काठमाडौं । काठमाडौंको बालाजु वनस्थलीस्थित सिद्धार्थ वनस्थली इन्स्टिच्युटले आफ्नो स्वर्ण जयन्ती मनाएको छ ।
स्वर्ण जयन्तीका अवसरमा वरिष्ठ नेत्र विशेषज्ञ डा.सन्दुक रुइतले इन्स्टिच्युटले शिक्षा क्षेत्रमा एउटा अनुपम नमुना रचना गरेको बताउनुभएको छ । आफू त्यही संस्थाको भूतपूर्व विद्यार्थीलाई स्वर्ण जयन्तीमा प्रमुख अतिथि बनाएर विद्यालयले ठूलो गुन लगाएको उहाँले बताउनुभयो ।
नेपालको विविधता नै सम्पत्ति भएकाले त्यसबाट फाइदा लिनुपर्ने उहाँको भनाइ थियो । उहाँले २०२८ सालमा सोही विद्यालयबाट एसएलसी उत्तीर्ण गर्नुभएको थियो । सो अवसरमा २० वर्ष सेवा पूरा गरेका शिक्षक कर्मचारीसहित विभिन्न व्यक्तित्वहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो ।
व्यवस्थापन समितिका अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्राचार्य रूपक राजवंशीले पचास वर्षको अवधिमा इन्स्टिच्युटले थुप्रै आरोह–अवरोहबीच हजारौँ सक्षम विद्यार्थी उत्पादन गरेको उल्लेख गर्नुभयो। साथै ती विद्यार्थीहरूले स्वदेश र विदेशमा रहेर विद्यालयको शिर उँचो बनाउन महत्वपूर्ण योगदान गरिरहेको बताउनुभयो ।
विसं २००८ मा स्थापित वनस्थली विद्याश्रम, बालाजुसँग २०३० सालमा सिद्धार्थ इङ्लिस स्कुल, कमलपोखरी गाभिएर लक्ष्मण राजवंशी संस्थापक प्राचार्य भई सिद्धार्थ वनस्थली माध्यमिक विद्यालयको स्थापना भएको हो । पछि राजवंशीकै पहलमा उक्त विद्यालयको नाम सिद्धार्थ वनस्थली इन्स्टिच्युट रहन गएको हो ।
कार्यक्रममा डा. रुइतसहित छात्रवृत्तिका लागि अक्षय कोष स्थापना गर्न सहयोग गर्ने शिवराज पन्त, कृष्णप्रसाद पाठक र हरिभक्त बुढाथोकीलाई सम्मान गरिएको थियो । कलाकार मदनकृष्ण श्रेष्ठ, सिद्धार्थ वनस्थली इन्स्टिच्युट पनौती शाखाका अध्यक्ष क्याप्टेन रामेश्वर थापालगायतले विद्यालयको योगदानको चर्चा गर्नुभयो ।
वनस्थली एलुम्नाइका अध्यक्ष राजेश रौनियार, चीन अध्ययन केन्द्रका महासचिव डा. उपेन्द्र गौतमले समेत मन्तव्य व्यक्त गर्नुभएको थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच