छठ पर्वको यस्तो छ- महत्व र पूजा विधि

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । चार दिनसम्म मनाइने छठ पर्वको मूख्य दिन आज आइतबार साँझ अस्ताउँदो सुर्यलाई अघ्र्य दिइँदैछ । खासगरी, छठ पर्वको पहिलो दिन बर्तालु महिला वा पुरुषले स्नान गरी चोखो हुने यस विधिलाई ‘नहायखाय’ भनिन्छ । दोस्रो दिन ‘खरना’। तेस्रो षष्ठीका दिन नदी वा तलाउमा अस्ताउँदो सूर्यलाई अर्घ्य र चौंथो दिन बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व समापन हुने गर्छ ।

आज छठ पर्वको मूख्य दिन भएकाले सरकारले पर्वका अवसरमा सार्वजनिक बिदा समेत दिएको छ । परिवारको कल्याण, सन्तान प्राप्ति र आरोग्यको कामना गर्दै घरका देवीदेवताका पूजाका साथै छठी माता र सूर्यदेवको पूजा अराधना गरी यो पर्व निष्ठाका साथ मनाइने मनाउने गरिएको छ । हरेक वर्ष मनाइने यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिनाका साथै छठी माताको पनि पूजा गरिन्छ ।

छठ पर्वमा खासगरी छठी माताको पूजा गरिन्छ । छठी माताको सन्दर्भमा धार्मिकग्रन्थ ‘मद्यदेवी भागवत् पुराण’को नवौं स्कन्धमा उल्लेख भएअनुसार सन्तान प्राप्तिको मनोकामना राखेर राजा प्रियव्रतले यज्ञ गरे । महषि कश्यपले यज्ञको आहूतिका लागि पकाइएका खिर रानी मालिनीलाई प्रसादको रुपमा ग्रहण गर्न दिए र त्यो खिर खाएपछि निर्धारित समयमा रानीले एक पुत्ररत्न जन्म दिइन् तर उनी मृत अवस्थामा जन्मेका थिए ।

सन्तान प्राप्त भएको खुशी एकै छिनमा शोकमा परिणत भयो । मृत सन्तानको जन्मको खबरले राजा बिहृवल भए र सो सन्तानको अन्तिम संस्कारका क्रममा मसान घाटमा राजा प्रियव्रतले प्राण त्याग गर्न खोजे । सोही समयमा दिव्यरथमा सवार एक देवी प्रकट भएर राजालाई प्राण त्याग नगर्न सल्लाह दिँदै भनिन् ,’म, ब्रहृमाकी मानस पुत्री देवसेना हुँ । सृष्टिको मूल प्रवृतिबाट मेरो उत्पति भएको हो । सोही कारणले मलाई षष्ठी पनि भनिन्छ ।’

उनले भनिन्, ‘हे राजन’ मेरो पूजा गर्नु र प्रजालाई पनि पूजा गर्न सल्लाह दिनु । मेरो पूजा गरेमा सन्तानको रक्षा, कर्मशील सन्तान हुने, मनोकामना पूरा हुने र दरिद्रता पनि अन्त्य हुनेछ ।’ त्यसपछि राजाले देवीको आज्ञानुसार पूजा गरेपछि पुनः पुत्ररत्न प्राप्त भयो । कात्तिक शुक्ल षष्ठी तिथिमा षष्ठी देवीको पूजा शुरु भएको र कालान्तरमा षष्ठी शब्द अपभ्रंश हुँदै छठ वा छठी पर्वको नामले परिचित भएको देखिन्छ ।

त्रेता युगमा भगवान् रामले वनवास हुँदा रावणको बध गरेको र वनवासको अवधि पूरा भएपछि कात्तिक शुक्लऔंसी तिथिमा उनी अयोध्या फर्केकाले सोही साँझ अयोध्यावासीले खुशीयालीमा दीप प्रज्जवलित गरेर दीपावली मनाइएको कुरा राममायणमा उल्लेख छ । राजकाज सञ्चालन गर्नुअगावै रावणसँग भएको युद्धको दागबाट मुक्त हुन ऋषिहरूले भगवान् रामलाई कात्तिक शुक्ल षष्ठीे तिथिमा सूर्यको उपासना गर्न सल्लाह दिए ।

अविलम्ब राजकाज सञ्चालन गर्नुपर्ने भएकाले सोही तिथिमा रामले सूर्यको उपासना गरेर पाप मोचन गरेका र यी दुबै महत्वपूर्ण कार्य एउटै तिथिमा भएकाले संयुक्त रुपमा षष्ठी माता र सूर्यको पूजा गर्न थालिएको विश्वास गरिन्छ ।

यसैगरी सर्वशास्त्रज्ञ शौंनक मुनिले रोगग्रस्त, सन्तानहीन, अल्पआयुमा मृत्यु लगायत कष्टमा रहेका मानवको दुःख नाशको उपायबारे सूतजीसमक्ष जिज्ञासा राख्दा सोही समयमा उपस्थित भीष्म पितामहले पुलस्त्यमुनिबाट प्राप्त जानकारी सुनाउँदै, भने, ‘एक दुष्ट क्षेत्रीय राजा कुष्ठ र क्षयरोगबाट ग्रसित थियो । सो कष्टबाट मुक्ति पाउनका लागि उनले मृत्युलाई नै वरण गर्नु नै उत्तम उपाय ठाने । सोही समयमा एक ब्राहृमण राजदरबारमा पुगेपछि राजाले विद्ववान ब्राहृमणसमक्ष आफ्नो शारीरिक कष्टका साथै कतिपय प्रजा पुत्रविहीन रहेको र कतिपयको अल्पायुमा मृत्यु हुने गरेकाले सोको समाधान गर्ने उपाय बताउन आग्रह गरे ।’

त्यसपछि ब्राहृमणले सबै कष्टको निवारण सूर्यदेवको उपासनाबाट मात्र सम्भव रहेकाले कात्तिक शुक्ल पञ्चमी तिथिमा खरना गर्दै षष्ठी तिथिमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजाबारे जानकारी गराएकाका थिए । सोहीबेलादेखि षष्ठी तिथिमा विधिवत् सूर्यदेवको पूजा गरेपछि राजा र प्रजाको कष्ट निवारण भएको विश्वासमा यो पर्वकोे महत्व बढ्दै गएको उल्लेख छ ।

यस्तो छ पर्वको विधि

यस पर्वका बर्तालुले कात्तिक शुक्ल चतुर्थीमा घरको पूजास्थलमा गाईको गोबरले लितपोत गर्छन् । त्यसपछि, स्नान गरी अरुवा अरुवाइन खाने गर्छन् । यसलाई ‘नहायखाय’ भनिन्छ । पञ्चमी तिथिका दिन ‘खरना’ गरिन्छ । सो दिन बर्तालु दिनभर उपवासमा बसेर बेलुकी नयाँ माटोको चुल्होमा खिर पकाउने गर्छन् ।

घर(घरमा देवीदेवताको पूजापाठको क्रममा सो खिर प्रसादको रुपमा चढाइन्छ । परिवारका सदस्यलाई प्रसादको रुपमा वितरण गरेपछि बर्तालुले पनि सो खिर प्रसादको रुपमा ग्रहण गरेर पुनः उपवासलाई निरन्तरता दिने गर्छन् । त्यसपछि, लगातार ३६ घण्टाको कठोर उपवासका क्रममा षष्ठी तिथिमा अस्ताउँदो र बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन हुन्छ ।

विभिन्न समुदायका मानिसहरु जलाशयको डिलमा सौहार्दपूर्ण वातावरणमा यो पर्व मनाउने भएकाले यस पर्वलाई विभेदरहित, समावेशी एवं साझा पर्वको रुपमा लिन थालिएको छ । एजेन्सीबाट

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?