सन् २०१४ पछि नेपाल ट्वान्टी-२० विश्वकपमा

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) सँग पछिल्लो संस्करणमा व्यहोरेको हारको बदला लिँदै नेपाल १० वर्षपछि आइसिसी ट्वान्टी–२० विश्वकपमा छनोट भएको छ ।

नेपालले मुलपानी क्रिकेट मैदानमा शुक्रबार आइसिसी ट्वान्टी–२० विश्वकप छनोट (एसिया क्वालिफायर) को सेमिफाइनलमा युएईलाई आठ विकेटले हराउँदै सन् २०२४ को ट्वान्टी–२० विश्वकपमा छनोट भएको हो । अर्को सेमिफाइनलमा ओमानले बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ । अब उपाधिका लागि आईतवार नेपालले ओमानसँग प्रतिष्पर्धा गर्नेछ । सन् २०१४ मा बंगलादेशमा सम्पन्न आइसिसी ट्वान्टी–२० विश्वकप खेलेको नेपालले अब सन् २०२४ मा वेस्ट इण्डिज र अमेरिकाले आयोजना गर्ने ट्वान्टी–२० विश्वकप खेल्नेछ ।

१३५ रनको लक्ष्य पछ्याएको नेपालले दुई विकेटको क्षतिमा १७.१ ओभरमा पूरा ग¥यो । नेपालको जितमा आसिफ शेखले ६४ रन र रोहितकुमार पौडेल ३४ रनमा अविजित रहँदै जित दिलाए । तेस्रो विकेटका लागि आसिफले कप्तान रोहित पौडेलसँग ६८ रनको साझेदारी गर्र्दै १७ बल अगावै जित निकाले । आसिफले ५० बलमा सात चौका र दुई छक्का हिर्काए । रोहितले २१ बल खेल्दै समान दुई चौका र छक्का प्रहार गरे । शुरुदेखि इनिङ समालेका आसिफले करियरको चौथो अर्धशतक प्रहार गरे ।

त्यसअघि सामान्य लक्ष्य पछ्यााएको नेपालले तेसो ओभरको अन्तिम बलमा ओपनर कुशल भुर्तेललाई ११ रनमै गुमाउन पुग्यो । त्यसपछि ब्याटिङमा आएका गुल्सन झाले २२ रन जोड्दै आसिफलाई साथ दिए । उनले आसिफसँग ४१ रनको साझेदारी गरे । तर, ९.३ ओभरमा बसिल हामिदले उनलाई आउट गर्दै साझेदारी तोडे । गुल्सनले २४ बलमा तीन चौका हिर्काए । तर, आसिफले कप्तान रोहितसँग राम्रो साझेदारी गर्र्दै जित दिलाए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले राम्रो शुरुवात गरे पनि नेपाली बलरले लयमा फर्कंदै पाहुना टोलीलाई सस्तैमा रोके । युएईले निर्धारित २० ओधरमा ९ विकेट गुमाउँदै १३४ रनको मध्यम योगफल बनाए । युवा ब्याटर भ्रित्य अरविन्दले ६४ रन जोड्दै युएईको इनिङ समाले । कुशल मल्लको बलमा आउट हुनुअघि उनले आठ चौका र दुई छक्का प्रहार गरे । त्यसअघि पावर प्लेमा युएईले दुई विकेट गुमाए पनि ४१ रन जोडेको थियो ।

चौथो ओभरमा नै नेपालले कप्तान मोहम्मद वासिम र खलिद साहलाई आउट गरेको थियो । तिब्र गतिका बलर सोमपाल कामीले एक छेउबाट राम्रो ब्याटिङ गरेका ओपनर वासिमलाई २६ रनमा आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाए । वासिमले १६ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । सोही ओभरको पहिलो बलमा साह ३ रनमा रनआउट भएका थिए । तर, तेस्रो विकेटका लागि अरविन्दले अर्का अनुभवी ब्याटर आसिफ खानसँग ३२ रनको साझेदारी गर्दै इनिङ उकासे । तर, ९.६ ओभरमा सन्दीपले आसिफलाई १३ रन एलबिडब्लु आउट गर्दै तेस्रो सफलता दिलाए ।

त्यसपछि अलिसान सरफुले १६ रन जोडे पनि त्यसबाहेक ब्याटरले अरविन्दलाई साथ दिएनन् । सन्दीप लामिछाने र कुशल मल्लले विकेटसँगै अन्तिम तीन ओभरमा उत्कृष्ट बलिङ गरे । सन्दीपले १८ औं ओभरमा एक विकेटसँगै मेडन राखे । २० औं ओभरमा कुशलले दुई विकेटसँगै पाँच रन दिए र युएईलाई राम्रो योगफलबाट रोके । समग्रमा उनले तीन ओभरमा तीन विकेट लिँदा ११ रन खर्चिए । सन्दीपले चार ओभरमा एक मेडनसहित दुई विकेट लिँदा १४ रन मात्र खर्चिए । सोमपाल र रोहितको नाममा एक विकेट रह्यो ।

सन् २०२२ को विश्वकपमा टप ८ मा रहेका टीमहरुले स्वतः अर्को विश्वकप खेल्न पाउनेछन् । यस्तै आयोजक राष्ट्रहरुले पनि छनोट खेल्नु नपर्ने प्रावधान छ । जसअनुसार अमेरिका र वेस्ट इन्डिज पनि स्वतः सहभागी हुनेछन् । यसैगरी आईसीसीको वरियतामा माथिल्लो श्रेणीमा रहेका (सन् २०२२ नोभेम्बर १४  मा) थप २ टीमले पनि क्वालिफायर खेल्नुपर्दैन । यसप्रकार १२ वटा टीम स्वतः टी-२० विश्वकपमा छनोट भइसकेका छन् ।

यसरी स्वतः छनोट भएका १० टीममा अमेरिका, वेस्ट इन्डिज (आयोजक राष्ट्रको हैसियतमा) अष्ट्रेलिया, इङ्ग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्यूजिल्यान्ड, पाकिस्तान, साउथ अफ्रिका, श्रीलंका (अघिल्लो विश्वकपको टप ८ मा रहेका), अफगानिस्तान र बंगलादेश  छन् ।

बाँकी आठ वटा स्थानका लागि आईसीसीले क्षेत्रीय छनोट प्रतियोगिता गराइरहेको छ । जसअनुसार अफ्रिका, एसिया र यूरोप छनोटबाट टप २ टीम टी-२० विश्वकपमा पुग्छन् । यूरोप क्वालिफायरबाट आयरल्यान्ड र स्कटल्यान्डले विश्वकपमा स्थान बनाएका छन् । इस्ट एसिया प्रशान्त क्वालिफायरबाट पपुवा न्यूगिनी विश्वकपमा पुगेको छ ।

यस्तै अमेरिका क्वालिफायरबाट क्यानाडा छनोट भएको छ भने एसिया क्वालिफायरबाट नेपाल र ओमान छनोट भएका छन् । अब अफ्रिका क्वालिफायर नामिबियामा २२ देखि ३० नोभेम्बरसम्म हुँदैछ । त्यो सकिएपछि मात्रै विश्वकपको ड्र हुनेछ ।

प्रत्येक टीमले विश्वकपमा कम्तिमा ४ वटा म्याच खेल्न पाउनेछन् । नेपालले पनि समूह चरणमा ४ वटा म्याच खेल्नेछ, जसमध्ये दुई वटा टेस्ट राष्ट्र हुन सक्छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?