काठमाडौं । आइसिसी टी-२० विश्वकप क्रिकेटको एसिया छनोटको उपाधिका लागि नेपालले आज(आइतबार) ओमानसँग खेल्दैछ । खेल आइतबार बिहान ११ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । शुक्रबार सेमिफाइनलमा युएईलाई हराउँदै विश्वकपमा छनोट भएको नेपालले अर्को सेमिफाइनलमा बहराइनलाई हराउँदै विश्वकपमा स्थान बनाएको ओमानसँग खेल्न लागेको हो । ओमानले बहराइनलाई १० विकेटले सेमिफाइनलमा हराउँदै फाइनलमा स्थान बनाएको थियो । नेपालले युएईलाई ८ विकेटले पराजित गर्यो ।
यसअघि समूह चरणमा ओमानले नेपाललाई ५ रनले पराजित गरेको थियो । उक्त हारको बदला लिने अवसर नेपाललाई हुनेछ । नेपालका कप्तान रोहित पौडेलले टोली उच्च लयमा रहेकाले उपाधि उचाल्ने दाबी गर्नुभएको छ ।
भूकम्प पीडितलाई सहयोग
नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार हुने आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा नेपाल र ओमानबीच खेलबाट बिक्री हुने ५० प्रतिशत टिकटको मूल्य भूकम्प पीडितलाई सहयोग गर्ने क्यानले घोषणा गरेको छ । शुक्रबार राती जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्प पीडितका लागि आर्थिक सहयोग गर्ने भएको छ ।
क्यानले जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी ज्यान गुमाउने सम्पूर्ण नेपालीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गर्दै उक्त घोषणा गरेको हो । घाइते सम्पूर्णको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै नेपाल र ओमानबीच हुने फाइनल खेलबाट बिक्री हुने टिकटको ५० प्रतिशत रकम भूकम्प पीडितलाई सहयोग गर्ने घोषणा गरेको छ । नेपालले शुक्रबार सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै विश्वकपमा स्थान बनाएको थियो । नेपाल र ओमानबीचको फाइनल खेल आज बिहान ११ बजे सुरु हुनेछ ।
वरीयता सुधार
नेपालले आइसिसी टी-२० विश्वकप २०२४ मा स्थान बनाएसँगै वरीयतामा पनि सुधार गरेको छ । आइसिसीले जारी गरेको नयाँ टी-२० आई वरीयतामा नेपालले एक स्थान सुधार गर्दै १५औँ स्थानमा छ । टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटअघि नेपाल १६औँ स्थानमा थियो । नेपालले विश्वकप छनोटमा चारमध्ये तीन खेलमा जित हात पारेपछि वरीयता पनि सुधार गरेको हो । नेपालले नेदरल्याण्ड्सलाई पछि पार्दै एक स्थान सुधार गरेको हो ।
नेपाल २४ खेलमा चार हजार ३७७ अंक र १८२ रेटिङका साथ १५औँ स्थानमा छ । उता नेदरल्याण्ड्सको १९ खेलमा तीन हजार ४४५ अंक र १८१ रेटिङ अंक छ । नेदरल्याण्ड्सलाई एक रेटिङ अंकले पछि पार्दै सुधार गरेको हो । स्कटल्याण्ड १४औँ, आयरल्याण्ड १३औँ, नामिबिया १२औँ, जिम्बाबे ११औँ र अफगानिस्तान १०औँ स्थानमा छन् । भारत शीर्ष, इंग्लयाण्ड दोस्रो, न्युजिल्याण्ड तेस्रो, अष्ट्रेलिया चौथो, पाकिस्तान पाँचौँ, दक्षिण अफ्रिका छैटौँ, वेस्टइण्डिज सातौँ, श्रीलंका आठौँ र बंगलादेश नवौँ स्थानमा छन् ।
युएई १७औँ, ओमान १८औँ र पपुवा न्युगिनी १९औँ स्थानमा छन् । क्यामरुन सबैभन्दा पुछार ८७औँ स्थानमा छ । नेपालले विश्वकप छनोटमा सिंगापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएको थियो ।
बजेट निकासा
विभिन्न समयमा भएका क्रिकेट प्रतियोगिताको पूर्वघोषित नगद पुरस्कार अर्थ मन्त्रालयले निकासा गरेको छ । तीन प्रतियोगिताको पूर्वघोषित एक करोड ५७ लाख ५० हजार नगद पुरस्कार निकासा भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले जानकारी दिनुभयो । गत वैशाख ५ देखि १८ गतेसम्म भएको एसिसी पुरुष प्रिमियर कपका लागि ७९ लाख, २०७९ साल फागुन १२ देखि १८ गतेसम्म भएको आइसिसी यू–१९ पुरुष सिडब्लुसी- एसिया क्लालिफायरका लागि ४६ लाख र आइसिसी सिडब्लुसी लिग– २ का लागि ३२ लाख ५० हजार नगद पुरस्कार निकासा भएको हो ।
सदस्य-सचिव घिसिङले पुरस्कार पाउने खेलाडीलगायतलाई बधाई दिँदै पुरस्कारका लागि नेपाल सरकारका प्रधानमन्त्री सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माननीय युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई धन्यवाद दिनुभयो । साथै सदस्य-सचिव घिसिङले शुक्रबार मूलपानीमा भएको ट्वान्टी-२० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनलमा युएईलाई ८ विकेटले हराउँदै अर्को वर्ष अमेरिका र वेस्ट इण्डिजमा हुने विश्वकपका लागि स्थान सुरक्षित गर्न सफल नेपाली टोलीलाई बधाई दिँदै फाइनलमा सफलताका लागि शुभकामनासमेत दिनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच