नियमनका नाममा प्लेटफर्मनै बन्द गर्ने कुरा उचित भएन : महासचिव पोखरेल

सरकारको कदमको सत्ताधारी दलकै विरोध

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जाल नियमनका नाममा प्लेटफर्मनै बन्द गर्ने कुरा उचित नभएको बताउनु भएको छ ।

सोमबार मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेपछि एमाले महासचिव पोखरेलले नियमनकारी कानुन बनाउँदा विरोध गर्ने तर नियमनका नाममा छनौट आधारित प्लेटफर्मनै बन्द गर्ने कुरा उचित नभएको बताउनु भयो ।

उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ ,‘नियमनकारी कानुन बनाउँदा विरोध गर्ने तर नियमनका नाममा छनौट आधारित प्लेटफर्मनै बन्द गर्ने कुरा उचित भएन है । अराजकता र छाडापनका लागि कुनै एक प्लेटफर्मको मात्र प्रयोग भएको छ वा हुन्छ भन्ने कुरा सत्य होइन । कन्टेन आधारित नियमन नै अराजकता र छाडापन रोक्ने उपयुक्त बाटो हो । ध्यान देऊ ।’

यसैगरी सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेसँगै यसको पक्ष र विपक्षमा यतिबेला सामाजिक सञ्जाल भरिभराउ छ । नेपाली कांग्रेसका महामन्त्रीद्वयले पनि सरकारको यस कदमको विरोध गर्नुभएको छ ।

महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक भए पनि सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गर्न नहुने टिप्पणी गर्नुभएको छ ।

उहाँले ‘टिकटक’ बन्द गर्ने निर्णय गरेर सरकार उल्टो बाटोमा हिँडेको आरोप लगाउनुभयो ।

“सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो, यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने/नगर्नेभन्दा पनि यो सरकारको नियतको विषय हो ।” महामन्त्री थापाले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।

यस्तै अर्कामहामन्त्री विश्वप्रकाश शर्माले पनि सरकारको उक्त कदमको विरोध गर्नुभएको छ ।

हेर्नुहाेस् शर्माकाे भनाइ जस्ताकाे तस्तै :

#गर्धनमा_पिलो_आयो_भने_गर्धननै_काट्ने_प्रधानमन्त्रीज्यु ?
कि जोखिम रहित उपचार खोज्ने ? #टिकटक बन्द गर्ने निर्णय अविलम्ब फिर्ता लेउ l
१) आज #टिकटक बन्द, भोलि फेसबुक बन्द, पर्सि कसैले भनिदेला लोकतान्त्रिक शासन प्रणालीले देश बिग्रीयो भनेर तब के गर्ने लोकतान्त्रिक प्रणालीनै भंग गरिदिने ? सरकार स्पष्ट होस्, राज्यले `स्वच्छन्दता´ नियन्त्रण गर्ने हो `स्वतन्त्रता´ नियन्त्रण गर्ने होइन !
२) सामाजिक-धार्मिक सहिष्णुताको रक्षा समाजको आत्मानुशासन र सरकारको शुसासनले हुने हो l सामाजिक संजाललाई आत्मानुशासनमा कसरी ल्याउने, खुला छलफल गरौं l तार्किक निष्कर्ष पहिल्याऔँ र पालना गरौं !
३) सामाजिक द्वेष फैलाउनेलाई पहिचान गर, नियम बनाइ त्यही व्यक्तिको टिकटक बन्द गर, No comment l तर एउटा बिराउने साह्रा पिराउने ढंगले समग्र #टिकटक बन्द गर्ने सोच अलोकतान्त्रिक छ l
४) #टिकटक मनोरञ्जनको साझा स्टेज बनेको छ l कलाकार जन्माएको छ l Live बाट कयौंले कमाएका छन् l व्यवसाय प्रवर्द्धन गरेका छन् l कयौंले सकारात्मक सम्प्रेषण गरेका छन् l दुरुपयोग जो जसले गरे, तिनलाई निरुत्साहित र नियन्त्रणको कडा बिधि बनाउ l
#तर_टिकटक_बन्दको_निर्णय_अविलम्ब_फिर्ता_लेउ !

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?