काठमाडौं । नेपालको स्वास्थ्य प्रणालीको गुणस्तर, पहुँच र उत्थानशीलता सुदृढीकरण गर्न विश्व बैंकले अन्तर्राष्ट्रिय विकास संस्था(आइडिए)बाट १० करोड अमेरिकी डलर अर्थात् १३ अर्ब रुपैयाँबराबरको सहुलियतपूर्ण ऋण दिने भएको छ ।
त्यस्तै स्वास्थ्य आपत्कालीन पूर्वतयारी तथा प्रतिकार्य कोष (एचइपिआरटिएफ)बाट ३८ लाख ४० हजार अमेरिकी डलर बराबरको अनुदान सहयोग उपलब्ध गराउने गरी दुवै पक्षबीच विद्युतीय हस्ताक्षरसहितको सम्झौतापत्र आदानप्रदान गरिएको छ । नेपालमा विश्व बैंकद्वारा वित्तीय लगानी गरिएको यो पहिलो विद्युतीय हस्ताक्षरित आयोजना हो । नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सञ्चालन सम्झौतामा अर्थसचिव कृष्णहरि पुष्कर र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद-जेर्भोसले हस्ताक्षर गर्नुभएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त कार्यक्रम संघीय तहको स्वास्थ्य बिमा बोर्ड र कोशी र गण्डकी प्रदेशका छनोट गरिएका प्रदेश तथा स्थानीय तहसँगको समन्वयमा कार्यान्वयन गर्नेछ । कार्यक्रमले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न स्वास्थ्य प्रणालीको तत्परतामा सुधार, स्वास्थ्य बिमाको पहुँच अभिवृद्धि र छनोट गरिएका प्रदेश तथा स्थानीय तहमा स्वास्थ्य आपत्कालीन पूर्वतयारी एवं प्रतिकार्य क्षमता सुदृढीकरण गर्ने कार्यमा जोड दिने विश्व बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । नेपालमा संकटापन्न जनतालाई संरक्षण गर्ने र उन्नत उत्पादकत्व र दिगो आर्थिक वृद्धिको मेरुदण्डका रूपमा रहेको मानव पुँजी सुदृढीकरणका लागि योगदान गर्ने उत्थानशील र समावेशी जनस्वास्थ्य प्रणाली निर्माण गर्न नेपाल सरकारसँग मिलेर काम गर्न विश्व बैंक प्रतिबद्ध रहेको बैंकका राष्ट्रिय निर्देशक जेर्भोसले बताउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच