मिथिलावासीसँगको सङ्गत र सहकार्यले यो पङ्तिकारलाई मिथिलावासीले मनाउने छठ पर्वका बारेमा जान्ने र बुझ्ने अवसर मिल्यो । छठ पर्वका बारेमा आफ्नो धारणा बनाउने अवसर पनि प्राप्त भयो । मेरो बुझाइमा मिथिला क्षेत्रमा मनाइने सबैभन्दा महत्वपूर्ण पर्व हो छठ । विशेषगरी कात्तिक शुक्ल पक्षको षष्ठीको दिनमा पर्ने हुँदा यो पर्वलाई छठ भनिएको मानिन्छ । यो वर्ष छठ पर्व मङ्सिर ३ गते आइतबार परेको छ । सूर्यकी बहिनी षष्ठिकादेवीको नाममा पूजाराधना गरी पुत्र, पति र परिवारको सुखसमृद्धिको कामना गरिने चलन रहेको हुँदा कसैकसैले ‘छठीमाई’ पनि भन्ने गरेको पाइन्छ ।
पुरोहितबिनाको पूजा
हाम्रो धार्मिक परम्परामा अरू धेरै पूजामा पुरोहितको आवश्यकता पर्दछ । तर अरू धेरै यस्ता पूजा पनि छन्, जसमा पुराहितको आवश्यकता पर्दैन । नेवारको म्हपूजामा पुरोहितको आवश्यकता नपरेजस्तै छठपूजामा पनि पुरोहितको आवश्यकता पर्दैन । अरू पूजामा पुरोहितको आदेशअनुसार अघ्र्य दिइन्छ । छठपूजामा दिइने अघ्र्यमा भने पुरोहित चाहिँदैन । ब्रतालुहरूले आफैंले सूर्यमन्त्र उच्चारण गर्दै अघ्र्य दिन्छन् ।
दार्शनिक पक्ष
छठ पर्वको दार्शनिक महत्व रहेको पाइन्छ । अस्ताउँदो सूर्यलाई अघ्र्य दिनुले ज्येष्ठ पुस्ता अर्थात् जीवनको उत्तरार्धमा पुगिसकेका अग्रजको सम्मानलाई जनाउँछ । यसैगरी उदाउँदो सूर्यलाई अघ्र्य दिनुले ऊर्जावान नयाँ पुस्तालाई ससम्मान स्वागत गरेको अर्थ दिन्छ । छठ पर्वमा नारीले गर्ने पूजा र उसले बस्ने निराहार ब्रतको प्रभावस्वरूप सन्तान प्राप्त हुने, पतिको आयु बढ्ने र अन्य मनोकांक्षा पूरा हुने विश्वासले समाजमा नारीको महत्वलाई पनि दर्शाएको पाइन्छ ।
छठलाई आरोग्य र उन्नतिदायक पर्वको रूपमा लिइन्छ । छठ पर्वमा पुजिने सूर्य र जल दुवै आदिशक्ति हुन् । पुराणमा सूर्यलाई ‘आरोग्यं भाष्करादिच्छेत्’ भनिएको छ । जललाई त जीवन नै मान्ने गरिएको छ । .....
छठलाई आरोग्य र उन्नतिदायक पर्वको रूपमा लिइन्छ । छठ पर्वमा पुजिने सूर्य र जल दुवै आदिशक्ति हुन् । पुराणमा सूर्यलाई ‘आरोग्यं भाष्करादिच्छेत्’ भनिएको छ । जललाई त जीवन नै मान्ने गरिएको छ । त्यसैले जलाशयमा बसेर सूर्यको आराधना गर्नुको अर्थ जल र जलस्रोतलाई स्वच्छ र सफा राख्ने अनि त्यसको संरक्षण गर्ने प्रेरणा मिलोस् भन्ने सन्देश दिनु पनि हो ।
वैज्ञानिक पक्ष
सूर्यलाई ऊर्जाशक्तिको मुख्य स्रोतको रूपमा चिनिन्छ । संसारका सबै भौतिक विकास सूर्यमाथि आधारित छन् । सूर्यको शक्तिबिना जीव र वनस्पतिको अस्तित्व सम्भव छैन । यसका साथै सूर्यको किरणले संसारलाई प्रकाशमात्रै दिएको छैन, यसले खुट्टा, जोर्नी, तिघ्रा, काँध, मस्तक, कपाल तथा मुटुसम्बन्धी रोगहरूको उपचार उदीयमान सूर्यको किरणबाट गर्न सकिने अथर्ववेदमा उल्लेख गरिएको पाइन्छ । सूर्यको किरणबाट चर्मसम्बन्धी रोग पनि निको हुने वैज्ञानिकहरूले पुष्टि गरिसकेका छन् । योगविद्यामा सूर्यनमस्कारको ठूलो महत्व छ ।
लोककल्याणकारी पर्व
पुर्खाहरूले छठलाई लोककल्याणकारी पर्वको रूपमा मनाउन थालेको पाइन्छ । जलाशयमा बसेर सूर्यको आराधना गर्ने परम्पराले जल र जलस्रोतको सफाई, स्वच्छता र त्यसको संरक्षणमा ध्यान दिनुपर्छ भन्ने सन्देश दिन्छ । यस्तै छठ पर्वको प्रसादका रूपमा विशेषगरी ठेकुवा, भुसवा (कसार)लगायत ७० प्रकारका विभिन्न फलफूल आदि सामग्री चढाउने परम्पराले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न खोजेको पाइन्छ । यो पर्वले स्थानीय उत्पादन र उत्पादकलाई हौसला बढाउने र यसले कर्मशीलताको विकास गरी लोककै हित गर्ने हुँदा यस पर्वलाई लोकपर्व पनि भन्ने गरिएको छ ।
कृषिलाई बढावा
छठ पर्वले कृषि उत्पादनको महत्वलाई स्वीकार गरेको छ । मानिसको जीवन कृषि उत्पादनसँग जोडिएको छ भने कृषि उत्पादन प्रकृतिसँग जोडिएको छ । त्यसैले जीवन र प्रकृतिलाई एकअर्काको पूरकको रूपमा बुझिन्छ । प्राकृतिक सम्पदाको संरक्षण गर्दै कृषि उत्पादन वृद्धि गर्न सकियो भने जीवन सम्पन्न र समृद्ध हुन्छ भन्ने मान्यतालाई छठ पर्वमा उपयोग हुने बहुसंख्यक कृषिवस्तुले पुष्टि गरेको छ । यस अर्थमा छठ पर्वलाई प्रकृतिपूजाको रूपमा पनि बुझ्न सकिन्छ । छठ पूजामा प्रयोग हुने गबडी धान (साठी) सुथनी, अदुवा, बोडी, उखु, नरिवल, स्याउ, सुन्तला, सक्खर, कागती, केराको घरी, गहुँ आदि झण्डै ७० प्रकारका कृषि उत्पादनलाई प्रसादको रूपमा प्रयोग गरिनाले कृषि र किसानलाई पनि सम्मान र संरक्षण गरेको देखिन्छ ।
समावेशी बन्दै छठ
मिथिला क्षेत्रमा मनाइने छठ पर्व अब मिथिलामै मात्रै सीमित छैन । गैरमिथिलावासीले पनि छठ पर्व उत्तिकै हर्ष र उल्लासका साथ मनाउन थालेका छन् । विशेषगरी मिथिलावासीको सङ्गतमा परेका गैरमिथिलावासीले छठ पर्वलाई मिथिलावासीले जस्तै गरी मनाउन थालेका छन् । पहाडबाट मधेस झरेका पहाडियाले मधेसीसँगै छठ मनाउन थालेका छन् भने मधेसबाट काठमाडौं छिरेका मधेसीसँगै काठमाडौंवासीले पनि छठ पर्व मनाउन थालेका छन् । उपत्यकाका नेवारहरूले समेत छठ पर्व मनाउन थालेका छन् । उपत्यकाका कुनाकुनामा मधेसवासीहरूको बसोबास बढेकाले उनीहरूकै सङ्गतले उपत्यकाका बाहुन, क्षेत्री र नेवारले पनि छठ पर्वलाई मधेसीले जस्तै हर्ष र उल्लासपूर्वक मनाउन थालेका छन् । त्यसैले छठ पर्व अब मिथिलावासी अथवा मधेसीको मात्रै पर्व होइन, अरू धेरै गैरमिथिलावासीको पनि पर्व भएको छ ।
खर्चकै अभावमा छठघाटमा गरिबले स्थान पाउन नसक्ने, छठ पर्वका लागि आवश्यक सामग्री जुटाउन नसक्ने र अन्ततः गरिबीको लघुताभास र हीनताबोधले गर्दा त्यस्ता व्रतालुहरू छठ पर्वको पूजाप्रक्रियामै सामेल नहुने अवस्था पनि सिर्जना हुन थालेको छ ।
काठमाडौं उपत्यकाका बाहुन, क्षेत्री र नेवारको पनि उत्तिकै महत्वपूर्ण पर्व बन्न थालेको छ छठ पर्व । काठमाडौंको थापाथली, टंकेश्वरी, गुहृयेश्वरी, बागमती, मनोहरा र रानीपोखरीमा छठ पर्वका लागि घाटहरू बनाइन्छन् । त्यहाँ ब्रतालु र अन्य भक्तजनको भीड लाग्ने गरेको छ । छठ पर्वमा तराईबासी महिला दिदीबहिनीसँगै छठघाटमा लाम लागेका काठमाडौंका विभिन्न धर्म र सम्प्रदायका दिदीबहिनीको ठूलो सङ्ख्याले छठ पर्व अब समावेशी पर्व भएको सङ्केत दिन्छ । तराइबाट क्रमशः पहाड उक्लेको छठ पर्व कुनै दिन हिमालसम्म पुग्यो भने पनि आश्चर्य मान्नुपर्ने छैन । यो समावेशिताले छठ पर्वको धार्मिक तथा सामाजिक महत्वलाई अझ बढाएको छ । छठ पर्वको तयारीदेखि यसको समापनसम्म समुदायका सबै धर्म, जाति र सम्प्रदायका मानिस सहभागी भएको देख्दा छठ पर्वलाई समावेशिताको पर्वको रूपमा हेर्न कर लाग्छ ।
सामाजिक सद्भाव बढाउँदै
पवित्रता र निष्ठापूर्वक मनाइने छठ पर्वले सामाजिक सद्भावलाई पनि बढावा दिंदै आएको छ । कानुनले नै देशलाई छुवाछूतमुक्त गरे पनि हाम्रो समाजमा अझै यस्तो प्रथाको अवेशष बाँकी छ । तर छठ पर्वले यस्तो अनुभूति हुन दिएको छैन । सबै जातिले एकै जलाशयमा छठघाट बनाई छठीमाताको पूजा गर्ने र सूर्यको उपासना गर्ने हुँदा त्यहाँ छुवाछूत र जातिय भेदभावको अन्त्य भएको देख्न पाइन्छ । अझ विशेषगरी छठ पर्वमा डोम जातिले बनाएको ढकी, नाङ्लो, कनसुप्ली आदि बाँसका सामग्री, कुमाल जातिले बनाएको हात्ती तथा अन्य भाँडाकुडाको प्रयोग गरिन्छ ।
यसरी स्थानीय जातिले बनाएका सामग्रीको उपयोग गरेर जातीय सम्मान र सहयोगको भावनालाई पनि उजागर गरेको पाइन्छ । समुदायका सबै मिलेर जलाशयको सरसफाइ गर्ने, घाट निर्माण गर्ने र सजाउने, ब्रतालुको सेवा र सुरक्षा गर्ने, नाचगान गरी रमाइलो गर्ने परम्पराले जातिय छुवाछुत र भेदभावको बाँधलाई भत्काएको अनुभूति हुन्छ । यसरी छठ पर्वले विस्तारै सामाजिक सद्भाव बढाउँदै लगेको महसुस गर्न सकिन्छ ।
बढ्दै बेथिति
लोकआस्थाको पर्वको रूपमा मनाइन्छ छठ पर्व । धार्मिक आस्था, सामाजिक सद्भाव र जातीय समानताको दृष्टिकोणले छठ पर्वलाई महत्वपूर्ण लिइन्छ । पछिल्लो समय यो पर्व मनाउने क्रममा आधुनिकता हाबी भएसँगै बेथिति छ । यसले गर्दा छठ पर्वको मौलिकता हराउने चिन्ता बढेको छ ।
छठ पर्वलाई उत्साह र उमङ्गपूर्वक क्रममा मनाउने क्रममा छठघाटलाई आकर्षक बनाउन र पूजाअर्चना गर्न सजिलो होस् भनी केराको बोट तथा अशोकका हाँगा र दियोले सजाउने छठघाट अचेल भने बाँस, फलामका पाइप, कृत्रिम फूल र झिलीमिली बत्तीले निकै तडकभडकपूर्ण ढङ्गल सजाउने गरिएको छ । षष्ठीको दिनमा व्रतालु महिलाहरूले रातभर जाग्राम बसी भजनकीर्तन गर्ने र नाचगान गर्नु सट्टा अहिले डिजेको सहयोगमा आधुनिक गीतसङ्गीतमा रम्ने र झुम्ने चलन सुरु भएको छ । पर्वप्रतिको श्रद्धा, भक्ति, आस्था, विश्वास र निष्ठाको सट्टा फेसन र आडम्बर हाबी हुन थालेको छ । यसले गर्दा छठ पर्व धनीहरूको मात्रै पर्व हो भन्ने धारणाले जरो गाड्ने चिन्ता बढेको छ ।
छठ पर्वमा देखिएको आधुनिकताले नवीनता त ल्याएको छ, तर यसले छठ पर्वको मौलिकतामाथि चुनौती खडा गरेको छ । आधुनिकताले सहजता पनि ल्याएको छ, तर परम्परा लोप हुनसक्ने खतरा पनि बढेको छ । हिजोका दिनमा स्थानीय डोम जातिले बनाउने ढकी, नाङ्लो, कोनियाँ, कुमालले बनाउने माटाको भाँडा, मालीले ल्याउने फूल र चमारले बजाउने बाजाको सट्टा अहिले प्लाष्टिकका सामान, कृत्रिम फूल र साउन्डसिस्टमको प्रयोग गर्न थालिएकाले परम्परा तोडिएको छ भने जातिय पेशा सङ्कटमा पर्ने खतरा पनि बढेको छ ।
खर्चिलो पर्व बन्दै, गरिबलाई समस्या
छठ पर्वमा व्यवस्थापन र सरसफाइमा लाखौं खर्च हुने गरेको छ । भलै यस्तो खर्च विभिन्न संघसंस्थाले जुटाउने गरेका छन् । तर छठ पर्वमा प्रयोग हुने सामग्रीमा पनि केही आडम्बर देखिन थालेकाले वस्तुको मूल्यवृद्धिसँगै छठ पर्व पनि बढी खर्चिलो बन्दै गएको छ । यो पर्व खर्चिलो बनेसँगै गरिबहरूलाई चिन्ता थपिदिने गरेको छ ।
खर्चकै अभावमा छठघाटमा गरिबले स्थान पाउन नसक्ने, छठ पर्वका लागि आवश्यक सामग्री जुटाउन नसक्ने र अन्ततः गरिबीको लघुताभास र हीनताबोधले गर्दा त्यस्ता ब्रतालुहरू छठ पर्वको पूजाप्रक्रियामै सामेल नहुने अवस्था पनि सिर्जना हुन थालेको छ । यसले गर्दा अब छठ पर्व धनीकै मात्र पर्व हुने हो कि भन्ने चिन्ता पनि बढेको छ । आस्था, विश्वास र निष्ठाको पर्व धनको आडम्बरले छोप्दै लग्यो भने त्यस्तो आस्था, विश्वास र निष्ठाको स्थान धनको आडम्बरले ओगट्नेछ । यस्तो भयो भने छठ पर्वमाथिको पवित्र आस्था, विश्वास र निष्ठा डगमगाउनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच