काठमाडौं । काठमाडौंको बबरमहलमा पैदलयात्री आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा ल्याइएको छ । बबरमहलस्थित जिल्ला अदालत अगाडिको सडकमा १० लाख रुपैयाँ लागतमा पैदलयात्री आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको ‘क्रसिङ’ राखिएको हो । ‘पेलिकन क्रसिङ’ भनिने यसप्रकारको ट्राफिक लाइट सोमबारदेखि सञ्चालनमा ल्याइएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले बटन थिचेपछि पाँच सेकेन्डमा हरियो बत्ती बल्ने र तोकिएको ३० सेकेन्डभित्र पैदलयात्रीले जेब्रा क्रसिङ गरिसक्नुपर्ने बताउनुभयो । प्रयोग गर्न नजानेको अवस्थामा दुर्घटना बढ्ने र प्रयोग गर्न जान्दा राम्रो हुने उहाँको भनाइ छ । ‘काठमाडौं महानगरपालिकाद्वारा आमनागरिकका लागि राखिएको ट्राफिक लाइट हो ।
यसलाई थिचिसकेपछि यसले सहज रूपमा जुन तोकिएको समय छ, अहिले ३० सेकेन्ड राखिएको छ । त्यो थिचेपछि पाँच सेकेन्ड कुर्नुपर्छ । त्यो कुरेपछि हरियो बत्ती बल्छ, पैदलयात्रीका लागि’, उहाँले भन्नुभयो, ‘३० देखि ३५ सेकेन्ड तोकिएको समयमा क्रस गरिसक्नुपर्छ । यो उपयुक्त छ र यसलाई प्रयोग गर्न नजानेको अवस्थामा दुर्घटना बढ्छ । प्रयोग गर्न जान्दा त्यसले सूचना देखाउँछ । त्यसलाई ख्याल गरेर बाटो काट्नुपर्छ ।’
बागमती प्रदेशका सांसद दीपेन्द्र श्रेष्ठले यो प्रविधि लाभदायक हुने विश्वास व्यक्त गर्नुभयो । ‘जेब्रा ट्राफिक लाइटले राम्रै हुने विश्वास लिएको छु’, उहाँले भन्नुभयो । नयाँ प्रविधियुक्त ट्राफिक बत्ती जडान गरिएको ठाउँमा पैदलयात्रुको अत्यधिक चाप रहन्छ । बिजुलीबजारदेखि माइतीघर जोड्ने सडकअन्तर्गत काठमाडौं जिल्ला अदालतका इजलास नै वारपारको भवनमा सञ्चालनमा छन् । जसकारण अदालतका कर्मचारी र सेवाग्राहीले पटक-पटक उक्त ठाउँमा सडक पार गर्नुपर्ने बाध्यता छ । सडक पार गर्ने क्रममा काठमाडौं जिल्ला अदालतका कर्मचारीहरू नै धेरैपटक दुर्घटनामा परेका छन् । काठमाडौं जिल्ला अदालतले उक्त समस्याको समाधानका लागि भन्दै केही समग अगाडि काठमाडौं महानगरपालिकालाई पत्रसमेत लेखेको थियो ।
पैदलयात्रुले बटन थिचेर बाटो काट्न मिल्ने ट्राफिक बत्ती अल्पकालीन समाधान भए पनि दीर्घकालीन समाधानका लागि उक्त क्षेत्रमा पुल वा अन्डरपास बनाउनुपर्ने सरोकारवालाहरू बताउँछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच