बागलुङमा राति नौ बजेपछि देउसी-भैलो खेल्न नपाइने

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 2 mins

बागलुङ । बागलुङमा तिहारको समयमा खेलिने देउसी-भैलो रातिमा खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङले दश वटै स्थानीय तहमा राति ९ बजेपछि देउसी र भैलो खेल्न रोक लगाएको हो । रातको समयमा विभिन्न किसिमका घटना हुने हुँदा देउसी र भैलो खेल्नका लागि नौँ बजेको समय सीमा तोकेको सहायप्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनुभयो ।

प्रशासनले आ-आफ्नो कला, संस्कृतिको संरक्षण हुने गरी, अरुको धर्म-संस्कृति र परम्पराप्रति ठेस नपुग्ने गरी सौहार्द्रपूर्ण तरिकाले मनाउनसमेत आग्रह गरेको छ । देउसी, भैलो, नाचगान जस्ता कार्यक्रम सार्वजनिक यातायातलाई असर नपर्ने गरी मर्यादित तथा अनुशासित सञ्चालन गर्न प्रशासनको आग्रह छ ।

दीपावलीको अवसरमा बिजुली तथा मैनबत्तीजस्ता सामग्रीको प्रयोग गर्दा सावधानी अपनाउन सहायक प्रजिअ बरालले आग्रह गर्नु भयो । सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, झैझगडा गर्ने तथा भीडभाडजन्य गतिविधि गरी समाजमा अशान्ति सिर्जना गर्ने एवम् अशोभनीय क्रियाकलाप नगर्न भन्दै कुनै समस्या परे नजिकको प्रहरीलाई खबर गर्नु पर्ने उहाँको भनाइ छ ।

दीपावली मनाउने क्रममा प्रयोग हुने भूइँचम्पा, पटाका, आतिसबाजीजस्ता विष्फोटक पदार्थ तथा नियन्त्रित र निषेधित वस्तुको अवैध आयात, ओसारपसार, बिक्री वितरण तथा प्रयोग नगर्न भन्दै जुवातास, कौडालगायतका पैसाको हारजित हुने खेल नखेल्नसमेत प्रशासनले अपिल गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?