
दिल्ली । अष्ट्रेलियाका फिनिसर ग्लेन म्याक्सवेलले आइसिसी विश्वकप २०२३ मा अफगानिस्तानविरुद्ध दोहोरो शतक प्रहार गर्दै कीर्तिमान बनाउनुभएको छ । जितका लागि २९२ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४६.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो ।
अष्ट्रेलियाको जितमा ग्लेन म्याक्सवेल १२८ बलमा २१ चौका र १० छक्कासहित २०१ रनमा अल आउट हुनुभयो । म्याक्सवेलले मुजिब उर रहमानलाई ४७औँ ओभरको दोस्रो र तेस्रो बलमा छक्का प्रहार गर्नुभएको थियो । चौथो बलमा चौका र पाँचौँ बलमा छक्का हान्दै दोहोरो शतक पूरा गर्नुभएको थियो ।
एक समय अष्ट्रेलिया १८.३ ओभरमा ९१–७ को अवस्थामा थियो । आठौँ विकेटका लागि म्याक्सवेल र प्याट कमिन्सले १७० बलमा २०२ रनको अविजित साझेदारी गर्नुभएको थियो । उक्त साझेदारीमा म्याक्सवेलले १०२ बलमा १७९ रनको योगदान दिनुभयो । प्याट कमिनसले ६८ बलमा १२ रन जोड्नुभयो ।
यो आठौँ विकेटका लागि ओडिआईमा भएको सर्वाधिक ठूलो साझेदारी हो । यसअघि २००६ मा दक्षिण अफ्रिकाका जस्टिन केम्प र एन्ड्रयु हलले भारतविरुद्ध आठौँ विकेटका लागि १३८ रनको साझेदारी गर्नुभएको थियो ।
म्याक्सवेल लक्ष्य पछ्याउँदा दोहोरो शतक हान्ने पहिलो खेलाडीसमेत बन्नुभयो । यसअघि लक्ष्य पछ्याउँदा ओडिआईमा सर्वाधिक रन पाकिस्तानका फखार जमानले २०२१ मा दक्षिण अफ्रिकाविरुद्ध १९३ रन बनाउनुभएको थियो । म्याक्सवेल ओडिआईमा दोहोरो शतक हान्ने पहिलो अष्ट्रेलियाका ब्याटरसमेत बन्नुभयो । अष्ट्रेलियाबाट ओडिआईमा यसअघि शेन वाटसनले २०११ मा बंगलादेशविरुद्ध १८५ रन बनाउनुभएको थियो ।
म्याक्सवेल विश्वकपमा दोहोरो शतक प्रहार गर्ने तेस्रो खेलाडीसमेत बन्नुभयो । यसअघि २०१५ को विश्व कपमा न्युजिल्याण्डका मार्टिन गुप्टिलले वेस्ट इण्डिजविरुद्ध २३७ तथा वेस्टइण्डिजका क्रिस गेलले जिम्बाबेविरुद्ध २१५ रन बनाउनुभएको थियो ।
म्याक्सवेल विश्व कपमा दोहोरो शतक सर्वाधिक छिटो हान्ने खेलाडी बन्नुभयो । विश्व कपमा यसअघि गेलले १३८ र गुप्टिलले १५२ बलमा दोहोरो शतक हान्नुभएको थियो । दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलिया र दक्षिण अफ्रिका भिड्ने पक्का भएको छ । अंक तालिकामा दोस्रो र तेस्रो स्थानमा रहने पक्का भएपछि सेमिफाइनल भिडन्त पनि पक्का भएको हो । यी दुई देशबीच १६ नोभेम्बरमा इर्डेन गार्डेन कोलकातामा सेमिफाइनल हुनेछ । दक्षिण अफ्रिका आठ खेलमा ६ मा जित र दुईमा हारसहित १२ अंकका साथ दोस्रो स्थानमा छ ।
दक्षिण अफ्रिकाले अन्तिम खेल अफगानिस्तानसँग खेल्नेछ । अष्ट्रेलिया आठ खेलमा ६ मा जित र दुईमा हारसहित तेस्रो स्थानमा छ । अष्ट्रेलियाले अन्तिम खेल बंगलादेशसँग खेल्नेछ । अन्तिम चारमा रहने एक टोली १० अंकका साथ सेमिफाइनल खेल्ने पक्का भएको छ । त्यसैका कारण अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच सेमिफाइनल भिडन्त पक्का भएको हो ।
उता भारत आठ खेलमा १६ अंकका साथ शीर्षस्थानमा छ । भारतले चौथो स्थानको टोलीसँग वानखडे स्टेडियम मुम्बईमा १५ नोभेम्बरमा सेमिफाइनल खेल्नेछ । चौथो स्थानमा रहँदै सेमिफाइनल प्रतिस्पर्धामा न्युजिल्याण्ड, अफगानिस्तान र पाकिस्तान छन् । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच