अब विस्तारै नेपाली समाज चाडबाड मनाइसकेर आ-आफ्नो लयमा फर्किंदै छ । भरखरै नेपालीहरूको महान् पर्व तिहारको समापन भएको छ । सिद्धान्ततः नेपालीहरूको दोस्रो ठूलो पर्व भन्ने गरिएको तिहारलाई व्यवहारतः भने पहिलो ठूलो पर्वका रूपमै मनाउने गरिन्छ । यस पर्वमा नेपालका प्रायः सबै धर्म र जातजातिका मानिसहरूको संलग्नता हुने गरेका कारण यसो भनिएको हो । मनोरञ्जनपूर्ण र शात्विक पर्व हो तिहार । अब तिहार सकिइसकेको छ । सबैले आ-आफ्ना पेशा, व्यवसाय, दुःख, पीडा बिर्सिएर तिहार मनाएर फेरि सबै जना आ-आफ्नै पेशा, व्यवसाय र जागिरतर्फ फर्किइसकेका छन् । तिहार अब एक वर्षका लागि हामीबाट बिदा भएको छ तर यसो भन्दैमा यस वर्षका सबै चाडपर्वले बिदा लिइसकेका छन् भन्ने होइन ।
आज नेपालीहरूको अर्को महान् पर्व छठ मनाइँदैछ । सूर्यको उपासना गरेर मनाइने यो पर्व नेपालको तराई क्षेत्रमा निष्ठाका साथ धुमधाम गरी मनाउने गरिन्छ । केही दशक पहिलेदेखि काठमाडौं उपत्यकामा पनि यस पर्वले हाम्रो स्थान पाउँदै आएको छ । यहाँ तराईवासीहरूको संख्या वृद्धि भएकाले मात्र होइन यहाँका बासिन्दाका साथै तराईबाट उपत्यकामा आएर बसोवास गर्ने पहाडीमूलका मानिसहरूमा समेत छठप्रतिको आस्था बढ्दै गएकाले उपत्यकाभित्रका नदी तथा पोखरीहरूमा समेत आज विशेष ढंगले सिँगारपटार गरेर छठ मनाइँदै छ । यो नेपालीहरूको सहिष्णुता र आपूmले पालन गर्दै आएको भन्दा अर्को संस्कार, संस्कृतिप्रति सम्मान दर्शाउने प्रवृत्तिको द्योतक पनि हो । यसले नेपालीहरूको सहअस्तित्वको भावसमेत प्रकट गर्दछ । यसले देवता अर्थात् तिनलाई मान्ने पर्वहरू कुनै एक वर्ग, जात, धर्म, संप्रदायको निजी हुँदैनन् सबैका साझा हुन्छन् भन्ने पनि देखाउँछ ।
सूर्य कसैको निजी हुन सक्दैन, यो मानिसको मात्र नभएर सम्पूर्ण चराचर तथा सबै वनस्पति जगतको समेत साझा हो । सूर्यविना पृथ्वीलोकमा अस्तित्वमा रहेका कुनै पनि प्राणी तथा वनस्पतिको उपस्थिति नै रहने थिएन । त्यस अर्थमा सूर्यको पूजार्चना र उपासना गर्ने पर्व छठ सबैको साझा र सबैका लागि मान्य पर्व हो । त्यस कारण सबैमा छठ पर्वको हार्दिक शुभकामना । तीज, बडादशैँ, तिहार, छठलगायत पर्व यस वर्षका लागि हामीबाट बिदा भइसकेका छन् । यसो भन्दैमा सबै पर्व बिदा भइसके भन्ने होइन । धान्यपूर्णिमा, मंसिरे पूर्णिमा वा योमरी पुन्ये अथवा उधौली भनिने मंसिर शुक्ल पूर्णिमा, माघी वा माघे संक्रान्ति, छ्योल्होसार, सोनाम ल्होसार र ग्याल्मुल्होसार आउँदै छन्, ती सबै पर्वको समेत सबै नेपालीहरूमा अग्रीम शुभकामना ।
यसका साथै नेपालमा हाल केही राजनीतिक प्रचारबाजी, केही सञ्चारमा प्रतिबन्ध लगाउनेसम्बन्धी कार्य र तिनको चर्चा तथा समस्या र समाधानको प्रयास भइरहेका छन् । पश्चिम नेपाल भुइँचालाको कठोर प्रहारबाट आक्रान्त र आहत बनिरहेको छ । चाडबाडको मुखमा मध्यरातमा गएको भुइँचालोबाट पश्चिम रुकुम र जाजरकोट थङ्थिलो बनेको छ । कोही घरबारविहीन बनेका छन् भने कोही परिवारविहीन बन्नपुगेका छन् । तिनका लागि राहत वितरण भइरहेको छ तर त्यो पर्याप्त भएको छैन । जाडो सुरु भइसकेको छ । जाडोले कठांग्रिएर केहीको ज्यान गएको छ । त्यहाँका पीडितहरूका लागि आवश्यक व्यवस्था गर्न तीनै तहका सरकारले आवश्यक प्रयास गर्नु जरुरी छ ।
अर्कोतिर सरकारले सामाजिक सञ्जालमा कडाइ गरेको छ । यसो गर्नु आवश्यक थियो तर सामाजिक सञ्जालको एउटा लोकप्रिय एप टिकटक नै बन्द गरिदिएको छ । यसले गर्दा सरकारप्रतिको रोस, कटाक्ष र आलोचना भइरहेका छन् । टिकटकले सामाजिक विकृतिहरू बढाएको कुरा निश्चित हो । गालीगलौज र अश्लीलता बढाएकै हो तर यसो भन्दैमा त्यसमा नियन्त्रण गर्नुपर्नेमा टिकटक नै बन्द गरिदिनु जायज थिएन । कसैलाई कुनै रोग लाग्यो भन्दैमा रोगको उपचार गर्नुको सट्टा रोगीलाई नै मारिदिनु हुँदैनथ्यो भन्नेहरूको संख्या निकै ठूलो छ । टिकटकबाट लोकप्रियता आर्जन गर्नेदेखि आयआर्जन गर्नेहरूसमेत धेरै थिए । तिनको त्यो माध्यम खोसिएको छ ।
टिकटकले नराम्रा कुराको प्रसारमात्र गरेको थिएन व्यापार, व्यवसाय, सूचना, सन्देश संप्रेषण जस्ता धेरै राम्रा काम पनि गरेको थियो । अदालतमा यस विषयमा धेरैवटा रिट परिसकेका छन् । यसका लागि अदालतको फैसलाको प्रतीक्षा गर्नु नै उचित र सान्दर्भिक हुनेछ । यसैगरी देशमा विद्यमान अनेकौं समस्या हुँदाहुँदै तिनलाई बिर्सिएर केही ठूला पार्टीका नेताहरू सरकार परिवर्तनको प्रयासमा रहनुभएको पाइएको छ । देश र जनताका आवश्यकता, तिनको समाधानको प्रयास नेताहरूको पहिलो प्राथमिकता हुनुपर्ने हो तर हाम्रो सन्दर्भमा यसो हुन सकिरहेको छैन । नेतृत्वमा पुग्ने होडबाजी अनि सरकार बनाउने र ढाल्ने प्रयास जहिल्यै पनि राजनीति गर्नेहरूको प्राथमिकतामा पर्दै आएको छ । यो नै नेपालका लागि सबैभन्दा आलोच्य पक्ष हो । त्यसकारण यस्ता स्वार्थप्रेरित राजनीतिक काम त्यागेर समग्र देशका हितका लागि सबैको साझा प्रयास हुनु आजको आवश्यकता हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच