राजनीतिलाई अपराधीकरण गरेका गणतन्त्रवादीहरूलाई रिगलको आममाफी बदर गरेर सर्वोच्च अदालतले नराम्रोसँग थप्पड हानेको छ । अब यसअघि अपराधीहरूलाई दिइएको आममाफीमाथि पनि पुनर्विचार हुनुपर्छ । सत्तामा गणतान्त्रिक अपराधीहरूले कस्ता–कस्ता अपराधीलाई आममाफी दिएको छ यसको उदाहरण आममाफी पाएका एकजनाले एउटी महिलाको विभत्स ढंले हत्या गर्छ भने अर्कोले फिरौती माग गर्दै अपहरण गर्छ । यदि मुलुकमा नैतिकता भएको सभ्य शासक भएको भए अदालतको आदेशपूर्व नै आममाफी पाएका ती अपराधीहरूले अपराध गरिसकेपछि प्रधानमन्त्री र राष्ट्रपतिले आफ्नो पदबाट राजीनामा दिइसक्थे ।
आफ्नो अपराध, देशद्रोह तथा भ्रष्टाचारको साम्राज्यलाई बलियो बनाउन यिनीहरू विभिन्न खेल खेलिरहन्छन् । अहिले आएर जो व्यक्ति यो मुलुकको प्रधानमन्त्री छ उसकै दलले मंसिर २४ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेको छ । यो आन्दोलन आफूविरुद्ध हो कि देशविरुद्ध ? उता एमालेले दुर्गा प्रसाईंले आन्दोलनको घोषणा गरेपछि गर्ने प्रतिकार आन्दोलन अपराध प्रवृत्ति नभएर के हो ?
मुलुक अहिले सनातन धर्मसापेक्ष राजतन्त्रको पक्षमा अगाडि बढिसकेकाले यिनीहरूको सनातन धर्मविरोधी गणतन्त्रको जग नराम्ररी हल्लिएकाले बाहिर जति डुक्रे पनि भित्रभित्र यिनीहरूको सातो गइसकेको छ । माओवादीले मंसिर २४ गतेदेखि आन्दोलन गर्ने भएको छ भने गणतन्त्रको रक्षाका लागि विभिन्न दल, विभिन्न आवरण, विभिन्न समूह र विभिन्न कथित बुद्धिजीवीबाट यस्तो प्रयास भइरहेको छ । हिजो जसले नेपालको नक्साबाट कालापानी, लिपुलेक र लिम्पियाधुराको नक्सा हटायो, जसले आफू पदमा हुँदा नेपालको भूभाग इण्डियाले मिच्दा मौनता साध्यो आज उनीहरू नै ठूला राष्ट्रवादी भइरहेका छन् । उनीहरू नै आज सच्चा राष्ट्रवादी, सनातन धर्मप्रेमी भएर उदाएका छन् । मिडियाहरूले त्यस्ता नक्कली राष्ट्रवादीलाई महत्व दिइरहेका छन् ।
पुष्पकमल दाहाल भन्दैछन्, जनताले संविधानसभाको दुईवटा चुनावमा भारी मतदान गरेर यो व्यवस्था ल्याएको हो, जनताले दुईवटा आमचुनावमा हामीलाई जिताएर यो व्यवस्थालाई बलियो पार्ने जनादेश दिएका छन् । संविधानसभाको चुनावअघि गरिएको जनमत संकलनमा जनताले संवैधानिक राजतन्त्र तथा हिन्दू राष्ट्रका पक्षमा दिएको अत्याधिक मतका पोकाहरूलाई एउटा कुनामा थन्क्याएर यो लेख्दा जनताको मत कता गयो ?
चुनाव धाँधलीरहित गर्ने र पैसा, रक्सी, मासु, मोबाइल, रासन, कपडा आदि बाँड्न बन्द गरे, गठबन्धनरहित एकल रूपमा लडेका भए नेताहरूप्रति जनताको धारणा के छ स्पष्ट हुन्थ्यो । दुई-दुईवटा आमनिर्वाचन भए तर कुनै दलको एकल सरकार बन्न सकेको छ ?
यदि चुनाव धाँधलीरहित गर्ने र पैसा, रक्सी, मासु, मोबाइल, रासन, कपडा आदि बाँड्न बन्द गरे, गठबन्धनरहित एकल रूपमा लडेको भए यिनीहरूप्रति जनताको धारणा के छ स्पष्ट हुन्थ्यो । दुई-दुईवटा आमनिर्वाचन भए तर के कुनै दलको एकल सरकार बन्न सकेको छ ? बने पनि धेरै समय टिक्न सकेन, सत्तारुढ दल नै फुट्ने अवस्था आयो । पैसा खर्चेर जनता भेला गर्ने र विनापैसा जनता उर्लिने दृश्यहरू त जनताले देखिरहेका छन् । को लोकप्रिय यसले देखाउँदैन र ?
आज नेताहरूमात्र होइन्, आजका पुस्तामा समेत विवेक र नैतिकता हराउँदै गएको छ । केही प्रलोभन, केही स्वार्थ, केही पैसा, केही आशाको भरमा राष्ट्रप्रति गद्दारी गर्ने अपराधी प्रवृत्तिका भ्रष्ट नेताहरूको पक्षमा सडकमा उफ्रिएको देख्दा, नेताहरूप्रति यति अन्धभक्ति देखेर आजको पुस्ता कहाँ गइरहेको छ भनेर सोच्ने समय आएको छ । यो पुस्ता आफ्ना मातापिताप्रति त्यति श्रद्धा राख्दैन जति आफ्ना नेतहरूप्रति राख्छ । के यही हाम्रो वैदिक सनातन शिक्षा हो ? आज मातापिताले आफ्ना सन्तानलाई कस्तो शिक्षा दिइरहेका छन् ? केवल आफ्नो बारे, आफ्नो स्वार्थमा मात्र सोच्ने संस्कार दिइरहेका छन् । बालबालिकाको प्रथम शिक्षालय भनेको माता हो तर आजभोलिका माताहरू पश्चिमा रंगढंग, पश्चिमा संस्कृतिमा यसरी रमेका छन् कि उनीहरूले आफ्ना सन्तानलाई पनि आफ्नै रंगमा ढालेका छन् ।
मान्यजनप्रति कस्तो व्यवहार गर्ने, देशप्रति कस्तो भावना राख्ने, बसुधैव बुटुम्बकमको भावना, सनातन संस्कार कुनै पनि कुरा सिकाउँदैनन् । अलि हुक्र्यो सुट–टाई लगाएर बोर्डिङ स्कुलमा पढ्न पठायो, सन्तानले अलि अलि अंग्रेजी बोल्न थाल्यो गर्वले छाती तन्काउँछन्, विद्यालयमा क्रिसमस मनाउँदा खुशी हुन्छन्, सान्ताक्रुजको लुगा लगाएर विद्यालय पठाउँछन् । मातापिताको चरणमा ढोग्नुपर्ने हाम्रो संस्कारको सट्टा आमाहरूले अँगालो हाल्न र बढीमा शिर नुहुराएर दर्शन भन्न सिकाएका छन् । आमा असल भएमात्र सन्तान असल हुन्छन् ।
हामी कम्युनिष्ट बन्यौं, सर्वहाराको सत्ता ल्याउन, धनी गरिबको अन्तर मेटाउन । हामीले ईश्वर मान्न छोड्यौं, देवी देउताको स्मरण गर्न त्याग्यौं, माताापितालाई ढोग्ने संस्कार त्यागेर हात मिलाउने संस्कारमा ढल्क्यौं, तीज, तिहारको बहिष्कार गर्यौं, मन्दिरहरू भत्काउन र त्यहाँ गएर मलमूत्र त्याग्न सिक्यौं, आफ्नोपन के हो त्यसलाई बिस्र्यौं, देश के हो बिर्सेर अन्तर्राष्ट्रवादी बन्यौं । तर, नेताहरूले, जुन सिद्धान्त हामीलाई घोकाए जुन इमानदारीताको पाठ पढाए, जुन देशभक्तिको शिक्षा दिए आज हेरौं ती कम्युनिष्ट नेताहरूले त्यो शिक्षाको पालन गरेका छन् कि त्यसको उल्टोधारमा बगिरहेका छन् ?
कांग्रेसले समाजवादी प्रजातन्त्र भन्यो तर बीपीले मृत्युपश्चात् क्रिया नबस्ने संस्कार सिकाएर गए, पशुपतिनाथलाई म्युजियम राख्ने सल्लाह दिए । पछि बल्ल उनले बुझे नेपालका राजा राष्ट्रवादी हुन्छन्, राजसंंस्था नभए नेपाल रहँदैन । बीपीले आफ्नो जीवनको उत्तराद्र्धमा बुझेको र भनेको कुरालाई हृदयंगम गर्न सकेन कांग्रेसले र आज कम्युनिष्टहरूको फेर समातेर आफ्नो अस्तित्व बचाइरहेको छ । उत्तराद्र्धका बीपीको कांग्रेस आज मृत्युमुखमा पुगिसकेको छ । अब त केवल प्रचण्ड कांग्रेस र ओली कांग्रेसमात्र जीवित छ ।
आमाले सही शिक्षा दिएको भए शायद आज यी नेताहरू यति पतित हुने थिएनन् । कहिलेकाँही सही शिक्षा पाएका सन्तान पनि संगतले गर्दा कुपुत्र भएर निस्कन सक्छन् । ‘कुपुत्रो जायेत क्वचिदपी कुमाता न भवति ।’ पृथ्वीनारायण शाहलाई सानैदेखि रामायण, महाभारत र शुक्रनीतिको बारेमा सुनाउने गरिन्थ्यो । अलि ठूलो भएपछि उनी गुरु गोरखनाथको आशीर्वादले राष्ट्र एकीकरणको अभियानमा लागे । किनकि उनले राजामा हुनुपर्ने गुणहरू बाल्यकालमा घरमै सिकेका थिए, उनी कुनै पढेलेखेका विद्वान थिएनन् तर उनी त्यसभन्दा माथि थिए । अचेल हामी हाम्रा सन्तानलाई शिशुकालदेखि ऊ रोएमा वा उसलाई खाना ख्वाउनु परेमा कार्टुन लगाएर मोबाइल थमाइदिन्छौं । उसलाई मोबाइलको दारुण नसेडी बनाउँछौं । यस्ता बालकबाट के इमानदारी वा देशप्रेमको आश गर्न सक्छौं ?
आमाले सन्तानलाई शूरवीर र शत्रुञ्जय बनाउन सक्छिन् भने धीर, गम्भीर, ज्ञानी, महात्मा, ब्रहृमज्ञानी र तपस्वी पनि बनाउन सक्छिन् र साधक तथा शासक दुबै गुणले युक्त बनाउन सक्छिन् । मुलुकको भविष्य आमाले आफ्नो सन्तानलाई गर्ने लालनपालन, दिने संस्कार र शिक्षामाथि निर्भर गर्छ ।
राजकुमारी मदालसा एउटी पौराणिक चरित्र हो जसको उल्लेख पुराणमा पाइन्छ । उनी गन्धर्वराज विश्वावसुकी पुत्री थिइन् । कालान्तरमा उनको विवाह राजकुमार ऋतुध्वजसँग हुन्छ । राजा ऋतुध्वज असुरहरूसँग युद्ध लड्न गएका थिए । असुरहरू पराजित भइरहेका थिए । उनीहरूले मायावी जाल रचेर अफवाह फैलाए कि राजा ऋतुध्वज युद्धमा मारिए । यो सुनेर रानी मदालसाले पति वियोगमा प्राण त्यागिन् । उता ऋतुध्वजले युद्ध जितेर फर्कँदा पत्नीलाई मृत देखेर विरह गरे । उनी राजकाज छाडेर विक्षिप्त जस्तो भए । राजाको यस्तो अवस्था देखेर उनका मित्र नागराज हिमालयमा तपस्या गर्न गए । आफ्नो तपस्याबाट शिवजीलाई प्रसन्न पारेर मदालसा आफ्नो पूर्वस्वरूपमा जीवित हुने वरदान प्राप्त गर्छन् ।
मृत्युपश्चात्को पुनर्जीवनमा मदालसालाई जीवनको सारतत्व र नश्वरताको ज्ञान प्राप्त भयो । विषयभोगलाई परित्याग गरेर उनी अध्यात्मतिर लागिन् तर ऋतुध्वजले आफ्नो उत्तराधिकारीका लागि उनीबाट सन्तान प्राप्तिको याचना गरे । मदालसाले सन्तान नजन्माउने आफ्नो इच्छा प्रकट गरिन् । राजाले कारण सोधे । उनले भनिन् यदि सन्तान कुसंस्कारी वा कुलको कलंक निस्के म त्यसलाई सहन सक्नेछैन । राजाले भने म र तिमी धर्मपरायण छौं अनि हाम्रो सन्तान कुसंस्कारी कसरी हुन्छन् ? मदालसाले भनिन् कहिलेकाँही असल मातापिताका सन्तान पनि दुष्ट निस्कन्छन् र दुष्ट मातापिताका सन्तान पनि असल निस्कन्छन् । यो निश्चित छैन कि असल मातापिताको सन्तान असल नै निस्कन्छन् । अन्त्यमा मदालसाले सन्तान जन्माउन स्वीकार गरिन् तर सन्तानलाई उनले हुर्र्काउने शर्तमा । राजाले उनको शर्त स्वीकारे ।
मदालसा गर्भवती भएपछि उनले उपासनामा बढी ध्यान दिन थालिन् । समयमा संस्कारी पुत्र जन्मे । पवित्रताका साथ उनले उनको पालनपोषण गर्न थालिन् । शिशु जब रुन्थे उनले उनलाई वेदान्त ज्ञानले पूर्ण लोरी सुनाउँथिन् । शुद्धोकसि बुद्धोकसि निरञ्जनोकसि । संसार माया परिवर्जितोकसि । संसार स्वप्नं त्यज मोहनिद्रांंं । तिमी शुद्ध हौ, तिमी बुद्ध हौ, तिमी हौ निरञ्जन सर्वदा । संसार मायाबाट रहित छ, तिमी स्वरूपस्थित सर्वदा । यसरी उनले तीनवटा पुत्रलाभ गरिन, विक्रान्त, सुबाहु र शत्रुमर्दन । पुत्रहरू माताबाट संस्कारित हुँदै मायाबाट निर्लिप्तनिवृत्तिमार्गको साधक बने । सबैले राजदरबार त्यागेर सन्यास लिए । पिता ऋतुध्वज यो देखेर निराश भए वंश कसरी चल्छ ।
एकपटक मदालताकी सखीले सोधिन् तिमी कस्ती आमा हौ, के तिमीभित्र ममता छैन ? तिमी कसरी सानासाना पुत्रहरूलाई सन्यासी बनाएर वनमा पठाउँछ््यौ ? मदालसाले उत्तर दिइन् जुन जीव एकपटक मेरो कोखमा आयो, यदि फेरि ऊ अन्य स्त्रीको फोहोरी कोखमा आइहाले यो मेरो जीवनको लागि धिक्कार हो । म आफ्नो सन्तानलाई जीवन मृत्युको महादुःखमा जान दिन चाहन्न । मदालसा फेरि गर्भवती भइन् । यस पटक राजाले भने यदि फेरि पनि मेरा पुत्र निवृत्तिमार्गमा लागे भने मेरो विराट राजपाट कसले सम्हाल्नेछ ? त्यसैले यो पुत्रलाई राजकाजको शिक्षा देऊ । मदालसाले राजाको आग्रहलाई स्वीकार गर्दै नवबालकलाई राजकाज र क्षत्रीय धर्मको शिक्षा दिइन् ।
कनिष्ठ पुत्र अलर्क माताको दिव्यज्ञानले संस्कारित भएर सर्वगुणसम्पन्न भए । उनले राजकाजको शिक्षासहित माताबाट न्याय, करुणा, दानको पनि शिक्षा प्राप्त गरे । वाल्मीकि रामायणको आख्यान अनुसार एउटा नेत्रहीन ब्राहृमण राजा अलर्क समीप आए, अलर्कले उनलाई दुबै नेत्रदान दिए । यसरी अलर्क विश्वको पहिलो नेत्रदानी बने । यो अद्भूत त्यागको शिक्षा अलर्कलाई माताबाटै प्राप्त भएको थियो । यदि आमाले सन्तानलाई शूरवीर र शत्रुञ्जय बनाउन सक्छिन् भने धीर, गम्भीर, ज्ञानी, महात्मा, ब्रहृमज्ञानी र तपस्वी पनि बनाउन सक्छिन् र साधक तथा शासक दुबै गुणले युक्त बनाउन सक्छिन् । मुलुकको भविष्य आमाले आफ्नो सन्तानलाई गर्ने लालनपालन, दिने संस्कार र असल शिक्षामाथि निर्भर गर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच