
काठमाडौं । त्रिभुवन आर्मी क्लबले पोखरामा जारी केपी ओली कप टी-२० प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ । कोशी प्रदेशलाई ३९ रनले हराउँदै आर्मीले सेमिफाइनलमा स्थान बनाएको हो । समूह चरणका दुवै खेलमा जितका साथ आर्मीले समूह ‘डी’ को विजेताका रूपमा सेमिफाइनल खेल्ने भएको हो ।
जितका लागि १८७ रनको विजयी लक्ष्य पछ्याएको कोशी १८.२ ओभरमा १४७ रनमा अल आउट भयो । कोशीका ओपनर सोनु अन्सारीले ३३ बलमा ६ चौका र दुई छक्कासहित ४४ रन बनाउनुभयो । समिर कार्कीले ३६ बलमा एक चौका र चार छक्कासहित ३४, कप्तान अंकित सुवेदी डक र मिनाश थापा १६ रनमा आउट हुनुभयो ।
सुजन थपलिया ११ बलमा पाँच चौकासहित २१, कमल खत्री आठ, श्रवण यादव पाँच र फिर्दोस अन्सारी एक रनमा आउट हुनुभयो । आर्मीका सोमपाल कामी र विवेक यादवले समान दुई विकेट लिनुभयो । जितेन्द्र मुखिया, बसिर अहमद, साहब आलम र रोहित पौडेलले एक-एक विकेट लिनुभयो ।
त्यसअघि पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको आर्मीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८६ रन बनाएको थियो । आर्मीको जितमा भीम सार्कीले २४ बलमा तीन चौका र पाँच छक्कासहित सर्वाधिक ५३ रनको योगदान दिनुभयो ।
आर्मीलाई युवा ओपनर सन्तोष कार्कीले ४१ बलमा पाँच चौका र दुई छक्कासहित ५० रन जोड्दै राम्रो सुरुवात दिलाउनुभएको थियो । अर्का ओपनर तथा कप्तान विनोद भण्डारी १६ बलमा एक चौका र दुई छक्कासहित १७ तथा रोहित पौडेल १५ बलमा तीन चौकासहित २३ रनमा आउट हुनुभयो ।
विवेक यादव एक, सन्दीप रजाली र कुशल मल्ल समान सात रनमा आउट हुनुभयो । साहब आलम आठ र सोमपाल कामी तीन रनमा नट आउट रहनुभयो । कोशी प्रदेशका श्रवण यादवले चार ओभरमा ३२ रन खर्चेर तीन विकेट लिनुभयो । कमल खत्रीले चार ओभरमा ३३ रन खर्चेर दुई विकेट लिनुभयो । प्रकाश कार्की र सोनु मण्डलले एक-एक विकेट लिनुभयो ।
सेमिफाइनल मंसिर १४ र फाइनल मंसिर १५ मा हुनेछ । पहिलो सेमिफाइनलमा बागमती र आर्मी भिड्नेछन् । दोस्रो सेमिफाइनलमा मधेश र एपिएफ खेल्नेछन् ।
यता सुदूरपश्चिम प्रदेशले अर्को खेलमा केपी ओली कप टी-२० प्रतियोगितामा नेपाल पुलिस क्लबलाई चार विकेटले हराएको छ । नेट रनरेटका कारण मधेश ‘सी’ बाट विजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।
जितका लागि १५९ रनको मध्यम विजयी लक्ष्य सुदूरपश्चिमले १८.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । सुदूरको जितमा किरण ठगुन्ना ३४ बलमा चार चौका र दुई छक्कासहित ५१ रनमा नट आउट रहनुभयो । नारायण जोशी सात बलमा दुई चौका र एक छक्कासहित १७ रनमा नट आउट रहनुभयो । नारायणले विजयी छक्का प्रहार गर्नुभएको थियो ।
एक समय ७.४ ओभरमा ४६-५ को दयनीय अवस्थामा पुगे पनि छैटौँ विकेटका लागि किरण र नरेनले ९३ रनको साझेदारी गर्दै जितको आधार तय गर्नुभएको थियो । नरेन साउद ३० बलमा पाँच चौका र एक छक्कासहित ३९ रनमा आउट हुनुभयो ।
ओपनर तथा कप्तान राजु रिजाल १६ बलमा चार चौकासहित १९, गजेन्द्र बोहरा डक, आयुब चन्द पाँच, वसन्त कार्की १५ र सुरज तिवारी शून्यमा आउट हुनुभयो । पुलिसका राशिद खानले चार ओभरमा २७ रन खर्चेर तीन विकेट लिनुभयो । सुनिल धमला र सागर ढकालले एक-एक विकेट लिनुभयो ।
त्यसअघि पोखरा क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको पुलिसले २० ओभरमा चार विकेट गुमाउँदै १५८ रन बनाएको थियो । पुलिसका ओपनर कुशल भुर्तेलले ५१ बलमा पाँच चौका र पाँच छक्कासहित सर्वाधिक ६७ रन बनाउनुभयो । अर्का ओपनर सुनिल धमला ४० बलमा दुई चौका र दुई छक्कासहित ४२ रनमा आउट हुनुभयो । अर्जुन साउद २०, आरिफ शेख दुई, दिलिप नाथ चार र करण केसीले सात रन बनाउनुभयो ।
सुदूरपश्चिमका विकास आग्रीले चार ओभरमा ३७ रन खर्चेर दुई विकेट लिनुभयो । भोजराज भट्ट र वसन्त कार्कीले एक-एक विकेट लिनुभयो । सुदूर पहिलो खेलमा मधेशसँग ५८ रनमा अल आउट हुँदै आठ विकेटले पराजित भएको थियो । उक्त लक्ष्य मधेशले चार दशमलब चार ओभरमा पूरा गरेको थियो । त्यसैका कारण नेट रनरेटमा माथि रहँदै मधेशले सेमिफाइनल खेलेको हो ।
समूह ‘सी’ मा मधेश, पुलिस र सुदूरको दुई खेलमा समान एकमा जित र हारका साथ दुई-दुई अंक रहृयो । मधेशको नेट रनरेट १.४७२, पुलिस १.०८४ र सुदूरपश्चिमको नेट रनरेट माइनस ३.२२९ रन रहृयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच