जाजरकोट भूकम्पः राहत वितरणमा ढिलाई, पीडितलाई समस्या

नन्दराम जैशी
Read Time = 7 mins

सुर्खेत । भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा राहत वितरण गर्न ढिलाई भएपछि भूकम्प पीडितलाई समस्या परेको छ । एकद्वार प्रणालीबाट राहत वितरण गर्नुपर्ने बाध्यताले एकै पटक सबै ठाउँमा राहत नपुग्दा पीडितलाई खान र बस्न समस्या भएको हो ।

जाजरकोटको बारेकोट गाउँपालिकाका भूकम्प पीडितले सोमबारसम्म राहत पाएका छैनन् । त्रिपाल, कम्बल, खाद्यान्न लगाएतका राहत सामाग्री गाउँ नपुग्दा खानाको जोहो गर्न र चिसो रात काट्न पीडितलाई मुस्किल परेको छ ।

एकातिर भौतिक संरचना र आफन्त गुमाएको पीडाले थलिएका भूकम्प पीडितले समयमै राहत नपाउँदा मानसिक रुपमा पनि विक्षिप्त हुन थालेका छन् । बारेकोट गाउँपालिका ६, का भूकम्प पीडित डम्बर विश्वकर्माले खुला आकाशको चिसोमा रात काट्न बाध्य भएको भन्दै राहतका लागि त्रिपाल र खाद्यन्न समेत नपाएको गुनासो गर्नुभयो ।

‘चार जनाको परिवार भूकम्पबाट त बाँच्न सफल भयौं । तर, आफन्त र घरभित्र रहेको खाद्यान्न तथा लत्ताकपडाहरु ढुङ्गाबाटोमै बिलाए’ जाजरकोट भेरी नगरपालिका–१ रावत गाउँका चन्चल रावतले भन्नुभयो, ‘आजसम्म राहत पाएका छैनौ । पीडामाथि पीडा सहेर खुल्ला आकाशमूनी पाल टाँगेर चिसोमा रात काट्दैछौं ।’

समयमै राहत नपाउँदा भेरी नगरपालिका–१ कै मानबहादुर विकले पनि पीडामाथि थप पीडा थपिएको महशुस गर्नुभएको छ । नेपाली सेनामा कार्यरत उहाँले भूकम्पबाट ७० वर्षीया हजूरआमा र तीन वर्षको छोरा गुमाउनु परेको छ । उहाँले भन्नुभयो, ‘भुकम्पले छोरा र हजूरआमाको ज्यान लियो । श्रीमति र आमाको उपचार भइरहेको छ । राहत पाएको भए भोको पेट भरिन्थ्यो कि ?’

यी उदाहरण प्रतिनिधि पात्र मात्रै हुन् । तर समयमै राहत नपाउँदा भूकम्प पीडितको बिचल्ली हुन थालेको छ । भूकम्प प्रभावित क्षेत्रमा तत्काल अत्यावश्यक कुराहरूको आवश्यकता देखिन्छ । खाद्यान्न, पाल, कम्बल, भाँडाकुँडाको आवश्यकता छ । तर जिल्लामा पुगेको राहत समयमै गाउँ नपुग्नु दुखद पक्ष हो ।

बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले राहत वितरणमा एकद्वार प्रणालीले समयमै राहत नपुग्दा निकै पीडाको महशुस भएको बताउनुभयो । ‘पीडित त्रिपाल, कम्बल खाद्यान्न नपाएर तड्पिराखेका छन् । हामीले पालिकाको तर्फबाट सकेजति सहयोग गरेका छौँ’ उहाँले भन्नुभयो, ‘सदरमुकाममा सीडीओले सबै सामाग्री होल्ड गरेर बस्नुभएको छ । एकद्वार प्रणालीका नाममा राहत पुग्नैपर्ने ठाउँमा पुग्न नदिने काम भयो ।’

एकद्वार प्रणालीको नाममा सहज राहत वितरणको बाटो नै बन्द गरिएको उहाँको आरोप छ । ‘हामीले सहयोगको अपिल गरेका छौँ तर, प्रदेश र संघबाट हामीलाई खोज्ने काम भएको छैन’ उहाँले भन्नुभयो, ‘हाम्रो पीडा र अवस्था के छ ? भनेर प्रदेश र केन्द्रले बुझ्न सकेको छैन । तत्काल भौतिक पुनर्निर्माणको अभियान पनि सञ्चालन गर्नुपर्ने छ ।’

यता जाजरकोटका प्रमुख जिल्ला अधिकारी शुरेस सुनारले राहत वितरण जारी रहेको भन्दै सबै पीडितले पहिलो चरणको राहत पाइसकेको दावी गर्नुभयो । ‘राहत वितरणमा एकद्वार प्रणाली अपनाउदाँ सबै राहत एकैचोटी नपुगेपनि पीडितले अवश्य राहत पाउनेछन्’ उहाँले भन्नुभयो, ‘अन्य निकायले आफुखुसी राहत बाँड्दा वास्तविक पीडित छुट्न सक्छन् । एकद्वार प्रणालीबाट चरणबद्ध राहत बाँडिरहेका छौं ।’

उहाँका अनुसार राहत आउने क्रम पनि जारी छ । राहत नगद र जिन्सी सामाग्री स्वरुप उपलब्ध भइरहेको छ । साथै जाजरकोट भूकम्पबाट नौ सय १० घर पूर्णरूपले क्षति भएका छन् । भने दुई हजार आठ सय ६१ घरमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ । भूकम्पबाट एक सय ५३ जनाले ज्यान गुमाएका छन् । भने अन्य दुई सय ४६ जना घाइते भएका छन् । यस्तै एक सय ४६ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

९१ विद्यालय पूर्णरुपमा क्षति

शुक्रवार जाजरकोटको रामीडाँडा केन्द्र विन्दु भएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भुकम्पले जाजरकोटमा ९१ विद्यालय पूर्ण रुपमा क्षति भएका छन् । भने भूकम्पमा परी ८२ जना बालबालिकाले ज्यान गुमाएका छन् ।

प्रहरीले उपलब्ध गराएको हालसम्मको विवरण अनुसार जाजरकोटमा ९१ विद्यालयहरु पूर्णरुपमा क्षति भएका छन् । भने एक सय २२ विद्यालयमा आंशिक क्षति पुगेको छ । यस्तै तीन सय ६६ कक्षाकोठाहरु पूर्णरुपमा क्षती भएका छन् ।

यस्तै चार सय ७६ कक्षा कोठाहरुमा आंशिक क्षति, ४३ वटा शौचालय, ११ वटा आईसिटी ल्याव, एक पुस्तकलाय, सात विद्यालयका घेरबारहरु र चार वटा सोलार सिस्टमहरु पूर्णरुपमा क्षती भएको प्रहरीको तथ्यांक छ । रुकुमपश्चिममा भने हालसम्म दुई वटा विद्यालयका भवनहरुमा क्षति पुगेको विवरण आएको छ । यद्यपी क्षतिको विवरण भने संकलनको कार्य जारी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?