल गरे पनि एमालेले माओवादी सरकारमा आए सरकारबाट बाहिरिने चेतावनी दिएकाे थियाे । अन्तत कार्कीले एमालेको सहमति बेगर मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएको हो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?