‘समाज र सरकारबाटै अपहेलित हुनुपरेको छ’

नन्दराम जैशी
Read Time = 5 mins

सुर्खेत । कर्णालीका अपांगता भएका व्यक्तिले आफुहरु समाज र सरकारबाटै अपहेलित हुनुपरेको गुनासो गरेका छन् ।

विहिबार वीरेन्द्रनगरमा सम्पन्न अपांगता भएका व्यक्तिहरुको ३२ औं अन्तराष्टिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । दिवसको अवसरमा दृष्टि सम्बन्धी अपांगता भएका व्यक्तिहरुको सवाल र संचारकर्मीको भुमिका बिषयक अन्तक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा सहभागी अधिकांश अपांगता भएका व्यक्तिहरुले आफुहरुप्रति समाज र सरकारले गर्ने व्यवहार तथा बोल्ने शब्द अपमानजनक रहेको भन्दै अपहेलित महसुश हुनेगरेको बताएका थिए । जस्तै जनप्रतिनिधिहरुले संसद बैठकमै अन्धो, बैरो, बौलाह सरकार भन्ने जस्ता शब्द प्रयोग गर्ने र समाजमा पनि मानिसहरुले त्यस्तै शब्द बोल्दा आफुहरुप्रति अपमान भएको उनीहरुको भनाइ छ ।

अपाङ्गताको समग्र सवाल नै मानव अधिकारमैत्री र समावेशी हुनुपर्ने भन्दै आमसंचार माध्ययमले समेत अपांगता भएका व्यक्तिहरुको आवाज उठाउन नसकेको उनीहरुको गुनासो छ ।

अपांगताभित्र पनि महिलाको अवस्था झनै दयनीय रहेको भन्दै घरैभित्रैबाट विभेद सुरुहुदै समाज र राज्यस्तरमा समेत त्यसको प्रभाव देखिएको राष्ट्रिय अपांग महासंघका केन्द्रिय सदस्य सुरेश कुमार खड्काले बताउनुभयाे । सरकारले अपांगता वर्ग निर्धारण र परिचयपत्र वितरणमा समेत प्रभावकारी रुपमा काम गर्न नसकेको उहाँको आरोप छ ।

कर्णाली प्रदेश अपांग महासंघका अध्यक्ष तोरण अधिकारीले अपांगता भएका व्यक्तिकोसाझा सवाललाई समग्र मानवअधिकार आन्दोलन र महिला अधिकार आन्दोलनको प्राथमिकतामा पारिनुपर्ने बताउनुभयाे । उहाँका अनुसार अरुसरह सम्मानित जीवन व्यतित गर्न अपाङ्गतामैत्री भौतिक वातावरण, समावेशी शिक्षा, सांकेतिक भाषामा सूचना र सञ्चार सेवा आवश्यक छ । यस्तै ब्रेल तथा अडियो सामग्री, बौद्धिक अपाङ्गता, अटिजम, मनोसामाजिक अपाङ्गता, सेरेबल पल्सी अपाङ्गताका लागि सहयोगी सेवा, स्पाइनल कर्ड इन्जुरी अत्यावश्यक स्वास्थ्य सामग्री, हेमोफेलिया अपाङ्गताका लागि फ्याक्टर तथा दैनिक औषधि तथा आवश्यक सहायक सामग्रीको महत्व र उपलब्धताबारे सबैमा सचेतना जगाउन पनि जरुरी छ ।

साथै कर्णालीमा लैंगिक विभेद र पितृसत्तात्मक सोचका कारणसमाजमा अपांगता भएका महिलाहरु घरेलु हिंसा र अपहेलनामा परेको पाइन्छ । त्यस्ता महिलामाथि शारीरिक कमजोरीकै कारण विभिन्न खालका लान्छना लगाइन्छन् । भने अवसरबाट विमुख हुनुपरेको पीडितहरु बताउँछन् ।

त्यति मात्र नभई बौद्धिक, बहुअपांगता, मनोसामाजिक लगायतका अपाङ्गता भएर अरुको सहायतामा बाँचिरहेका महिला हिंसा र विभेद भएको भन्न समेत सक्ने अवस्थामा छैनन् । कतिपय त बलत्कारीको शिकार पनि हुनुपरेको छ । तर अपाङ्गतामैत्री न्यायिक संरचना र सेवा नहुँदा न्याय पाउन त सकिरहेका छैनन् नै उल्टै परिवार र समाजबाट तिरस्कृत हुनुपर्ने अवस्था छ ।

अपाङ्गता भएका महिलाका सवालमा अगुवा र सरकारको चासो नभएको देख्दा कानून एकातिर व्यवहार अर्कोतिर भएको स्पष्ट हुन्छ। अपांगता भएका महिला विरुद्ध हुने सबै प्रकारका विभेद, हिंसा र अन्याय विरुद्ध आफू पनि बोल्न सक्ने र घरैभित्रबाट अधिकार प्राप्त गर्न सक्ने बनाउने खालका अभियानलाई सबैको साथ आवश्यक देखिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?