सात दिनपछि युवतीको शव उत्खनन्, सौतेनी आमासहित तीन जना पक्राउ

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 4 mins

लालबन्दी । सर्लाहीको हरिवन नगरपालिका–११, बालगङ्गा मुस्लिम बस्तीमा सात दिनअघि गाडिएको युवतीको शव आज प्रहरीले उत्खनन गरेर निकालेको छ ।

युवतीको मृत्यु शङ्कास्पद देखिएपछि प्रहरीले खाल्डोबाट शव निकालेर परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाएको हो । स्थानीय १७ वर्षीया तबसुन खातुनको कात्तिक २६ गते भएको मृत्यु शङ्कास्पद देखिएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा खातुनको मृत्यु शङ्कास्पद देखिएपछि एक साताअघि गाडिएको शव उत्खनन गरी परीक्षणका लागि अस्पताल लगिएको सर्लाहीका प्रहरी उपरीक्षक प्रवीण धितालले जानकारी दिनुभयो ।

“युवतीको मृत्युबारे परिवारका सदस्यसँग सोधखोज गर्दा कुरा फेरिरहेका छन्,” प्रहरी उपरीक्षक धितालले भन्नुभयो,“ उनीहरु पेट दुःखेर मृत्यु भयो भन्छन् तर हामीलाई यो कुरामा शङ्का छ ।” मृत्युको कारण पत्ता लगाउन नै शव उत्खनन गरेर पोष्टमार्टम गर्न लागिएको प्रहरी उपरीक्षक धितालले बताउनुभयो । “पोष्टमार्टम रिपोर्ट आएपछि प्राकृतिक मृत्यु वा हत्या के हो रु त्यो प्रष्ट भइनै हाल्छ,” एसपी धितालले भन्नुभयो । प्रहरीले हिजो नै मृतक युवतीको शव उत्खनन गर्ने प्रयास गरेको थियो । तर मुस्लिम समुदायका धार्मिक अगुवाले यो आफूहरुको धर्मसँग जोडिएको विषय समेत भएकाले सरसल्लाहका लागि आजसम्मको समय दिन आग्रह गरेका थिए । आज बिहान धार्मिक अगुवा तथा स्थानीय समेतलाई सम्झाइबुझाई गरी प्रहरीले खातुनको शव मुस्लिम समुदायको दाहसँस्कार गर्ने ठाउँको खाल्डोबाट निकालेर परीक्षणका लागि सदरमुकाम मलङ्गवा लगेको हो । प्रादेशिक अस्पतालमा हुने पोष्टमार्टमबाट आत्महत्यासम्मको रिपोर्ट आउने र यदि अस्पतालमा परीक्षण गर्दा आत्महत्या जस्तो नदेखिए भिसेरा परीक्षणका लागि मुटु, कलेजो र फोक्सोको टुक्रा काठमाडौँ पठाइने प्रहरी उपरीक्षक धितालको भनाई छ ।

प्रहरीले यस घटनाको अनुसन्धानका लागि मृतक युवतीकी सौतेनी आमा ४५ वर्षीया सकिना खातुनसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखी अनुसन्धान अघि बढाइएको प्रहरी उपरीक्षक धितालको भनाई छ ।

शव पोष्टमार्टम गर्ने भनिएपछि मृतक खातुनका बुवा सेख इर्साद र सौतेनी आमाकी पहिलेका श्रीमानतर्फको छोरा सेख चाँद फरार छन् । प्रहरीले बाबु र छोरा दुवैको खोजी जारी रहेको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?