
कतार । इजरायल र हमासबीच थप दुई दिन युद्धविराम गर्ने सहमति भएको छ । इजरायल र हमासबीच थप दुई दिन युद्धविराम लम्ब्याउने सहमति भएको कतारको विदेश मन्त्रालयले जनाएको छ । इजरायल र हमासबीच मध्यस्थकर्ताको भूमिकामा कतार रहेको छ । यसअघि चारदिने युद्धविरामको अवधि सकिएपछि दुई दिन लम्ब्याइएको हो ।
कतारी विदेशमन्त्री डा. मजिद बिन मोहम्मद अल अन्सारीले सहमति भएसँगै इजरायलले थप ३३ जना र हमासले ११ जना बन्दी छाडेको बताउनुभएको छ । हमासले छाडेका ११ जनामा तीन फ्रान्सेली, दुई जर्मन र ६ अर्जेन्टिनी नागरिक छन् । अहिलेसम्म हमासले ६९ जना बन्धक छाडेको छ भने इजरायलले १५० जना प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ ।
इजरायलले हमासले रिहा गर्ने हरेक १० बन्धकका लागि एकदिन युद्धविराम लम्ब्याउने यसअघि नै बताइसकेको छ । अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा एक हजार दुई सयभन्दा बढी इजरायलीको मृत्यु भएको छ । इजरायली आक्रमणमा बालबालिकासहित १४ हजारभन्दा बढी प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ । गत शुक्रबारदेखि इजरायल र हमासबीच अस्थायी युद्धविराम भएको हो ।
इजरायल सरकारले अझै १८४ इजरायली नागरिक हमासको नियन्त्रणमा रहेको बताएको छ । अक्टोबर ७ मा हमासले इजरायली भूमिमा आक्रमण गरी विभिन्न देशका गरी करिब २५० जनालाई बन्धक बनाएको थियो । त्यसमध्ये नेपालका विपिन जोशी पनि छन् । बिपिन अझै हमासकै नियन्त्रणमा हुनुहुन्छ ।
नेपाल सरकारले बिपिन हमासकै नियन्त्रणमा रहेको बताउँदै आए पनि उहाँको अवस्थाबारे थप कुनै जानकारी आएको छैन । उहाँ अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि सम्पर्कविहीन हुनुभएको थियो । तर, केही दिनअघि गाजास्थित अल–सिफा अस्पतालको एउटा सिसिटिभी फुटेज सार्वजनिक गर्दै इजरायली सेनाले त्यसमा देखिएकामध्ये एकजना नेपाली नागरिक रहेको बताएको थियो । तर, थप विवरण सार्वजनिक भएको छैन । नेपाल सरकारले मध्यस्थकर्ताको भूमिकामा रहेको कतारसँग बिपिनलाई छुटाउन पहल गरिदिन आग्रह गरेको थियो । तर, बिपिनलाई छुटाउने विषयमा हालसम्म कुनै प्रगति हुन सकेको छैन ।
हमासले भन्यो- सबै बन्दी हामीसँग छैनन्
हमासले सबै बन्दीहरू आफूसँग नभएको दाबी गरेको छ । केही बन्दीहरू हमासजस्तै अरू समूहसँग रहेको हमासको उच्च स्रोतलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । कतारस्थित हमासको उच्च स्रोतका अनुसार केही बन्दीहरू प्यालेस्टिनियन इस्लामिक जिहादसहित अरू ससाना समूहसँग रहेको बिबिसीको दाबी छ । अरू समूहसँग रहेका बन्दीहरूमध्ये २० जनालाई भेटाउन सफल भएको हमासले जनाएको छ । एजेन्सी ,
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच