काठमाडौं । काठमाडौंमा मकैसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । बुधबार आयोजित मकै सम्मेलनलाई सम्बोधन गर्दै कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषिमा आधुनिकीकरण गर्ने गरी सरकारले कृषि नीति बनाइरहेको बताउनुभएको छ । नेपालमा मकै धानपछिको दोस्रो धेरै उत्पादन हुने बाली भन्दै उहाँले मकैलाई प्रोत्साहन हुने गरी र वास्तविक किसानलाई पहिचान दिने, उत्साहित गराउने गरी कृषिमा आधुनिकीकरण गर्ने योजना सरकारको रहेको बताउनुभयो ।
नेपालमा मकै उत्पादन उच्चदरले घटिरहेकामा चिन्ता व्यक्त गर्दै मन्त्री साहले भन्नुभयो, ‘नेपालमा मकै धानपछिको दोस्रो धेरै उत्पादन हुने बालीमा पर्छ । मकैलाई प्रोत्साहन हुने गरीे वास्तविक किसानलाई पहिचान दिने गरी, उत्साहित गराउने गरी, सहानुभूति दिने गरी कम्तीमा कृषिमा आधुनिकीकरण गर्ने गरी हामीले लैजान सक्यौँ भने किसानमात्र नभई आमजनतालाई उत्साह प्रदान गर्नेछ । हाल नौ लाख ८५ हजार हेक्टरमा मकै उत्पादन भइरहेको छ, मैले मकैबारेमा ब्रिफिङ लिएँ, मकै उत्पादन दयनीय अवस्थामा छ । अहिले हामीले कृषि नीति बनाएको पनि अवस्था छ । जसको नेतृत्व मैले आफैं गरिरहेकी छु । कृषिमा जति पनि बालीहरू हुन्छन्, कम्तीमा प्रोत्साहन दिने गरी कार्यक्रम ल्याउने र यो मकैलाई बढावा दिने गरी जहाँ नेपालमा जति पनि खाली जग्गा छन्, स्थनीय सरकार, प्रदेश सरकार, संघीय सरकारसँग हामी तीनखम्बे नीतिमा अघि बढ्ने प्रयासमा छौँ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा मकैको आवश्यकता प्रत्येक वर्ष बढेर गएको बताउनुभयो । नेपालमा खासगरी पशुजन्य खाद्यान्नका लागि मकैको महत्व झनै बढेर गएको उहाँको भनाइ थियो । गत आर्थिक वर्ष २०२१/०२२ मा दाना उद्योगका लागि नेपालले १९ अर्ब ६५ करोडको मकै आयात भएको पनि उहाँले जानकारी गराउनुभयो ।
अध्यक्ष ढकालले भन्नुभयो, ‘मकै नेपालको प्रमुख खाद्यान्न भएको हिसाबले अहिले औद्योगिक उत्पादनमा पनि दाना उत्पादनदेखि लिएर विभिन्न प्रकारले मकैको महत्वपूर्ण भूमिका छ । पछिल्लो तथ्यांकअनुसार नौ सय ८० हजार हेक्टरमा ३० लाख मेट्रिकटन मकै उत्पादन भइरहेको छ । नेपालको निजी क्षेत्रलाई वार्षिक करिब छ लाख मेट्रिकटन मकै आवश्यक पर्ने देखिन्छ । एक सय ४० दाना उद्योगमा करिब ४० अर्ब जति लगानी रहेको तथ्यांक छ ।’
मकैको उत्पादनपछिको गतिविधि प्रवद्र्धन गर्न केही पहल भइसकेको भए पनि सरकार र विकास साझेदारको ध्यान उत्पादनको पक्षमा रहेको उहाँले बताउनुभयो । मकै उत्पादन बढाउन मकैमा कार्यरत सबै विकास निकायलाई अनुसन्धान र विकासका लागि निजी क्षेत्रलाई सहयोग गर्न ढकालले आग्रहसमेत गर्नुभयो । कटनीपछिका गतिविधि प्रवद्र्धन गर्न सम्बन्धित विकास निकायलाई आग्रह गर्दै त्यसो गर्न सकेमा आयात प्रतिस्थापन गर्न सकिने र मकैमा निर्भर किसानले बढी आम्दानी गर्न सक्ने उहाँले बताउनुभयो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्र, कृषि विभाग, नेपाल कृषि अनुसन्धान परिषद्को सहकार्यमा आयोजित सम्मेलनमा नेपाल, भारत र बंगलादेशका एक सय ४० मकै वैज्ञानिकको सहभागिता रहेको बताइएको छ । सम्मेलनमा मुख्य गरी मकै उत्पादनको अवस्था, व्यावसायीकरणमा समस्या, मूल्य शृंखला, अन्तर्राष्ट्रिय मूल्य शृंखला, नीतिगत अवस्थालगायका विषयमा गहन छलफल हुने आयोजकले जनाएको छ । सम्मेलन बिहीबारसम्म चल्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच