युवतीको शंकास्पद मृत्यु : ६ दिनअघि गाडिएको शव परीक्षणका लागि निकालिँदै

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 3 mins

सर्लाही । सर्लाहीको हरिवन नगरपालिका-११, बालगङ्गामा छ दिनअघि गाडिएको युवतीको शव खाल्डोबाट निकालेर परीक्षण गरिने भएको छ ।

युवतीको मृत्यु शङ्कास्पद रहेको भनी प्रहरीमा जानकारी आएपछि असोज २६ गते गाडिएको १७ वर्षीया तबसुन खातुनको शव उत्खनन गरेर निकाल्न लागिएको हो । स्थानीय शेख इर्सादकी छोरी तबसुनको मृत्युको कारण खुल्न सकेको छैन् । तबसुनको मृत्युबारे यसअघि प्रहरीमा कुनै जानकारी नै आएन । युवतीको शव असोज २६ गते नै मुस्लिम समुदायको शव दाहसंस्कार गर्ने स्थल ‘कबरस्थान’ मा लगेर गाडिएको थियो ।

घटनाबारे हिजो बेलुका मात्रै इलाका प्रहरी कार्यालय हरिवनमा खबर आयो । प्रहरीले आज बिहान मृतकको शव उत्खनन गरेर बाहिर निकाल्न खोज्यो तर स्थानीयबाट अवरोध भयो । त्यसपछि हरिवन ११ स्थित वडा कार्यालयमा बिहान भएको सर्वपक्षिय छलफलबाट घटनाको अनुसन्धान गर्न शव निकाल्न दिने सहमती भएको छ ।

युवतीको शव परीक्षणका लागि सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पतालबाट चिकित्सकसहितको टोली आउने इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिनुभयो । उहाँले युवतीको मृत्युबारे अनुसन्धान जारी नै रहेको बताउनुभएको छ ।

प्रहरीकाअनुसार मृतक युवतीका बुवा सेख इर्साद र दाई शेख चाँद फरार छन् । युवतीको शव गाडिएको स्थल र बालगङ्गा बस्तीमा अहिले हरिवनसहित जिल्लाका विभिन्न स्थानबाट थप मद्धतमा खटिएका प्रहरी टोली व्यापक मात्रामा परिचालन गरिएको छ । हरिवन नगरपालिका-११ का वडाध्यक्ष शेष महबुब रेजाले चिकित्सकसहितको टोलीले घटनास्थलमै शव परीक्षण गर्ने र पुनः त्यहीँ गाड्ने सहमती भएको बताउनुभयो । शव उत्खनन गर्ने निर्णय भएपछि मुस्लिम अगुवाबीच अहिले छलफल भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?