
काठमाडौं । दुवईमा हुने आगामी कोप २८ सम्मेलनमा नेपालले जलवायु परिवर्तनको प्रभावबाट हुने क्षति तथा नोक्सानीसँगै पानीको स्रोतको सुरक्षाको विषय पनि प्राथमिकताका साथ उठाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । कोप सम्मेलनको पूर्वसन्ध्यामा सोमबार राजधानीमा आयोजित नेपालमा पानी र जलवायु परिवर्तनसम्बन्धी संवाद विषयक कार्यक्रमका सहभागीहरूले पानीको विषय उठान गर्नुपर्नेमा जोड दिएका हुन् ।
पानी र हावा दूषित हुँदासमेत कृषिजन्य उत्पादनमा नकारात्मक प्रभाव पर्ने गरेकाले आगामी कोप सम्मेलनमा पानीका स्रोत संरक्षणको मुद्दालाई प्राथमिकताका साथ उठाउनुपर्ने विज्ञहरूले सुझाएका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयकी सहसचिव शान्ता कार्कीले पानीको सुरक्षा नै कृषि क्षेत्रको पनि सुरक्षा भएको भन्दै कृषिमा जलवायु परिवर्तनको चुनौती दुई प्रकारले परिरहेको बताउनुभयो । पहिलो बाढी र पहिरोले पर्ने प्रभाव र दोस्रो खडेरीका कारण पर्ने प्रभाव भएको उहाँको भनाइ थियो ।
पानी र हावा दूषित हुँदासमेत कृषिजन्य उत्पादनमा नकारात्मक प्रभाव पर्ने गरेकाले आगामी कोप सम्मेलनमा पानीका स्रोत संरक्षण मुद्दालाई प्राथमिकताका साथ उठाउनुपर्ने कार्कीले सुझाव दिनुभयो । विद्युत् नियमन आयोगका पूर्वसदस्य रामप्रसाद धितालले पनि जलविद्युत्मा जलवायु परिवर्तनको प्रभाव दुई प्रकारले परिरहेको बताउनुभयो । नदी तथा खोलामा बर्खामा आउने बाढीले संरचनामा क्षति पु¥याउँदा विद्युत् उत्पादनमा समस्या भइरहेको र अर्कोतिर सुक्खायाममा नदी र खोलामा पानीको सतह कम भई उत्पादन घट्न जाँदा देशको जिडिपीसँगै राजस्वमा पनि कमी आउने गरेको उहाँको भनाइ थियो । उल्लेखित सबै समस्या जलवायु परिवर्तनकै कारण आइरहेको धितालले बताउनुभयो ।
गभर्नेन्स ल्याबकी प्रमुख कार्यकारी अधिकृत निशा वन्तले पानी संरक्षणका लागि स्थानीयवासीको सीप र ज्ञानको पनि उपयोग गर्नुपर्ने बताउनुभयो । नेपालमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण कार्यक्रममा सहभागी हुन महिलाका लागि अवसर रहेको भन्दै अवसर उपयोग गर्न सुझावसमेत उहाँले दिनुभयो ।
जलस्रोत तथा सिँचाइ विभागका उपमहानिर्देशक टीकाराम बरालले जलवायु परिवर्तनको प्रभाव कृषि क्षेत्रमा नराम्ररी परिरहेकाले कोप सम्मेलनमा प्राथमिकतासाथ उठाउनुपर्ने बताउनुभयो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले स्वच्छ ऊर्जा र जलस्रोतको सुरक्षाबारे धेरै महत्वपूर्ण विषय उठान भएको भन्दै कार्यक्रमले मन्त्रालयलाई पनि कोप सम्मेलनमा उठाउने विषय छनोट गर्न सहज भएको बताउनुभयो ।
प्रधानमन्त्री कार्यालयका सल्लाहकार पपुलर जेन्टलले वन तथा वातावरण मन्त्रालयसँगको सहकार्यमा कोप सम्मेलनको ‘रोड म्याप’ तयार गरिएको जानकारी दिनुभयो । रोड म्यापअनुसार नेपालमा जलवायु परिवर्तनले पारेको प्रभावको वर्तमान अवस्था झल्किने कार्यपत्र बनाएर कोप सम्मेलनमा प्रस्तुत गरिने उहाँको भनाइ थियो । यसपटकको कोप सम्मेलनमा नेपालले छुट्टै पेभेलियन लिने र पेभेलियनमा छलफलका लागि ३० वटा प्रस्ताव राखिने उहाँले जानकारी गराउनुभयो । नेपालको वर्तमान अवस्थाबारेको कार्यपत्रमा छलफल गर्न मंगलबार कार्यक्रम हुने बताइएको छ ।
कोप सम्मेलनमा नेपालको पेभेलियनमा हिमालमा जलवायु परिवर्तनको जोखिमबारेमा संयुक्त राष्ट्रसंघका महासचिवलाई मुख्य अतिथि बनाएर छलफल गर्ने कार्यक्रम तय भएको बताइएको छ । कोपका अघिल्ला सम्मेलनमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण तथा अनुकूलन कार्यक्रमबारेमा छलफल हुने गरेकोमा क्षति तथा नोक्सानीको व्यवस्थापनका मुद्दाले प्राथमिकता पाउने प्रधानमन्त्री कार्यालयका सल्लाहकार पपुलरले बताउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच