कालीगण्डकीमा स्नान र नारायण मन्दिरमा पूजागर्नेको भीड

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 4 mins

म्याग्दी । आज हरिबोधिनी एकादशी अर्थात् तुलसीको विवाह गर्ने दिन । हरिबोधिनी एकादशीका अवसरमा पवित्र कालीगण्डकी नदीमा स्नान गर्नेको बिहानैदेखि घुइँचो लागेको छ ।

म्याग्दी नदी र पवित्र मानिने कालीगण्डकी नदीको सङ्गमको रुपमा रहेको बेनीमा हरिबोधिनी एकादशीमा स्नानगर्न र गलेश्वर र बेनी स्थित लक्ष्मी नारायणको मन्दिरमा पूजापाठ गर्न ठूलो सङ्ख्यामा भक्तजनहरु आएका छन् ।

मुक्तिनाथबाट बगेर आएको र साक्षात् विष्णुको अवतारको रुपमा पुजिँदै आएको शालिग्राम पाइने एक मात्र नदी भएकाले कालीगण्डकीमा स्नान गरी घरघरमा रोपिएका तुलसीको भगवान दामोदर ((विष्णु) सँग विवाह गरिदिने प्रचलन रहेको छ ।

कालीगण्डकीमा स्नान गरेमा एक हजार गाई दान गरे बराबरको पुण्य मिल्ने भक्तजनको भनाइ छ । आजैका दिन कालीगण्डकीमा स्नान गरेर फर्केपछि घर घरमा रहेका तुलसीको मठमा असारमा पर्ने हरिशयनी एकादशीमा रोपिएको तुलसीको विवाह गरिन्छ । तुलसीको बिरुवालाई धार्मिक तथा स्वास्थ्यको दृष्टिकोणले निकै महत्वपूर्ण मानिन्छ । आजदेखि चर्तुमास ब्रतको समाप्त गरिन्छ ।

हरिबोधिनी एकादशीलाई ठुलो ठुली एकादशी पनि भनिन्छ । अन्य एकादशीहरूको तुलनामा हरिबोधिनीको एकादशीलाई सबैभन्दा ठुलो एकादशीका रूपमा मानिन्छ । त्यसैले यस एकादशीलाई ठुली एकादशी भन्ने गरिन्छ ।

आज हरीबोधनी एकादशीका दिन, असार शुक्ल एकादशीको दिन क्षीर सागरमा सुत्नु भएका भगवान श्रीविष्णु उठ्नु हुने पुराणमा उल्लेख छ । यसैकारण पनि यस दिनलाई हरिबोधिनी एकादशी भनिएको हो । आजको एकादशीमा गरीने स्नान, दान, तप आदि सबै कार्यले अक्षय यज्ञ बराबरको फलदिने धार्मीक विश्वास गरीन्छ ।

हरिशयनी एकादशीदेखि ४ महिना क्षीर सागरमा भगवान श्रीविष्णु सुतेपछिको अवधिलाई चतुर्मास भनिन्छ । यस अवधीमा कुनै माङ्गलिक कार्य गर्नु हुँदैन भन्ने मान्यता छ । त्यसैले यो ४ महिनामा विवाह, व्रतबन्ध, गृहप्रवेश आदि कार्य गरिएन । अब भने चतुर्मासको अन्त्यसंगै माङ्गलिक कार्यहरूका लागि मुहूर्त खुल्ने गर्दछन् ।

कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमा सम्मको अवधीलाई भीष्मपञ्चक भनिन्छ । महाभारत अनुसार कहिल्यै भोको नबस्ने भीमसेन पनि यस दिनब्रत बसेका थिए । त्यसैलै अरु दिनमा ब्रत बस्न नसक्ने हिन्दू धर्माबलम्बीहरुले समेत ठूलो एकादशीको दिनमा भने ब्रत बस्नै पर्ने मान्यता रहेको छ ।

हिन्दु धर्मशास्त्र वा आयुर्वेदमा महत्वपूर्ण भूमिका भएको तुलसीको बिरुवाको धार्मिक, सांस्कृतिक र वैज्ञानिक रूपमा पनि निकै महत्व छ । त्यसैले हिन्दु धर्मालम्बी घरघरमा तुलसीको मठ बनाउने र त्यसलाई पूजागर्ने गर्छन् ।

कालीगण्डकीमा स्नानगर्नका लागि आउने भक्तजनहरुको विहानैदेखि भीड छ । गलेश्वरदेखि बेनीसम्मको कालीगण्डकी किनारमा अधिकाँश महिलाहरु स्नानका लागि आएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?