अख्तियारद्वारा शिक्षक र अहेवविरुद्ध नक्कली प्रमाणपत्रको मुद्दा दायर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सुविधा लिएको आरोपमा एक शिक्षकविरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारका प्रवक्ता भोला दाहालले रुपन्देही गैडहवा गाउँपालिका–४ स्थित श्री मुक्तिधाम आधारभूत विद्यालयका प्रा.वि. राहत शिक्षक डिलमाया कुमारी कँडेलले नक्कली प्रमाणपत्र पेश गरेको आरोपमा बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको जानकारी दिनुभयो ।

कँडेलले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, भारतबाट जारी भएको हाइस्कूल परीक्षा तहको झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रा.वि. राहत शिक्षक पदमा नियुक्ति लिनुभएको थियो ।

अख्तियारका प्रवक्ता दाहालले कँडेलले झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रा.वि. राहत शिक्षक पदमा कार्यरत रही लाभ लिई  भ्रष्टाचार गरेको देखिएको अनुसन्धानबाट खुलेको जानकारी दिनुभयो ।

यसैगरी, अख्तियारले गुल्मीको मालिका गाउँपालिका–५ स्थित छापहिले स्वास्थ्य चौकीमा कार्यरत अ.हे.व. देवबहादुर महताराले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

भारतबाट एसएलसीको प्रमाणपत्र पेश गरी छापहिले स्वास्थ्य चौकी, गुल्मीमा नियुक्ति भएर लाभ र सुविधा लिएको पुष्टि भएपछि मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।

महताराले नेपाल स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूह, चौथो तह, अ.हे.व. पदको विज्ञापनअन्तर्गतको परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, भक्तपुरबाट जारी भएको एसएलसी तहको झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी लोकसेवा आयोगबाट छनौट भई सो स्वास्थ्य चौकीमा नियुक्त हुनुभएको थियो ।

शैक्षिक कँडेल र अ.हे.व. महताराविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?