राष्ट्रपति पौडेल संविधान सिध्याउने काममा लागि परेको एमाले अध्यक्ष ओलीको आरोप

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली काँग्रेसको प्रतिनिधिको रुपमा काम गरिरहेको आरोप लगाउनुभएको छ ।

राष्ट्रपतिले तनहुँमा पुगेर काँग्रेसमा भोट हालेकोमा धन्यवाद दिएको र भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा पनि काँग्रेसको प्रतिनिधिको रुपमा पुगेको ओलीको जिकिर थियो ।

पार्टीको जनसंगठन समन्वय संयन्त्रद्वारा शनिबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित आयोजित विशेष भेलामा बोल्दै उहाँले राष्ट्रपति पौडेलको शुरुदेखि नै पदीय निष्पक्षतामाथि प्रश्न उठेको दाबी गर्दै अलोकतान्त्रिक, पक्षपातपूर्ण र संविधान सिध्याउने काममा लागि परेको बताउनु भयो ।

संविधानअनुसार राष्ट्रपति पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल दुवै नचलेको अध्यक्ष ओलीको भनाई थियो । ओलीले भूकम्प पीडितको राहतमा खटिएका सेना र प्रहरीको काम गर्न नदिने गरी किन जाजरकोट जानु परेको भनि राष्ट्रपति पौडेललाई प्रश्न समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रपति जाजरकोट किन जानुभएको ? कति मान्छे मरे भन्ने कुरा उहाँले सुन्नुभएको थियो । टेलिभिजन हेर्नै भएको थियो । कति घर भत्कियो भनेर सुन्नु भएकै थियो । कति के भयो भन्नु सुन्नुभएकै थियो । त्यो भन्दा अगाडि नै खवर आइसकेको थियो–नेताहरुको भिडले, नेताहरुको चाकडीमा सेना, प्रहरी खटनुपर्दा त्यहाँ उद्धार गर्न पाईएन भन्ने आएकै थियो । उहाँ अस्पतालमा बिरामी हेर्न जाने नाममा अस्पतालका सम्पूर्ण डाक्टरहरु उहाँहरुलाई ब्रिफ्रिङ गर्न आउनुपर्ने । बिरामी छोडेर आउनुपर्ने भन्ने कुरा थाहा नै थियो । अनि, माओवादी गए भनेर काँग्रेस भएर किन जानु प¥यो राष्ट्रपतिज्यू ? उहाँ राष्ट्रपति भएर त्यहाँ जानु भएन । त्यहाँ काँग्रेस छुट्यो भनेर जानुभयो । म यो किन भन्दैछु भनेर राष्ट्रपतिज्युले तनहुँमा गएर घण्टीको यत्रा बिगबिगी भएको बेला काँग्रेस भोट दिएकोमा धन्यवाद दिन्छु भन्ने भाषा बोल्नु भयो । काँग्रेसलाई भोट दिएकोमा, रुखमा भोट हालेकोमा उहाँले धन्यवाद दिनु भयो । कति निष्पक्ष राष्ट्रपति होला । उहाँको निष्पक्षताको त कुरे नगरौं । उहाँको सम्बन्धमा थुप्रै कुराहरु आईसकेका छन । एक वर्ष पुग्नु भन्दा अगाडिनै राष्ट्रपतिले आफ्नो क्रियाकलापहरु देखाई सक्नुभएको छ । अलोकतान्त्रिकता, पक्षपातपूर्ण, उहाँलाई संविधानको मतलव छैन । शुरुदेखि नै अथवा संविधान अनुसार सरकार चल्नुपर्ने, संविधान अनुसार देश चल्नुपर्ने, संविधान अनुसार राष्ट्रपति चल्नुपर्ने, संविधान अनुसार प्रधानमन्त्री चल्नुपर्ने, संविधान अनुसार राज्यका निकायहरु चल्नुपर्ने । तर, संविधान सिध्याउने कुरामा उहाँहरु लाग्नुभएको छ ।’

अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाल र सरकारका मन्त्रीहरुले भूकम्प प्रभावित क्षेत्रमा गएर माओवादीका अध्यक्ष र मन्त्रीहरुको रुपमा काम गरेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?